विकासका काममा सत्तापक्ष–प्रतिपक्ष नभनौं : मन्त्री बिना मगर

bina magar
लाेकपाटी न्यूज

कञ्चनपुर । खानेपानी मन्त्री बिना मगरले आर्थिक समृद्धिका लागि युवाहरूलाई अगाडि बढाउनुपर्ने बताएकी छिन् ।

कञ्चनपुरको बेलौरीस्थित प्रथम मेयर कप खुला फुटबल प्रतियोगिताको समापन गर्दै मन्त्री मगरले युवाहरूलाई खेलकूद संगसंगै आर्थिक समृद्धिको यात्रामा समेत अगाडि बढाउनुपर्ने बताउनु बताएकी हुन् । कार्यक्रममा सम्बोधन गर्दै उनले भनिन्, ‘हामी समृद्ध नेपाल सुखी नेपालीको अभियानमा अगाडि बढिरहेका छौं । विकासको रफ्तारमा छौं । त्यसका लागि युवाहरुलाई अघि बढाउन जरुरी छ ।’

उनले विकासमा प्रतिस्पर्धा गर्न प्रतिपक्षी लगायत सबै दललाई आह्वान गरिन् । उनले भनिन्, ‘विकासमा सत्तापक्ष, प्रतिपक्ष नभनौं, मिलेर अघि बढौं ।’ मन्त्री मगरले कञ्चनपुरको बेलौरीलाई भन्सार नाकाका रूपमा सञ्चालन गर्न पहल भइरहेको जानकारीसमेत दिइन् ।

प्रथम मेयर कप फूटबल प्रतियोगिताको फाइनल खेलमा महाकाली एड्भेन्चर युथ क्लबले कैलालीको टिमलाई पराजित गरेको छ । एड्भेन्चर युथ क्लबले कैलालीको टिमलाई ३–१ ले जितेको हो । बिजेता टिमका खेलाडीहरुलाई मन्त्री मगरले ट्रफी र नगदसहित पुरस्कृत गरेकी थिइन् ।