अनुसन्धानमा गल्ती देखिए बर्दी खाेल्छु : आइजीपी खनाल

IGP-sarbendra-khanal
लाेकपाटी न्यूज

काठमाडौं, २४ मंसिर । प्रहरी महानिरीक्षक (आइजीपी) सर्वेन्द्र खनालले निर्मला पन्तको हत्या अनुसन्धानमा गल्ती भेटिए आफू बर्दी खोल्न तयार रहेको बताएका छन् । संघीय संसदको दिगो विकास तथा सुशासन समितिमा सोमबार सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै अइजीपी खनालले यस्तो बताएका हुन् ।

आइजीपी खनालले कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार र हत्याका विषयमा आफूले कुनै कमी कमजोरी नगरेको प्रष्ट पार्दै यदि आफूबाट गल्ती भेटिए बर्दी खोल्न तयार रहेको बताए । समितिमा सांसदले हत्यारालाई पक्राउ गर्न नसके राजीनामा दिनुस्, सक्षम आइजीपी आउँछ भन्दै आक्रोश पोखेपछि आइजीपी खनालले प्रतिवाद गरेका हुन् ।

‘निर्मला हत्याकाण्डपछि निन्द्रा लाग्न छोडेको छ, एक रौं पनि गलत काम गरेको छैन । सिसिटिभी लगायतका प्रविधिको अभावमा छानविनमा समस्या आएपनि अहिलेसम्म कुनै दबाबमा काम गरेको छैन,’ उनले भने, ‘निर्दोष व्यक्तिलाई फसाउने काम हुँदैन । नचाहिने काम गरेको पाइए संसदीय समितिमा ल्याएर बर्दी खोलिदिनुस ।’ 

उनले अनुसन्धान प्रभावित हुने गरी आफूले भूमिका निर्वाह नगरेको पनि प्रष्ट पारे । हालसम्म पनि अपराधी पत्ता लाग्न नसकेपछि प्रहरीको सर्वत्र आलोचना भइरहेको छ ।