‘सिटौलाजी सिक्लेसमा मारिन पनि सक्नुहुन्थ्यो’ : प्रचण्ड (भिडियो)

prachanda-10
लाेकपाटी न्यूज

कास्की, २४ मङ्सिर । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेसका तात्कालीन सभापति गीरिजाप्रसाद कोइराला र नेता कृष्णप्रसाद सिटौलाले शान्ति प्रक्रियाका लागि जोखिम मोलेको बताएका छन् ।

सोमबार कास्कीको सिक्लेसका निर्माण गरिएको शान्ति स्तुपाको उद्घाटन गर्दै प्रचण्डले भने, ‘हामी युद्धमा थियौं, जताततै आतङ्क थियो । देशमा द्धन्द्धको फाइदा उठाएर आफ्नो स्वार्थ पूर्ति गर्न प्रयास भएको थियो । द्धन्द्धलाई लम्बाएर देशमा निरङ्कुश लाद्ने प्रपञ्च थियो । त्यसलाई तोड्न शान्ति प्रक्रिया जरुरी थियो । म युद्धको कमाण्डर थिएँ, अब शान्तिमा गएर देशलाई रुपान्तरण गर्नुपर्छ भन्ने मेरो मत थियो । मैले त्यसैका लागि एकतर्फी युद्धविरामको घोषणा गरेको थिएँ ।’

‘कृष्णप्रसाद सिटौला गृहमन्त्री हुनुहुन्थ्यो, उहाँ हेलिकोप्टर लिएर सिक्लेस आउनुभयो’ प्रचण्डले भने, ‘शान्ति प्रक्रियाबारे कुरा हुँदै थियो । तर, सिटौलाजी जोखिम मोलेर सिक्लेस आउनुभो । उहाँले पुलिस, सेना केही नलिई आउनुभएको थियो । साथमा शेखर कोइराला मात्रै हुनुहुन्थ्यो । गृहमन्त्री मान्छे, जनमुक्ति सेनाको घेरामा आउँदा थोरै गडबढ भएको भए उहाँ मारिन पनि सक्नुहुन्थ्यो । तर, राष्ट्रय र जनताका लागि उहाँले त्यो आँट देखाउनुभयो, उहाँको आँटमा गीरिजाबाबूको बलियो साथ थियो ।’

प्रचण्डले थपे, ‘त्यतिबेलाको निरङ्कुश शासक राष्ट्रसंघमा गएर नेपालको जनयुद्धलाई आतंककारी गतिविधिका रुपमा स्थापित गर्न चाहन्थ्यो, युद्धलाई लम्बाएर फाइदा लिन चाहन्थ्यो । तर, हामी त्यसलाई रोक्न चाहन्थ्यो । तात्कालीन नेपाली कांग्रेसका सभापति गीरिजाप्रसाद कोइरालाको पनि साथ र संकल्प नभएको भए यो पूरा हुन सम्भव थिएन ।’

प्रचण्डले थपे, ‘गीरिजाबाबू असी वर्षको बुढो हुनुहुन्थ्यो । तर, उहाँमा टावरिङ पर्सनालिटी थियो । उहाँलाई संसारले चिनेको थियो । त्यसले पनि तात्कालीन सात दल र माओवादीबीच वार्ताका लागि अनुकूल वातावरण बन्यो, यो सामान्य कुरा थिएन । गीरिजाबाबूसँग मेरो २ पटक भेट भएको थियो । हामी माओवादी शान्ति र लोकतन्त्रमा आउन तयार भयौं, उहाँ गणतन्त्रमा आउन तयार हुनुभयो, अनि बल्ल शान्ति प्रक्रिया अघि बढेको हो ।’

कार्यक्रममा प्रचण्डले भने, आफ्नै विवेकमा शान्ति स्तुपा स्थापना गर्नुभयो, त्यसका लागि धन्यवाद भन्दछु । सिक्लेस शान्ति प्रक्रियाका लागि ऐतिहासिक ठाउँ हो । शान्ति प्रक्रियाका दृष्टिले सिक्लेस ऐतिहासिक छ । हामीले विश्वकै उदाहरणीय शान्ति प्रक्रिया नेपालमा सम्पन्न गरेका छौं । यी सबै मौलिक र ऐतिहासिक छन् । नेपालको शान्ति प्रक्रियालाई विश्वले नै अध्ययन गर्न थालेको छ ।’

प्रचण्डले भने, ‘हृदय खोलेर स्वागत गर्नुभयो, यो भावपूर्ण छ, कहिल्यै बिर्सन सक्दिनँ । तपाईहरुको योगदानले नै शान्ति प्रक्रिया पूरा भएको छ । यो हामी सबैका लागि ऐतिहासिक अवसर हो । तर, सिक्लेसको बाटो कच्ची रहेछ, यसलाई कालोपत्रे गर्न मेरो तर्फबाट पूरै सहयोग हुन्छ । यहाँ केबुलकार निर्माण गर्ने कुरा भएको छ, त्यसमा मेरो पहल रहन्छ ।’

विभिन्न रुपमा अथ्र्याउन सकिने त्यो मूर्तिका डिजाइनर कलाङले सिक्लेसमा जनयुद्धपछिको शान्ति वार्ता झल्कने मूर्ति कुँदेका छन्। तत्कालीन माओवादी र सरकारपक्षबीच शान्ति सम्झौता भएको १२ वर्ष भएको अवसरमा उक्त मूर्तिको आज अनावरण भएको हो ।

https://www.facebook.com/prachanda.nepal/videos/1027042064169794/