राप्रपा अब पहिलो पार्टी हुन्छ : कमल थापा

kamal thapa
लाेकपाटी न्यूज

हेटौँडा, २५ मङ्सिर । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले आगामी निर्वाचनबाट राप्रपा बलियो वैकल्पिक राजनीतिक शक्तिका रुपमा उदाउने दाबी गरेका छन् ।

पार्टीको तीन नम्वर कमिटीद्वारा सोमबार हेटौँडामा आयोजित प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले संवैधानिक राजतन्त्र, हिन्दू राष्ट्र पुनस्र्थापनालगायतका एजेण्डा बोकेर आन्दोलनमा उत्रिने बताए ।

फरक प्रसङ्गमा उनले कुनै एक धर्मलाई महत्व दिएर धार्मिक द्वन्द्व निम्त्याउने क्रियाकलाप गर्न नहुने बताउँदै वर्तमान सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको आरोप पनि लगाए ।

प्रशिक्षण कार्यक्रमलाई राप्रपाका केन्द्रीय नेताहरु भुवन पाठक, तोरणबहादुर गुरुङ, रोशन कार्की, राजाराम बर्तौलालगायतले सम्बोधन गरेका थिए ।

२०७४ को सङ्घीय निर्वाचनमा राप्रपाका राजेन्द्र लिङ्देल मात्र प्रतिनिधि सभा सदस्य छन् । प्रतिनिधि सभामा समानुपातिक सांसद पाउनका लागि ३ प्रतिशत थ्रेसहोल्डको संवैधानिक व्यवस्था छ ।

तर, अध्यक्ष थापाले अर्को निर्वाचनमा राप्रपा पहिलो हुने दावी गरेका हुन् । कार्यक्रममा उनले राप्रपा पहिलो हुने आधार भने प्रस्तुत गर्न सकेनन् ।