अर्को वर्ष वृद्धभत्ता बढाउँछौं : प्रचण्ड

Prachanda
लाेकपाटी न्यूज

कास्की, २५ मंसिर । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनअपेक्षाअनुसार काम गर्न किन रोकियो भनेर स्थायी समितिको बैठकमा छलफल हुने बताएका छन् ।

मंगलबार कास्कीको सिक्लेसमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले भने, ‘जनअपेक्षा अनुसार काम गर्न के कारणले रोकियो भनेर स्थायी कमिटीको बैठकमा छलफल हुनेछ । त्यहाँबाट कारण फुकाएर फेरी जनअपेक्षा अनुरुप काम अगाडी बढ्नेछौं ।’ उनले सरकारले प्राविधिक रुपमा केही काम गर्नुपरेकाले जनस्तरका काम गर्न ढिलाइ भएको भन्दै अब विकासले गतिलिने दावी गरे ।

उनले आगामी आर्थिक वर्षको बजेटमा वृद्धभत्ता बढाउने तयारी भइरहेको बताए । उनले यसवर्षको पनि क्षतिपूर्ति दिनेगरी वृद्धभत्ता बढाउने सहमति भइसकेको बताए । पूर्वप्रधानमन्त्री प्रचण्डले वृद्धभत्ता बढाउने विषयमा नेकपाको सचिवालयमा सहमति भइसकेको जानकारी दिए । उनले भने, ‘यो वर्ष नबढेको क्षतिपूर्ति सहित बृद्धभत्ता बढाउने नेकपाको सचिवालयमा सहमति भएको छ । घोषणपत्रमा गरिएको संकल्पअनुसार काम हुन्छ ।’

अध्यक्ष प्रचण्डले स्थायी कमिटीले सबै एकतालाई टुंगो लगाई जनतामा जाने तयारी भएको पनि उल्लेख गरे । उनले पार्टी एकता एकैछिनमा हुने कुरा नभई बहस आवश्यक भएकाले केही समय लागेको पनि जानकारी दिए ।

‘हामीले सकेसम्म कमिटी बनाइसकेपछि धेरै ठुलो विवाद नहोस् भन्नका लागि कार्यदल बनाउने, उनीहरुलाई पर्याप्त छलफलका लागि समय दिने, तलपनि छलफल गर्ने हुदा बढि समय लागेको हो,’ उनले भने, ‘अब अस्तिबाट ढोका खुलेको छ र अब टुंगिने तिर गएको छ । प्रदेश कमिटी टुंग्याइसकेका छौं । २९ गते स्थायी कमिटी राखेका छौं र जिल्लाका पदाधिकारी र जिल्ला कमिटीलाई पनि टुंग्याउने र जनसंगठनलाई पनि टुंग्याउने र त्यो कार्यक्रमलाई लिएर जनता माझ जाने छौं ।’