चिनियाँ टोलीले बुझाएको केरुङ-काठमाडौं रेलमार्गको अध्ययन प्रतिवेदनमा के छ ?

Train
लाेकपाटी न्यूज

काठमाडौं, २५ मंसिर । चीनको नेशनल रेल्वे अथोरिटीले केरुङ-काठमाडौं रेलमार्गको प्रारम्भिक अध्ययन प्रतिवेदन नेपाल सरकारलाई बुझाएको छ ।

रेलमार्ग निर्माण सम्बन्धमा चिनियाँ प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन सोमबार सरकारलाई बुझाएको हो । प्रतिवेदन प्राप्त भएपछि कुन ढाँचामा कसरी रेलमार्ग निर्माण गर्ने भन्ने विषयमा थप गृहकार्य गर्न मार्ग प्रशस्त भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव मधुसूदन अधिकारीलाई चिनियाँ नेशनल रेल्वे अथोरिटीका उपप्रशासक आन लुसङले सोमबार रेलमार्ग निर्माणसम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन बुझाए ।

रेल विभागका प्रवक्ता अमन चित्रकारले चिनियाँ पक्षले अध्ययन प्रतिवेदन बुझाएको प्रष्ट पार्दै आगामी दिनमा के कसरी रेलमार्ग अगाडि बढाउने भन्ने विषयमा छलफल हुने बताए ।

नेपाल–चीन रेल्वे को–अपरेशन समितिको सोमबारदेखि बैठक शुरु भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले आधिकारिक प्रतिवेदन प्राप्त भएको र त्यसलाई थप प्रक्रियामा लैजान समेत मार्गप्रशस्त भएको बताए ।

सो समितिको बैठकका नेपालकातर्फबाट भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिव अधिकारीको नेतृत्वमा मन्त्रालयका सहसचिवहरु, विभागका महानिर्देशक बलराम मिश्र र अन्य प्राविधिक कर्मचारीको सहभागिता थियो ।

बैठकमा प्रारम्भिक अध्ययन प्रतिवेदनमा आधारित भएर विस्तृत परियोजना प्रतिवेदन तयार पार्ने र शीघ्र लगानीको मार्गदिशा तय गरी रेलमार्ग निर्माण गर्ने विषयमा छलफल भएको थियो ।

चिनियाँ प्राविधिकसहितको टोलीले रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्ने समेत कार्यक्रम तय गरेको छ । चिनियाँ प्राविधिक टोली मङ्गलबार रसुवाको स्थलगत भ्रमणमा जानेछ भने बुधबार काठमाडौँ–पोखरा रेलमार्गको विषयमा स्थलगत अध्ययन गर्न पोखरा जाने तयारी गरेको छ ।

केरुङ–काठमाडौँ रेलमार्गको दूरी करिब ८० किलोमिटर हुने देखिएको छ । रेलमार्गको निर्माण अवधि आठ वर्षको हुने र करिब रु. तीन खर्बभन्दा बढी लगानी लाग्ने अनुमान गरिएको छ । प्रतिवेदन प्राप्तीसँगै लगानी र निर्माण ढाँचालगायतका विषयमा छलफलका लागि मार्गप्रशस्त भएको जानकारी दिँदै प्रवक्ता चित्रकारले भने, ‘प्रक्रियामा प्रवेश गरेको छ, कुन प्रक्रिया र ढाँचामा अगाडि जाने भन्ने विषय पनि निकट भविष्यमा निर्क्यौल हुन्छ ।’