बडिगाडमा र्‍याफ्टिङको तयारी

Rafting
फाइल फोटो
लाेकपाटी न्यूज

गुल्मी, २५ मंसिर । जिल्लाको सत्यवती गाउँपालिकामा अवस्थित बडिगाड (रूद्रावती) खोलामा र्‍याफ्टिङको सफल परीक्षण गरिएको छ ।

चितवनको फिस्लिङबाट मगाइएको मानध्वज गुरुङ नेतृत्वको पाँच सदस्यीय गाइड टोलीले प्रारम्भिक निरीक्षण गरेपछि सत्यवती-५ को साहा घाटदेखि सत्यवती–१ को रुद्रवेणीसम्म करिब पाँच किलोमिटर भन्दा बढी दुरीमा र्‍याफ्टिङ गरी व्यावहारिक परीक्षण सम्पन्न गरिएको छ ।

गाउँपालिकाका अध्यक्ष परिसर ढकालले डुङ्गामा चढेर र्‍याफ्टिङको उद्घाटन गरेका थिए । त्यसपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव भण्डारीको नेतृत्वमा कर्मचारी टोलीले गाइडको साथमा उक्त दुरी तय गरेको थियो । साथै पथप्रदर्शनको लागि दुईवटा कायाकिङको समेत व्यवस्था गरिएको थियो ।

कृषि, पशुपालन र पर्यटनलाई प्राथमिकता दिई अगाडि बढिरहेको गाउँपालिकालाई चिनाउने र आर्थिक उपार्जनको आधारको रूपमा र्‍याफ्टिङ व्यवसायलाई सञ्चालन गर्ने सोच रहेको गाउँपालिका प्रमुख ढकालले बताए । परीक्षण पश्चात फिस्लिङबाट आएको उक्त गाइड टोलीले बडिगाड खोला निकै सम्भावनायुक्त रहेकोले प्रचारप्रसार गरी बाह्य पर्यटकलाई समेत आकर्षित गर्न सकिने बताएको थियो ।

नदीको बीचका केही ढुङगा हटाउन सकेको खण्डमा जोखिमलाई कम गर्न सकिने सुझाव टोलीको रहेको थियो ।