संगठन र नागरिकको हितमा काम गर्छु : डिएसपी मल्ल

Dan bahadur Malla
लाेकपाटी न्यूज

नेपाल प्रहरीमा स्वच्छ छवि भएका निडर र हक्की प्रहरी मध्येका एकमा पर्दछन्, महानगरीय प्रहरी बृत्त दरबार मार्गका प्रमुख डिएसपी दान बहादुर मल्ल । २०५५ सालमा असई पदबाट नेपाल प्रहरीमा प्रवेश गरेका मल्ल ३ पटक मिसनमा समेत गइसकेका छन् । पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालका पिएसओ समेत रहेर कूशलतापूर्वक काम गरेका डिएसपी मल्ल द्वन्द्व कालमा धेरै समय द्वन्द्वग्रस्त क्षेत्रमा काम गर्ने निडर प्रहरीमा गनिन्छन् ।

चोरी, लूटपाट, कुटपिट, गुण्डागर्दी, बेश्यावृत्ति, ओभर विलिङ, ठगी तथा संगठित अपराधका लागि सेल्टर बनेको दरबार मार्ग ९ महिनायता शान्त बन्नुमा मल्लको कमाण्डिङ रहेको देखिन्छ । अपराधले ग्रस्त दरबारमार्गलाई चोख्याउन नेपाल प्रहरीले डिएसपी मल्ललाई विशेष योजनाअनुसार नै ल्याएको थियो । जुन योजना ९ महिनाभित्र केही हदसम्म सफल पनि भयो । दरबारमार्गको शान्ति सुरक्षाको अवस्था, नागरिकसँगको सहकार्य र उनको ९ महिने कार्यकालको समीक्षाबारे उनीसँगको अन्तर्वार्ता ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गको कमाण्ड सम्हालेको ९ महिना भयो, कत्तिको सफल हुनुभयो ?

म गत फागुनमा यहाँ आएको हुँ । यहाँ आउनुभन्दा अगाडि यहाँको अवस्था कस्तो थियो केलाउन आवश्यक ठान्छु । यहाँका रात्रिकालिन ब्यवसायीहरुले विदेशी ग्राहकलाई लुट्ने मात्र हैन, दिउसै नेपालीलाई पनि ओभर विलिङ गरेर लुट्ने गर्दथे । दरबारमार्ग भनेको सर्वसाधारणलाई लूट्ने थलो हो, यहाँ अपराधी मात्र बस्छन् भन्ने गलत सन्देश आम जनमानसमा ब्याप्त थियो । कतिपय ब्यवसायीले त खुलेआम प्रहरीलाई मासिक नजराना दिएर नै ब्यवसाय चलाएकोसम्म भन्ने गरेको कुरा थियो । मिडियाले पनि हरेक दिन यस्तै प्रकृतिका घटना सार्वजनिक गर्दथे ।

मलाई यहाँ पठाउने कुरा भएपछि यहाँ दैनिक हुने अपराधका श्रृङ्खलाहरु अध्ययन गरें । यहाँका ब्यवसायी, स्थानीय सरोकारवालाहरुसँग यी कुराको अध्ययन गरें । र, मेरो एरियामा कि अपराध हुनुहुँदैन, कि प्रहरी नै हुनुहुँदैन भन्दै मानसिक रुपमा आफूलाई तयार गरेर नै काम सुरु गरें । सुरुका दिनमा काम गर्न च्यालेञ्ज भयो । राजनीतिक, सामाजिकदेखि आपराधिक पृष्ठभूमिबाट समेत दवाव आयो । तर, मैले यो क्षेत्र अन्तर्राष्ट्रिय पर्यटकीय क्षेत्र समेत भएकाले यसलाई अपराध मुक्त बनाउँछु भनेर अठोट लिएको थिएँ । सोहीअनुरुप काम गर्दै गएँ ।

अहिले दुई महिना यता हामीकहाँ एउटा पनि चोरीका घटना आएका छैनन् । मान्छे लुटिए, गुण्डागर्दी भयो भन्ने घटना दर्ता गर्नु परेको छैन । यो हिसाबले हेर्दा म केही हदसम्म सफल भएको ठान्दछु । तथापि, यो जनताले मूल्याङ्कन गर्ने कुुरा हो ।

भनेपछि तपाई आउनुभन्दा अघि यहाँ मान्छे बस्ने रामराज्य थिएन ?

त्यत्ति साह्रो भयावह पनि थिएन । गुण्डागर्दी कस्तो हिसाबले चलाउथे भने, दादागिरी गर्ने, कालो धनको लगानी गर्ने अनि दिउसै सर्वसाधारणहरु ल्याएर ओभर विलिङ गरेर लुट्ने काम हुँदो रहेछ । त्यसलाई पूरै नियन्त्रण गरें । अहिले यहाँका कुनै पनि रात्रिकालीन ब्यवसायहरु गुण्डाद्वारा सञ्चालित छैनन् ।

कालो धनले लगानी गर्नेहरु चाहिँ खुलेआम छन्, होइन ?

यो विषय हाम्रो कार्यक्षेत्रभन्दा बाहिरको कुरा हो । कालोधनको लगानी त देशभर नै होला । यसको नियमन र कार्वाही गर्ने भनेको सरकारले हो ।

सफल भएँभन्दा तपाईकै कार्यालयबाट सुन हराएका, घुमुवा प्रहरीले ब्यवसायीबाट नजराना लिएका कुरा आए, ९ महिना पूरै सफल भयो भनेर कसरी भन्न सक्नुहुन्छ ?

हुन त मेरो अझै पनि काम गर्ने समय छ, तथापि, ९ महिना मैले जे जति काम गरें, त्यसले सन्तुष्ट छु । प्रहरीभित्रका सूचना बाहिर पुर्याउने तर, बाहिरका सूचना चाहिँ एउटै नल्याउने प्रवृत्ति यहाँ थियो । अपराधीलाई भित्र प्रहरीले केके गर्दैछ सबै थाहा हुने तर, प्रहरीलाई अपराधीले बाहिर केके गर्दैछ, केही थाहा नहुुने परिपाटीलाई परिवर्तन गर्न आउनेबित्तिकै त्यस्ता प्रवृत्ति भएकालाई परिवर्तन नै गरें । त्यस्ता प्रवृत्ति भएका जरा गाडेर बसेका प्रहरी जसले प्रहरीलाई नै शोषण गरिरहेका थिए । तिनीहरुलाई २ महिनाभित्र चेञ्ज गरें ।

Dan bahadur malla

दरबारमार्ग, ठमेल भनेको नेपालको राजधानी मात्र होइन, यो विश्वको राजधानी हो । यहाँ विश्वका मान्छे आउने भएकाले त्यहि लेवलको वातावरण हुनुपर्छ भनेर लागें । ५ महिना यता नयाँ प्रहरी ल्याएपछि धेरै सुधार भएको छ ।

तर, तपाईलाई आफ्नो इन्ट्रेष्टका मान्छे ल्याउन त्यसो गर्नुभो भन्ने आरोप पो लाग्यो नि ?

बाहिर हल्ला गर्नेले के भन्छन् मलाई मतलव भएन, मैले रिजल्ट ओरिएण्टेड भएर काम गर्ने हो । जनताले कसरी शान्ति सुरक्षा पाउँछन् भनेर काम गरेको हो । हाम्रो मान्छे होइन कि राम्रो मान्छे ल्याइएको हो ।

दरबार मार्गको शान्ति सुरक्षाको कुरा गर्दा यहाँ हुने अपराधलाई कसरी वर्गीकरण गर्नुभएको छ ?

दरबारमार्ग भनेको अलिकति सेन्सेटिभ क्षेत्र हो । यहाँ नेशनल इन्टरनेशनल फिगरहरु आउने भएकाले यहाँको शान्ति सुरक्षा अरु ठाउँको जस्तो तडकभडक गरेर गर्न सकिन्नँ । साइलेन्ट हिसाबले गर्नुपर्दछ । यो क्षेत्रमा राष्ट्रियदेखि अन्तर्राष्ट्रिय तहका अपराधीसमेत आउने अवस्था छ । योसँगै बेश्यावृत्ति, ठगी, पर्यटक लूटपाट, चोरी डकैती, लागूपदार्थ दुब्र्यसन जस्ता केसहरु बढी हुने सम्भावना भएकाले हामीले अपराधका प्रकृति केलाएर सोहीअनुसार ‘हाइअलर्ट’मा काम गरिरहेका छौं । म आएको तीन महिनासम्म पूरै युनिट एक्टिभ्ली काम गरेका थियौं ।

तर, पछिल्ला दिनहरु त तपाई पूरै शान्त हुनुहुन्छ नि, दरबारमार्ग अब पूरै सुध्रिएको हो त ?

दरबारमार्ग प्रहरी चुप लागेर बसेको छैन । अहिलेको प्रहरी पहिलाको जस्तो प्रहरी होइन, समयअनुसार काम गर्ने कार्यशैलीमा परिवर्तन आएको छ । अब हामीले साइकोलोजिकल्ली काम गर्नुपर्दछ । राम्रो मान्छेलाई राम्रो ब्यवहार र अपराधीलाई त्यस्तै अनुसार कठोर पनि हुनुपर्दछ भनेर केही ‘स्लो’ देखिएको मात्र हो । तपाईले भनेजस्तो सुतेर बसेको पक्कै छैन ।

हामीले नागरिक प्रहरी साझेदारी भन्ने नयाँ अभियान सुरु गरेका छौं । यसले शान्ति सुरक्षा कायम गर्ने सवालमा प्रहरीको जस्तै नागरिकको पनि कर्तब्य हुन्छ भन्ने बुझाउँछ । अहिले नागरिक पनि शान्ति सुरक्षाका सवालमा सचेत भएका छन् । प्रहरीसँग सहकार्य गर्न तदारुकता देखाउनुभएको छ ।

यी सबै उपलब्धिका पछाडि हाम्रो टीक वर्कले काम गरेको छ । अहिले हाम्रो युनिटमा अफिसरदेखि जवानसम्म सबैको एउटै संकल्प छ, हामी सबैको एउटै उद्देश्य छ, शान्ति सूरक्षा कायम गर्ने, राज्यको कानून पालना गराउने। यस कार्यमा टीमको बधाई असाध्यै राम्रो साथ र सहयोग रहेको छ । म तपाईको अनलाइनमार्फत् सबै अफिसर र सकल दर्जामा हार्दिक धन्यवाद दिन चाहन्छु।

पहिले पनि मुस्कानसहितको प्रहरी सेवा, प्रहरी मेरो साथी, समुदायमा प्रहरी भन्ने कार्यक्रम ल्याइयो, खै कुनै सफल भएनन्, प्रहरीसँग जनता किन डराउँछन् ?

विगतमा ल्याएका कार्यक्रम सफल हुन नसक्नुमा प्रहरी आफ्नो तरिकाले अगाडि बढ्यो, जनता आफ्नो तरिकाले । प्रहरी नागरिकको उद्देश्य एउटै हो भने हामी किन मिलेर नजाने ? भन्ने कुरा प्रष्ट नहुँदा कार्यक्रम प्रभावकारी नभएको होला ।  अहिले संस्थागत रुपमा नै स्थानीय सरकार र स्थानीय जनतासँग मिलेर ‘बेसिक लेवल’बाटै काम गरेपछि सफल हुने क्रममा छ ।

हामीले दरबारमार्ग, ठमेल, लाजिम्पाट एरियामा यहि अभियान अन्तर्गत काम गर्दा तीन महिना यता एउटा पनि चोरीको घटना दर्ता भएको छैन । यो सुरुवात मात्र हो, अबको ६ महिनापछि यसको प्रभावकारीता देखिन्छ । अब प्रहरीसँग जनता होइन, चोर फटाहा र गैरकानूनी काम गर्ने डराउँछन् ।

ठमेल दरबारमार्ग एरियाका रात्रीकालीन ब्यवसायीले ग्राहकलाई ओभर विलिङ गर्ने कामलाई प्रहरीले नै संरक्षण गरेको छ रे ?

म आउनुभन्दा अगाडि त्यस्तो भएको भनेर धेरै गुनासा थिए । केही गलत नियत भएका प्रहरीले पनि त्यस्तो गरेका रहेछन् । हामी हरेकका टेवुल टेवुलमा जान चाहिँ सक्दैनौं । म आएपछि प्रहरीको युनिट नै चेञ्ज गरेपछि ओभर विलिङ गर्ने काम पूरै बन्द भएको छ । हामीले ब्यवसायीलाई अनुरोध गरेका छौं, ‘मेनु राख्नुस्, जेन्युन विल दिनुस्’ भनेर प्रत्येक महिनाको २ पल्ट अनुरोध नै गरेका छौं । त्योभन्दा बाहेक अनुगमन गर्ने, नियमन गर्ने प्रहरी होइन । कसैले ओभर विलिङ गर्यो भन्दै उजुरी गर्छ भने हामी तल्काल कार्वाहीको प्रक्रिया अगाडि बढाउँछौं । यो विषयमा उपभोक्ता ग्राहक पनि सचेत हुुन आवश्यक छ ।

दिनदहाडै मिटरमा नगई यात्रु लुट्न पल्केका यहाँका ट्याक्सी ब्यवसायीको मनपरी चाहिँ किन नियन्त्रण नगरेको ?

मिटरमा जान नमानेका, बढी भाडा लिने ट्याक्सीलाई नियन्त्रणमा लिनका लागि नियमनकारी निकाय र यात्रुको पनि ज्वाइन्ट इफोर्ट हुनुपर्छ । कतिपय केसमा यात्रुले समेत मिटर चलाउन नदिई भाडा तोकेर जाने चलन छ । राज्यले कुनै सिष्टम लागू गर्न खोज्दैछ भने त्यसलाई लागू गर्न जनता नै अग्रसर हुनुपर्छ नि ।

ठगिए पनि ‘ल एण्ड अर्डर’ सुस्त भइदिँदा झमेलामा पर्न नचाहँदा यस्तो भएको हो ?

ठीक कुरा गर्नु भो, आजकल सबैलाई हतार हुन्छ । कुनै ट्याक्सीले ५० रुपैंया बढी भाडा लियो भने दिन तयार हुन्छौं तर, त्यसलाई कानूनी कारवाहीमा लग्न आँट गर्दैनौं । केही हदसम्म ढिलासुस्ती पनि जिम्मेवार हो । त्यस्तो अवस्थामा राज्यले प्रदत्त गरेका सेवाहरु जस्तै टेलिफोनमा त्यस्ता ट्याक्सीको नम्वर प्रहरीको १०३ नम्वरमा टिपाइदिने गर्दा त भोलि त्यो कार्वाहीमा परिहाल्छ नि । यस्ता कुरामा हामी उपभोक्ता आफैं सचेत हुनुपर्छ ।

ठमेलको यौन ब्यवसायलाई नियन्त्रण गर्न सुरु–सुरुमा तपाईले अलिक कडाई गर्नुभो, अहिले पछिल्ला दिनमा किन सुस्त ?

दरबारमार्ग र ठमेल एरियामा हुने रात्रिकालीन ब्यवसाय र होटल ब्यवसायलाई मर्यादित बनाउन हामीले धेरै गरेका छौं । यहाँ युवतीहरुलाई घरबाट उठाएर ल्याउने, होटलमा रहेका ग्राहकलाई पुर्याइदिने अनि भोलिपल्ट बिहान पुनः घर ल्याइदिने सम्मका हर्कत हुँदो रहेछ । हामीले त्यस्ता दर्जनौं युवतीलाई समेत नियन्त्रणमा लियौं । कार्वाही चलायौं ।

Dan bahadur malla

यहाँनिर खड्किएको कुरा, जो केटी यौन शोषणमा परेको हुन्छ त्यस्तालाई हाम्रा महिला सेलका तालिम प्राप्त काउन्सलरबाट काउन्सेलिङ गर्दा समेत काम लागेन । अघिल्लो दिन राम्ररी सम्झाएर पठायो, भोलिपल्ट उ त्यही पेशामा पुगेको हुन्छ ।  छिटो पैसा कमाउन बेश्यावृत्तिमा लाग्ने अहिले ट्रेण्ड बनेको छ । यसमा तेस्रो लिङ्गी झन् समस्या भएर आएको छ । यसलाई पूरै नियन्त्रण गर्न राज्यले सही निर्णय गर्न आवश्यक छ ।

तपाईले भन्न खोज्नुभएको बेश्यावृत्ति गर्न ‘रेड लाइट एरिया’ चाहियो ?

हामीले भन्ने कुरा होइन, यो राज्यले बुझ्ने कुरा हो । यौन ब्यवसायमा लागेकाहरुले समेत हामीलाई ‘कतिञ्जेल पक्रनुहुन्छ ? हामी अरु ब्यवसायमा जान सक्दैनौं, बरु एरिया तोक्दिनुस्, सुरक्षित तवरले गछौं’ भन्छन् । जबसम्म पीडित नै यो पेशाबाट बाहिर जान्छु भनेर मानसिक रुपमा तयार हुँदैन । बेश्यावृत्ति नियन्त्रण गर्न सकिन्नँ । तर, हामी पूरै कोशिसमा छौं ।

प्रहरीको नैतिकताको पनि कुरा गरौं न, घुमुवा प्रहरीले यहाँका होटल रेष्टुरेण्टबाट मासिक नजराना लिने, पैसा माग्ने वार्गेनिङ गर्ने गर्छन्, तिनलाई नियन्त्रण गर्न पर्दैन ?

सहि कुरा उठाउनु भो, पहिलो कुरा प्रहरी पनि ठीक हुनुपर्छ । दोस्रो कुरा प्रहरीलाई बिगार्ने नागरिक पनि हो । प्रहरीलाई बोलाएर पैसा दिएर खुवाएर यसले मेरो काम गरी दिइहाल्छ कि भनेर नागरिकले पनि सोच नराख्नुस् । प्रहरीबाट सुरक्षा पाउने नागरिकको अधिकार नै हो । मैले प्रत्येक नागरिक, ब्यवसायीलाई भनेको छु, कि कुनै प्रहरीले आएर यस्तो गर्दिन्छु, उस्तो गर्दिन्छु भनेको छ भने त्यस्ता प्रहरीको जानकारी दिनुस्, हामी कार्वाही गछौं, भोलि तपाईले नै सहयोग गरेको पत्ता लाग्यो भने म तपाईलाई नै कार्वाही गर्छु । जहाँसम्म लाग्छ, अहिले त्यस्तो घटना भएको छैन ।

त्यसो भए ब्यवसायीले किन प्रहरीको भाग सम्बन्धित ठाउँमै पुर्याइदिन्छौं के आधारमा भने त ?

भन्नेको गल्ती हो, किन प्रहरीलाई पुर्याउनु पर्यो ? तपाई राम्ररी राज्यले दिएको अधिकार प्रयोग गरेर विजनेश गर्नुस्, प्रहरीको कामै हो नि सुरक्षा प्रदान गर्ने त । मेरो एरियामा अहिले कुनै पनि ब्यवसायीले प्रहरीलाई पैसा दिन्छु भनेर आरोप लगाउँदैन । यो केही गलत ब्यवसाय गर्नेले प्रहरीलाई बद्नाम गराउन भनेका हुन सक्छन् । त्यस्ता केही प्रमाण हामीसँग छ ।

यहाँको रात्रिकालीन ब्यवसायलाई मर्यादित र ब्यवस्थित गर्न के योजना छ ?

ठमेल, दरबारमार्गमा सञ्चालित रात्रिकालीन ब्यवसायलाई सभ्य, मर्यादित र ब्यवस्थित गर्न नागरिक, ब्यवसायी र प्रहरी हातेमालो गरेर अघि बढ्न आवश्यक छ । मैले अहिले जति कन्ट्रोल गर्न सकें, त्यसमा सबैको सहकार्य छ । यसलाई निरन्तर लिएर जान सक्नुपर्छ ।

प्रहरीले लेनदेनका कुरा नहेर्ने, अदालतमा विचाराधीन विषयमा हात नहाल्ने कुरा छ । तर, प्रहरी आफैं यस्ता केस खोज्दै हिँड्दा न्यायालय प्रभावित हुँदैन ?

ठीक कुरा गर्नुभो, प्रहरीले लेनदेनका कुरा हेर्दैन । ठगी भइसकेका, बैंकिङ कसुरजस्ता विषयमा पीडकलाई झिकाएर पीडितसँग छलफल गराइदिने, थुनामा हालेर वार्गेनिङ गर्ने ट्रेण्ड चलेको छ । यो पनि गलत हो । पुलिसलाई वार्गेनिङ गर्न लगाउने होइन । जाहेरी लिएर आयो भने पनि पीडकलाई ल्याएर कानूनी उपचारको बाटो देखाइदिनु प्रहरीको कर्तव्य हो । प्रायः बैंकिङ कसुरका केसमा उजुरी गरेर थुनाएर पैसा दिन्छस् कि ? भन्ने चलन छ, त्यो गलत हो । काठमाडौंमा बैंकिङ केस भयावह भएको छ । अदालतका केसमा त प्रहरीले केही गर्न मिल्दैन ।

प्रहरीलाई मर्यादित र संगठनप्रति जवाफदेही बनाउन राज्यले के गर्न आवश्यक छ ?

मुख्य कुरा ‘राइट मेन राइट प्लेस’ को अवधारणामा गएको खण्डमा प्रहरी हरेक कुरामा जिम्मेवार र नैतिकवान् तथा जवाफदेही हुन्छ । यहाँ आउने विशिष्ट मान्छे आएको खण्डमा त्यस्ता पर्सनसँग कुन तहको ल्याङवेज प्रयोग गरेर बोल्ने भन्ने क्षमता भएको प्रहरी हुनुपर्छ ।

अहिले दरबारमार्ग गयो भने पैसा कमाउन सकिन्छ भन्ने मान्छे मेरै डिपार्टभित्र रहेछन्, तिनलाई पब्लिकसँग सम्बन्धै नहुने ठाउँमा ड्युटि दिएपछि तिनीहरुले दरबारमार्गमा केही नहुने रहेछ भन्न थालेका छन् । दरबारमार्ग आउनु भनेको आफ्नो क्षमता स्किल बढाउनु र अनुभव हासिल गर्नु हो । यस्तो भावना भएका मान्छे मात्र यहाँ आएको खण्डमा ठीक हुन्छ ।

यहाँ आउन त राम्रो नजराना चढाउनु पर्छ रे ?

धेरैले त्यसै भन्दथे । तर, मलाई चाहिँ यो क्षेत्रको बिकृति विसंगति हटाउनकै लागि पठाइयो । मैले संगठनमा पनि धेरै दुखः गरे । इन्स्पेक्टर हुँदा नै ३ ओटा कमाण्डो कोर्स गरें । विदेशमा कोही नजाने ट्रेनिङमा गएको छु । यसले संगठनमा दुखः गरेको छ, योसँग क्षमता छ भनेर नै पठाएको जस्तो लाग्छ ।

तपाईलाई प्रचण्डको इन्ट्रेष्टमा यहाँ ल्याइयो पनि भन्छन् नि, खास कुरा के हो ?

भन्नेको मुख थुन्न सकिन्नँ । प्रचण्ड ज्यूको इन्ट्रेष्टमा आउने भन्ने कुरा कसरी हुन सक्छ ? म नेपाल प्रहरीमा भएका अन्य डीएसपीभन्दा के कुरामा कमी छु ? म यहाँ आउन किन नसक्ने ? मैले संगठनलाई दिएको योगदान कसैले हेरेको छ ? द्वन्द्वकालमा सबैभन्दा बढी द्वन्द्वग्रस्त क्षेत्रमा गएर काम गर्ने मै हुँ । अहिले शान्तिकालमा आएर मैले अन्य ठाउँमा गएर काम गर्न किन हुन्नँ ? म संगठनले लगाएको जस्तोसुकै काम गर्न सक्षम छु ।

यो अन्तर्वार्ता मकालु खबर डटकमबाट साभार गरिएको हो ।