एक चीन नीतिविरुद्ध एआइजी कार्की, दलाइ लामाका चेलाबाट लिए आशिर्वाद

puskar karki
लाेकपाटी न्यूज

काठमाडौं, २५ मंसिर । गृहमन्त्री रामबहादुर थापाले नेपाली भूमी प्रयोग गरेर चीन विरोधी गतिविधि हुन नदिने प्रतिवद्धता जनाइरहेको बेला नेपाल प्रहरीका एआइजी पुष्कर कार्की भने फ्रि तिब्बतको माग गर्दै आएका नेता दलाई लामाका विशेष प्रतिनिधि एवं बौद्ध भिक्षु मास्टर कर्मा तन्पाइ ग्याल्सेनलाई भेटेर आशिर्वाद लिएका छन् ।

काठमाडौंको रामकोटस्थित सेतो गुम्बामा बस्दै आएका मास्टर ग्याल्सेनसँऊ गत बिहीबार एआइजी कार्कीले सहयोगीमार्फत भेटेर आशिर्वाद लिएको तस्बिर सार्वजनिक भएको छ । मास्टर ग्याल्सेनले आफ्नो फेसबुक पेजमा पनि उक्त तस्बिर राखेका छन् । पछिल्लो समय राजनीतिक भेटघाटलाई तिव्र बनाएका एआइजी कार्कीले सरकारको एक चीन नीतिलाई लत्याउँदै दलाई लामाका प्रतिनिधिसँग भेटघाट गर्नुलाई उनी सरकार विरोधी गतिविधिमा संलग्न रहेको देखिने उच्च प्रहरी अधिकारी बताउँछन् ।

केही दिनअघि कार्यकाल पूरा गरी चीन फर्कन लागेकी नेपालमा लागि चिनियाँ राजदूत यु होङसँगको भेटमा गृहमन्त्री थापाले नेपाल सरकार एक चीन नीतिप्रति प्रतिवद्ध रहेको बताएका थिए । तर, अहिले एआइजी कार्कीले सरकारको नीति विपरीत यसरी तिब्बती आन्दोलनलाई मलजल पुर्‍याउनेसँग नै भेटघाट गर्न थालेपछि उनलाई गृह मन्त्रालयले स्पष्टिकरण सोध्ने तयारी गरेको छ ।

नेपालका उच्चपदस्थ व्यक्तिहरुसँग सहजै पहुँच र सम्बन्ध कायम गर्न सक्ने मास्टर ग्याल्सेन नेपालमा मात्र होइन भारतसम्म पुगेर नेपाल र भारत सरकारका प्रमुखहरुसँग पनि परामर्श गर्न सक्ने खुबी रहेको तथ्यहरुले देखाउँछ । गत वर्ष प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका क्रममा मास्टर ग्याल्सेनलाई दिल्लीस्थित नेपाली दुतावासले निम्तो नै नदिए पनि कार्यक्रममा ओलीको स्वागत गरेका थिए । जुन कुरालाई लिएर ग्याल्सेनको आलोचना भएको थियो । मास्टर ग्याल्सेनले विगत एक वर्षदेखि राजनीतिक भेटघाट र उच्च पदस्थ व्यक्तिहरुलाई भेटघाट गर्दै आएका छन् ।

युरोपियन युनियनसँग समेत नजिक रहेको मानिएका मास्टर ग्याल्सेनलाई भारतको धर्मशालामा रहेका तिब्बती नेता दलाई लामाले पछिल्लो समयमा चीन विरोधी गतिविधि बढाउनका लागि विशेष रुपमा खटाएको स्रोतको दाबी छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्