यस्तो बन्दैछ नमूना वीरगञ्ज

birjung
लाेकपाटी न्यूज

नीरज पिठाकोटे, वीरगञ्ज, २५ मंसिर । फोहोर र जथाभावी सवारी चलाउने गर्दा अव्यवस्थित बनेको वीरगन्जलाई व्यवस्थित बनाउन महानगरपालिका र नागरिक स्तरबाट तीब्र रुपमा काम भइरहेको छ ।

महानगरपालिका र ट्राफिक प्रहरीले मात्रै ट्राफिक व्यावस्थापन गर्न नसक्ने देखिएपछि नागरिकलाई दायित्व बोध गराउन नागरिक स्तरबाटै ‘व्यवस्थित वीरगञ्ज’ नामको अभियान टोली गठन गरी थालिएको व्यवस्थित वीरगन्ज अभियानले अहिले महानगरको विभिन्न स्थानमा ई–रिक्सा, अटो टेम्पो पार्किङ गर्नेदेखि सरसफाई र सार्वजनिक जग्गा तथा सडक अतिक्रमणहरु हटाएको छ ।

अभियान टोली सक्रिय भएपछि महानगरपालिकाले पनि स्वस्पूmर्त रुपमा सहयोग गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय, जिल्ला ट्राफिक प्रहरी कार्यालय, वडाका जनप्रतिनिधिहरु तथा केही सामाजिक संघसंस्था, स्कुल कलेजका विद्यार्थी र युवाहरुको सहभागितामा अभियान टोलीले भन्सार गेटदेखि गण्डक सम्म सरसफाई, सार्वजनिक जग्गाको अतिक्रमण हटाउने, जथाभावी पार्किङ्ग गरी राखिएको सवारी साधन नियन्त्रण गर्ने तथा सडक पेटीमा राखिएको निर्माण सामग्री र पसलहरु पनि हटाउदै सार्वजनिक शौचालयहरु निर्माण र सरसफाईसमेत गरेका छन् ।

महानगरपालिकाले पुष १७ गतेदेखि प्लाष्टिक मुक्त महानगर बनाउने निर्णय पनि गरेको छ । यसअघि महानगरका वडाहरु खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेकाले पनि त्यसलाई निरन्तरता दिनका लागि सार्वजनिक शौचालयहरु मर्मत सम्भार गर्न थालिएको हो । विगतमा समानुपातिकमा सांसद बनेकाहरुको संसदीय कोषबाट निर्माण गरिएका सार्वजनिक शौचालयहरु सरसफाईको अभावमा प्रयोगविहिन रहेकोले त्यसलाई सरसफाई गरेर पुनः प्रयोगमा ल्याउने र अन्य आवश्यक स्थानहरुमा पनि अस्थायी रुपमा अथवा घुम्ती शौचालयहरु पनि राख्ने तयारी गरिएको अभियान टोलीले जनाएको छ ।

शहरमा बढ्दै गएको सवारी चापलाई घटाउनका लागि महानगरका विभिन्न स्थानमा चल्ने अटो रिक्साहरुलाई छुट्टाछुट्टै रुट बनाएर पार्किङ र रुट निर्धारण गरिएको छ । शहरमा छाडिएका छाडा पशुचौपायाहरु नियन्त्रणमा लिने र काञ्जी हाउसमा राख्ने तथा पशुचौपाया धनीहरुसँग जरिवाना असुलेर मात्रै पशुचौपाया जिम्मा लगाउने काम गरिएको वीरगन्ज महानगरपालिकाले जनाएको छ । महानगरको बढी सवारी चाप र भीडभाड हुने स्थानहरुलाई केन्द्रीत गरेर सवारी आवागमनको लागि एकतर्फी बाटोको व्यवस्था पनि गरिएको पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए ।

अटो रिक्साहरुलाई नियमानुसार सञ्चालनका लागि रुट निर्धारण र पार्किङको व्यवस्था गरिएकोले नियम उल्लङ्घन गर्नेलाई ट्राफिक नियमानुसार कार्वाही पनि गरिदै आएको छ । वीरगञ्जमा सञ्चालिन बैंक तथा वित्तीय संस्थाहरुलाई आ–आफ्नो पार्किङ्ग स्थल बनाएर मात्रै सवारी साधन पार्किङ्ग गर्न पत्राचार गरिएको छ । त्यस्तै बिरामी बोक्ने एम्बुलेन्सलाई पनि व्यवस्थित रुपमा चलाउन र एकतर्फी बाटोबाट मात्रै चलाउन आग्रह गरिएको छ ।

वीरगन्जलाई गन्तव्य सहर बनाउनका लागि वीरगन्ज प्रवेश गर्ने भन्सारको शंकराचार्य गेटलाई सरसफाई गरी शौन्दर्यीकरण गर्ने काम पनि शुरु भएको छ । अहिले वीरगन्ज महानगरपालिकाले शंकाराचार्य गेटमा नेपालको झण्डा राखेर “वीरगञ्जमा प्रवेश गर्नुभएकोमा यहाँलाई स्वागत छ” भन्ने स्वागतसहितको विद्युतीय वोर्ड समेत राखेको छ । भारततर्फबाट नेपाल प्रवेश गर्ने द्वारमा नै पहिलो प्रभाव पाहुनालाई राम्रो पर्नेमा महानगरपालिका विश्वस्त छ ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्