गुनासो नआउने गरी सरकारले काम गर्छ : मन्त्री बस्नेत

Shakti-Basnet
लाेकपाटी न्यूज

भक्तपुर, २६ मङ्सिर । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले देशमा एक वर्षभित्र सरकार परिवर्तन भइरहने परम्पराको अन्त्य भएको बताएका छन् ।

भक्तपुर र काठमाडौँको सिमानास्थल मनोहरा पुलबाट गत ६ गतेदेखि शुरु भएको अरनिको राजमार्ग खण्डको सरसफाइ अभियानको २१ औँ दिनको समापन कार्यक्रममा बोल्दै उनले सो धारणा व्यक्त गरेका हुन् ।

जनताले सोचेजस्तो छिटो काम गर्न सरकारले सकेन भन्ने गुनासो स्वभाविक भएको टिप्पणी गर्दै मन्त्री बस्नेतले भने, ‘देशमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत गर्दै प्रदेश, स्थानीय सरकार व्यवस्थापन गर्नमै सरकारको आठ नौ महिना बित्यो, अब सरकारले तीव्र गतिमा गुनासो नआउने गरी जनताले सोचेजस्तै गरी काम गर्नेछ ।’

मन्त्री बस्नेतले सरसरफाइ अभियानलाई मन्त्रालयको सधैँ साथ र सहयोग रहने बताउँदै भक्तपुरमा निर्माण हुन लागेको प्राणी उद्यान निर्माणको काम यसै वर्षबाट शुरु हुने बताएका छन् ।