प्रदेश नम्बर ३ को राजधानी हेटौंडामै : मूख्यमन्त्री पौडेल

Chief Minister Poudel at Club
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर । प्रदेश नम्बर ३ का मूख्यमन्त्री डोरमणि पौडेलले आगामी पुसभित्रै प्रदेशको नामाकरण गर्ने दाबी गरेका छन् । यद्धपी उनले प्रदेशको राजधानी अहिलेकैलाई कायम गरिने स्पष्ट पारे ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मूख्यमन्त्री पौडेलले यस्तो दाबी गरेका हुन् । उनले भने, ‘आउने पुषभित्रै प्रदेश नम्बर ३ को नामाकरण गर्छौं । तर, अहिले राजधानी तलमाथि गरियो भने एक वर्ष फेरी भौतिक संरचना तयार पार्नकै लागि समय खेर जान्छ । हामीले नसकेर नामाकरण नगरेको होइन । हामी यो जम्माजम्मी दश महिना भुईँ र सुकुलमा बसेर काम गरेका हौं । यो अवधिमा हामीले सारा संरचना तयार गर्यौं । हामी बल्ल ट्रयाकमा हिँडेका छौं ।’

मूख्यमन्त्री पौडेलले आफूहरु भर्खरै एउटा ट्रयाकमा हिँड्न थालेको र अब विकास निर्माणको कामले गति लिनुपर्छ है भनेर हिँडिरहेको अवस्थामा फेरी राजधानीलाई तलमाथि गरिए एक वर्ष ब्याक हुने धारणा राखे । उनले भने, ‘हाम्रो राजधानी अहिले जहाँ छ, जसरी काम भैरहेको छ। भौतिक संरचनासहित त्यहाँ सेटअप छ । अब त्यो ठाउँबाट राजधानी लानेबित्तिकै हामीले यो वर्ष गरिएका योजनाहरुलाई बाधा पुर्‍याउँछ । १३ वटै जिल्लामा हाम्रा कार्यालयहरु स्थापना भइसकेका छन् । डिभिजन कार्यालयहरु सबै बनिसकेका छन् ।’

काम गर्नको लागि आफूहरुले वातावरण तयार पारेको उनको जिकिर छ । उनले भने, ‘प्रदेश सरकार गठन भएको अहिले दश महिना भयो । यो अवधिमा सरकारले के गर्यो भनेर प्रश्नहरु उठेका छन् । होलान् । तर, यो अवधिमा प्रदेश सरकार चुप लागेर बसेको छैन । केही समस्याहरु थिए । हामीलाई कानूनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानूनहरु थिएनन् । कानून नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानून बनाउनको लागि प्राथमिकता दिएका थियौं ।’