दीपकराज जोशीलाई महाअभियोग लगाउन कोइरालाको माग

Mahaabhiyog
लाेकपाटी न्यूज

काठमाडौं, २६ मंसिर । सार्वजनिक एवम् गुठी संरक्षण समितिका महासचिव युवराज कोइरालाले सत्ता, शक्ति र सम्पतिको आडमा नेपालका राष्ट्रिय सम्पदाहरु कानून विपरीत केही व्यक्तिको स्वार्थ अनुसार मुद्धा फैसला गरेको भन्दै प्रस्तावित प्रधानान्याधीश दीपकराज जोशीलाई महाअभियोग लगाउन सरकारसँग माग गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा सार्वजनिक एवम् गुठी संरक्षण समितिले आयोजना गरेको पत्रकार सम्मेलमा बोल्दै महासचिव कोइरालाले यस्तो माग गरेका हुन् ।

उनले भने, ‘प्रचलिचत कानून विपरीत तोकिएका काम, कर्तव्य र अधिकारभन्दा बाहिर गएर कुनै व्यक्तिको स्वार्थमा फसेर राज्यका राष्ट्रिय सम्पदाहरुलाई मास्ने काम गर्ने जोकोहीलाई कानूनअनुसार कारवाही हुनुपर्छ । यस्ता गम्भीर कार्य गर्ने प्रस्तावित प्रधानान्याधीश दीपकराज जोशी र न्यायाधीश ईश्वर प्रसाद खतिवडालाई महाअभियोग लगाएर कारबाही गर्न सरकारसँग माग गर्दछु ।’

जोशी र खतिवडाको संयुक्त इजलाशबाट मिति २०७४ भदौ ११ को रिटको फैसला त्रुटिपूर्ण भएको उनको आरोप छ । उनले भने, ‘नेपालको गजेट (राजपत्र) भाग ३ मिति २०१८ मंसिर १७ गते प्रकाशित गृहमन्त्रालयको सूचनामा राणाकालिन ६ वटा दरबार क्षतिपूर्ति दिई अधिग्रहण भएको व्यहोरा उल्लेख छ ।’

उनले भने, ‘मन्त्रिपरिषदको मिति २०४७ जेठ १४, २०४७ साउन ८ गते र २०४७ भदौ ३ गते मा भएको निर्णयमा जफत तथा हरण भएको सम्पत्ति कानूनबमोजिम कानूनले दिएको सम्पत्ति फिर्ता गर्दा गृह मन्त्रालयले छानविन गरी यकिन भएपछि मात्र फिर्ता दिने ब्यहोरा उल्लेख छ ।’

महासचिव कोइरालाले सरकार, अदालत र अन्य केही व्यक्तिहरु मिलेर राष्ट्रिय सम्पत्तिको चरम दुरपयोग गरेको आरोप लगाए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्