प्रहरीकै आँखामा कैदीले हाले खुर्सानीको धुलो

Police_S8xZh2MM6x
लाेकपाटी न्यूज

हुम्ला, २८ मङ्सिर । हुम्लाको सिमीकोटमा एक जना कैदीले प्रहरी जवानकै आँखामा खुर्सानीको धुलो फ्याँकेर जिल्ला प्रहरी कार्यालयको हिरासतबाटै भाग्न खोज्ने क्रममा पुनः पक्राउ परेका छन्।

सुरक्षामा खटिएका प्रहरी जवान सुरेन्द्र सिंहको आँखामा खुर्सानी फाँक्नेमा हुम्ला सर्केगाड गाउँपालिका– २ रीप गाउँ निवासी गङ्गे महतारा रहेको प्रहरीको भनाइ छ। निजलाई हात हतियार खर खजाना र कर्तव्य ज्यान मुद्दाको अभियोगमा गत मङ्सिरमा हुम्ला जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा राखिएको हो।

बिहीबार विहान ४ बजेको समय शौचालयमा सौच गर्न गएको थुनुवा महताराले हिरासतको ढोका खोली भित्र जाने क्रममा ड्युटीमा खटिएका प्रहरी जवान सिँहको आँखामा खुर्सानी हालेर भाग्न खोजेका थिए । तर, तत्काल सुरक्षाकर्मीले जानकारी पाएपछि निजलाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रविन श्रेष्ठ भने अहिले सबै कुरा भन्न नसकिने अवस्था रहेको र अनुसुन्धानपछि सबै कुरा बाहिर ल्याउने बताए। आँखामा खुर्सानी हालिएका प्रहरी जवानको जिल्ला अस्पतालमा उपचार भइरहेको छ।

एक वर्षभित्रै जिल्ला प्रहरी कार्यलयमा हुम्लामा रहेको हिरासदबाटै यस पटक गरि २ कैदी हिरासतबाटै भाग्न खोजेका छन्।