सहकारीले सामाजिक संस्कार दिन्छ : मन्त्री बिना मगर

bina magar
लाेकपाटी न्यूज

कञ्चनपुर । खानेपानी मन्त्री बीना मगरले विकेन्द्रित भइरहेको समाजलाई केन्द्रीकृत गर्न सहकारी संस्थाहरुले ठूलो योगदान दिइरहेको बताएकी छिन् ।

कञ्चनपुरको पुनर्वास नगरपालिकामा अवस्थित दलित बहुउद्देश्यीय सहकारी संस्थाको २१ औं वार्षिक साधारण सभाको उद्घाटन गर्दै खानेपानी मन्त्री मगरले समाजलाई केन्द्रीकृत गरी सहकारी संस्थाहरुले सकारात्मक सन्देश दिइरहेको बताएकी हुन् ।

साधारण सभाको उद्घाटन गर्दै उनले भनिन्, “हाम्रो समाज विकेन्द्रित भइरहेको छ । यस्तो अवस्थामा सामूहिकतामा काम गर्ने अभ्यास सहकारी संस्थाहरुले गरिरहेका छन् । सामूहिक लगानी, सामूहिक उपलब्धि र समस्याको सामूहिक हल खोज्ने राम्रो माध्यम सहकारी बनेको छ ।”

उनले समुदायका व्यक्तिहरुलाई एकै ठाउँमा गोलबन्द गरी सहयोगको भावना जागृत गराउन सहकारीले महत्वपूर्ण संस्कार अँगालेको बताइन् । सामूहिकतामा काम गर्ने अभ्यास सहकारीले गरेको भन्दै उनले विपन्न वर्गका समुदायको जीवनस्तर माथि उकास्न सहकारीको भूमिका अतुलनीय रहेको बताइन् ।

सहकारीलाई नकारात्मक ढंगबाट मात्रै नबुझ्न उनले सबैलाई आग्रह गरिन् । मन्त्री मगरले पछिल्लो समय सहकारी व्यक्तिगत र सामाजिक जीवन निर्वाहको महत्वपूर्ण आधार बन्दै गएको बताइन् ।