पेटोललाई विद्युतले प्रतिस्थापन गर्छौं : वर्षामान पुन

Barshaman Pun
लाेकपाटी न्यूज

वीरगञ्ज, २८ मंसिर । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले विद्युतीकरणबाट डिजेल, पेट्रोल र ग्यास आयात प्रतिस्थापन गरिने बताएका छन् ।

वीरगञ्जमा बिहीबार आयोजित नारायण सिँचाइ आयोजना सम्बन्धी कार्यक्रममा मन्त्री पुनले विद्युतीय सवारीसाधन र विद्युतीय चुह्लोको विस्तारबाट आयात प्रतिस्थापन गरिने बताएका हुन् । उनले भने, ‘हाल २ खर्ब जति डिजेल र पेट्रोल आयात गरेर गाडी सञ्चालन गरेका छौं । त्यसलाई विद्युतीय गाडीले प्रतिस्थापन गर्छौं ।’

‘४० अर्ब बराबरको ग्यास ल्याएर खाना पकाएका छौं, त्यसलाई विद्युतीय चुह्लो प्रयोग गरेर प्रतिस्थापन गर्छौ । विद्युतको प्रयोगबाट ग्यास, डिजेल आयात प्रतिस्थापन गर्छौँ, कार्यक्रममा मन्त्री पुनले भने । मन्त्री पुनले नारायणी सिंचाइ परियोजनामा देखा परेको समस्या पनि छिट्टै हल गर्ने बताएका छन् ।

कार्यक्रममा सहभागीहरुले बारा, पर्सा, रौतहटको उपल्लो भागमा सिंचाइ सुबिधा नभएको भारतले सम्झौता अनुसार पानी नछोडेको तथा परियोजना पुनर्निर्माणमा बजेट नभएको गुनासो गरेका थिए ।

जवाफमा मन्त्री पुनले तीन नम्बर प्रदेशको सुनकोशी मरिन डाइभर्सन परियोजना मार्फत बारा, पर्सा र रौतहटमा सिंचाइ सुविधा पुर्याउने र तराइ मधेशका जनताको पनि पहाडमा बन्ने जलविद्युतमा लगानी गर्ने वातावरण बनाई आन्तरिक राष्ट्रियता बलियो पार्ने बताए ।