‘प्रकाशको उमेर छोटो भयो, तर योगदान लामो छ’

Narayan dahal
उसले जति ग-यो, उसको चेतना र उमेरअनुसार ऊ एकदम कुशल रह्यो । बुवाको राजनीतिक अभियानलाई सहजीकरण गर्न र हेडक्वार्टरको सुरक्षाको व्यवस्थापन गर्न ऊ सफल रह्यो ।
लाेकपाटी न्यूज

नारायण दाहाल, काका एवं नेता, नेपाल कम्युनिष्ट पार्टी

वास्तवमा प्रकाश अब हाम्रो एउटा पारिवारिक व्यक्ति मात्रै रहेन, ऊ त एउटा राजनीतिक आन्दोलनको एक हिस्सासमेत बन्यो। हामी कास्कीको अति विकट पहाडी जिल्लामा जन्मियौं, अनि त्यसपछि चितवनमा बसाई स-यौं। पारिवारिक हिसाबले हामी न्यून मध्यम वर्गीय परिवारका हौं। हाम्रा केटाकेटीहरु पनि त्यही अवस्थाबाट हुर्किए। प्रकाशको शिक्षा दीक्षा र लालनपालन सुविधाजनक अवस्थामा थिएन। अभाव र अप्ठ्यारो परिस्थितिको बीचबाट नै उसले प्रारम्भिक शिक्षा हासिल गरेको हो। परिवारमा तीन तीन जना दिदी बहिनीको बीचमा एउटा भाइ, त्यो पनि कान्छो, सबैले माया गर्दथे उसलाई । सबैको प्यारो नै थियो ऊ।

ऊ जन्मँदाखेरि नै उसको बुवा पार्टीको ‘होल टाइमर’ भएर पार्टीको काममा हिँड्नुभयो। बुवा भनेर चिन्ने चिन्ने बेलामा उसको बुवा राजनीतिक रुपमै धेरै अगाडि बढिसकेको अवस्थामा बुवाका सबै गतिविधिहरु र प्रशासनका दमनका बीचमा ऊ हुर्कियो। ऊ बुझ्ने उमेरमा हुँदादेखि नै राजनीतिमै संलग्न भयो। उसको बाल्यकाल हाम्रो राजनीतिक जीवनको बीचमै हुर्कियो। जब हामी पञ्चायत कालमा भूमिगत थियौं, त्यो पालादेखि नै हाम्रो राजनीतिक गतिविधिका बारे बिस्तारै थाहा पाउँदै जान थाल्यो। ऊ जन्मँदै ‘पोलिटिकल’ भयो। त्यही वातावरणमा उसको सामान्य शिक्षा दीक्षा हुँदै गयो। ऊ १२–१५ वर्षको हुँदा नहुँदै जनयुद्ध सुरु भइहाल्यो।

उसको जीवनको मूल ट्रेन नै पोलिटिकल बन्यो। उसको व्यक्तिगत पढाई, शिक्षा दीक्षा र अन्य लालन पालन, खवाई भन्दा पनि सबै जीवन नै पोलिटिकल भयो। त्यही आधारमा उ अगाडि बढ्दै गयो । हामी भूमिगत भयौं। उसको पढाई त्यति निरन्तरता हुन सकेन। त्यही पनि विभिन्न बाधा, अवरोध र समस्याका बीच उसले विभिन्न स्कुलहरुमा पढ्दै छाड्दै गर्नुप-यो । हाम्रा केटाकेटीहरुले एकै वर्षमा तीन तीन वटा स्कुलसम्म परिवर्तन गर्दै, पढ्दै गरे।

उसको घरमा दिदीबहिनीहरुलाई मानसिक टर्चर दिइरहन्थ्यो त्यति बेलाको प्रशासनले । ऊ पनि घर छाडेर निर्वासन जीवनतिर लाग्यो। उसको मुल ट्रेण्ड नै पोलिटिकल रह्यो। उसको जीवन व्यक्तिगत नै रहेन। उसले आफ्नो अन्तिम शिक्षा पञ्जाबबाट ग-यो। त्यही पनि त्यहाँ ढुक्कले पढ्ने, बस्ने वातावरण थिएन। उसको दिदी रेनुको घर त्यहीँ भएकाले उसले त्यहीँ बसेर पढ्ने लेख्ने काम गरेको थियो।

जब हामी जनयुद्धको पिकमा पुग्यौं, तब उसले सबै कुरा छाडेर सचिवालयको जिम्मेवारी लियो। विशेषगरि उसको बुवाको सुरक्षाको जिम्मेवारी सँगसँगै ऊ पार्टी हेडक्वार्टरको सहजीकरण गर्ने सन्दर्भमा सचिवालयको काममा लाग्यो। उसले जति ग-यो, उसको चेतना र उमेरअनुसार ऊ एकदम कुशल रह्यो। बुवाको राजनीतिक अभियानलाई सहजीकरण गर्न र हेडक्वार्टरको सुरक्षाको व्यवस्थापन गर्न ऊ सफल रह्यो।

जब प्रकाश खुला राजनीतिमा आयो, तब पार्टीले दिएको जिम्मेवारी र भूमिका निभाउन सफल भयो। त्यति धेरै उमेर पनि थिएन प्रकाशको। त्यो उमेरमा उसले जुन ढङ्गले पार्टी अध्यक्षको सचिवालयको जिम्मेवारीमा बसेर काम ग-यो, त्यो चानचुने कुरा थिएन। त्यो ढङ्गको दक्षताका साथ उसले गरेको काम हेर्दा यहाँनेर कमजोरी भयो भन्ने कुनै ठाउँ नै राखेन।

उसले गरेको त्यो ढङ्गको कार्य कुशलता हेर्दा अझै पनि पार्टीलाई ठूलो क्षति भएको छ। ऊ हुँदाखेरिको अवस्था र नहुँदाको अवस्था हेर्ने हो भने सिंगो पार्टीलाई अपुरणीय क्षति पुगेको छ। चुनाव आउनै लाग्दा त्यो बेला उसले गरेको युवा परिचालनको काम हेर्दा निकै महत्वपूर्ण थियो। आन्तरिक रुपमा उसले यति धेरै युवा परिचालन गरेको थियो कि उसको काम देख्दा अहिले पनि पार्टी हेडक्वार्टरलाई उसको अभाव खड्किएको छ।

उसको स्वभाव सबैलाई आन्दोलनमा आकर्षित गर्नसक्ने खालको थियो। जहाँ–जहाँ उसले आफ्नो सम्बन्ध जोड्थ्यो, सबै जना ऊबाट प्रभावित हुन्थे। धेरै युवाहरुलाई उसले कन्भिन्स गर्न सक्यो। त्यही भएर नै उसको निधनका बेला पशुपति आर्यघाटमा यति धेरै युवाहरु आएका थिए। हामीलाई के लाग्यो भने ऊ कति आन्तरिक रुपमा मजबुत र लोकप्रिय रहेछ भन्ने अनुभूति भयो। उसले कम्युनिष्ट आन्दोलनमा कति योगदान दिएको रहेछ त भन्ने कुराको अनुभूति गराएर गयो। त्यसैले उसको पोलिटिकल चेतना धेरै माथि पुगिसकेको थियो। आफ्नो उमेरअनुसार उसले धेरै महत्वपूर्ण ढंगले पोलिटिकल्ली लिड गरेको सबैले थाहा पाए। उसको हाइट पनि पोलिटिकल्ली धेरै माथि पुगिसकेको थियो। हाम्रो पार्टीमा मात्रै होइन, विपक्षी पार्टीमा समेत उसले आफ्नो अमिट छाप छोडेर गयो । ऊ नभए पनि त्यसको लागि हामी गर्व गर्छौं ।

मलाई के लाग्छ भने हामी भौतिकवादी हौं। काम गर्दै जाँदा केही गल्ती कमजोरी त अवश्य हुन्छन्। यो संसारमा आलोचना गर्नेहरुको पनि कमी छैन। ऊ जुन ढङ्गले अघि बढ्दै थियो, उसका पछाडि पनि कुरा काट्नेहरुको कमी थिएन। हुन त मान्छे कहिल्यै पनि पूर्ण हुँदैन। काम गर्ने सिलसिलामा कसैको केही कुरा पूरा नभएपछि उसले स्वाभाविक आलोचना त गर्छ नै। यसो भनिरहँदा उसले जुन स्पिरिटका साथ काम ग-यो, त्यो नै आफैंमा महत्वपूर्ण थियो। ऊ मीडियासँग पनि उत्तिकै नजिक थियो। धेरै मीडियाका साथीहरुलाई उसले मिलाएर लैजान सक्थ्यो। उसले नेपाली जनताको आन्दोलनमा जुन योगदान दियो, त्यो योगदान आफैंमा भारी र महत्वपूर्ण छ।