लोकसेवा परीक्षामा सामेल हुन कोरोना परीक्षण अनिवार्य

लाेकपाटी न्यूज

काठमाडौं, २० जेठ, लोकसेवा आयोगको परीक्षामा सामेल हुन कोरोना भाइरस परीक्षणको रिपोर्ट अनिवार्य रुपमा बुझाउनुपर्ने भएको छ। आयोगले विभिन्न सेवाका राजपत्रांकित प्रथम श्रेणी, सहसचिव वा सो सरह (अप्राविधिक/प्राविधिक) विभिन्न पदका विज्ञापनहरुको द्वितीय चरणका परीक्षा एवं अन्तर्वार्तामा सहभागी हुने प्रतियोगीहरुका लागि मंगलबार यस्तो सूचना जारी गरेको हो।

आयोगको सूचनामा भनिएको छ, “मामिला प्रस्तुतीकरण तथा अन्तर्वार्ता कार्यक्रममा सहभागी हुने उम्मेदवारमध्ये काठमाडौं उपत्यकाबाहिर कार्यरत रहेका वा काम विशेषले लकडाउन अवधिमा उपत्यकावाहिर गई आएका उम्मेदवारहरुले अन्तर्वार्ताअगावै आफ्नो कोभिड–१९ पीसीआर परीक्षण गराई सोको सक्कल रिपोर्ट आयोगको केन्द्रीय कार्यालयको अन्तर्वार्ता तथा सिफारिस शाखामा अनिवार्य वुझाउन अनुरोध गरिन्छ।”