सर्वसम्मतिका लागि प्रचण्ड सक्रिय

prachanda-2
लाेकपाटी न्यूज

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक शनिबार दिउँसो १ बजे बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बराहीमा बस्ने छ।

त्यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजेको लागि सचिवालय बैठक बोलाइएको छ। सचिवालय बैठकले स्थायी कमिटीका एजेण्डाबारे अवधारणा तयार गर्ने जनाइएको छ।

बैठकमा सरकारका उपलब्धी, एकतापछिको पार्टीको अवस्था र आगामी कार्यभार लगायतका विषयमा दस्तावेज ल्याउने तयारी छ । पार्टी अध्यक्षद्वय ओली र प्रचण्डले जिल्ला पदाधिकारी र जनसंगठनको नेतृत्वबारे बैठकमा प्रस्ताव प्रस्तुत गर्ने बताइएको छ ।

प्रस्तावलाई आवश्यकताअनुसार परिमार्जन गर्न र सबैलाई स्वीकार्य बनाउने पहलमा प्रचण्ड लागेका छन् । केही दिनअघिको बैठक बहिष्कार गरेका ४ शीर्ष नेताले उठाएका माग र पार्टीलाई विधिसम्मत ढंगले सञ्चालन गरेर कसरी सुदृढ बनाउने भन्ने विषयमा दस्तावेज केन्द्रित हुने बताइएको छ ।

बैठक बहिष्कार गर्ने चार शीर्ष नेताले सरकारलाई संस्थागत ढंगले कसरी सञ्चालन गर्न सकिन्छ भन्ने लगायतका एजेण्डा उठाउँदै आएका छन् । उनीहरुले सरकार र पार्टी नेतृत्वबीच समन्वयको अभाव रहेको भन्दै पार्टीको निर्देशनमा सरकार चल्नुपर्ने अडान लिँदै आएका छन् ।

एकता प्रक्रिया लामो हुँदा तल्लो तहमा निरासा बढेको, विरोधीले खेल्ने ठाउँ पाएको भन्दै अध्यक्ष प्रचण्ड पार्टीभित्र सर्वसम्मत निर्णयका लागि प्रयासरत रहेको स्रोतले बतायो । प्रचण्डले पार्टीभित्र पूर्वएमाले र पूर्वमाओवादीको ‘ह्याङ्गओभर’ अन्त्य हुनुपर्नेमा जोड दिनेछन् ।

पछिल्लो समय सरकारले अपेक्षित गति लिन नसक्दा सरकारले गरेका राम्रा कामको पनि जनतामा सम्प्रेषण हुन सकिरहेको छैन । तसर्थ, प्रचण्ड सरकारका कामलाई सहयोग पुग्ने गरी सर्वसम्मत निर्णयका लागि सक्रिय रहेको नेताहरु बताउँछन् ।