संघीय मन्त्रीहरु मधेस दौडाहामा

Barsaman pun
लाेकपाटी न्यूज

नीरज पिठाकोटे/वीरगन्ज, २८ मंसिर । तीन तहको निर्वाचन सम्पन्न भएर संघीय प्रणालीमा मुलुक गइसकेपछि गठन भएको संघीय सरकारका मन्त्रीहरु अहिले प्रदेश नम्बर २ को मधेस दौडाहामा देखिएका छन् ।

निर्वाचन सम्पन्न भई संघीय सरकार गठन भएको वर्ष दिनपछि संघीय सरकारका मन्त्रीहरु एक हप्ताको बीचमा मधेस दौडाहामा देखिएका हुन् । संघीय सरकार र प्रदेश २ को सरकारबीच अझै शक्ति बाँडफाँडमा विवाद कायम रहेको बेला संघीय मन्त्रीहरु प्रदेश २ को भ्रमणमा आएका छन् ।

प्रधानमन्त्रीले आह्वान गरेको प्रदेश समन्वय परिषदको बैठक सकिएको केही दिनपछि संघीय मन्त्रीहरु प्रदेशका जनताको समस्याहरु बुझ्न प्रदेशमा आएका हुन् । मधेस आन्दोलनको समयमा मधेसमा प्रवेश निषेध गरिएका नेकपाका नेताहरु अहिले संघीय मन्त्रीहरुलाई लिएर मधेसी जनताको माझमा पुगेका छन् ।

उर्जा, सिँचाई तथा जलश्रोत मन्त्री वर्षमान पुन ‘अनन्त’, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल गरी तीन जना मन्त्री प्रदेश नम्बर २ मा पर्ने मधेसको विभिन्न जिल्ला दौडाहामा आएका छन् ।

मंसिर २७ गते बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्यमा अर्याल महोत्तरी र सर्लाहीको पाँचवटा कार्यक्रममा सहभागी भएकी थिइन् । प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा भएको विवाह पञ्चमीमा सहभागी हुन आएकी मन्त्री अर्याल बिहीबार आफ्नो मन्त्रालय अन्तर्गतको विषयगत कार्यालयहरुको अनुगमन निरीक्षणमा व्यस्त रहेकी थिइन् ।

उनले धनुषा र महोत्तरीको विभिन्न कार्यालयहरु तथा मन्त्रालयसँग सम्बन्धित विषयमा जनतासँग अन्तर्क्रिया समेत गरेकी थिइन् । त्यस्तै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेल पनि आफ्नो गृह जिल्ला महोत्तरीको भ्रमण गरे ।

प्रदेश नम्बर २ को शिक्षा सम्बन्धी कार्यक्रममा भाग लिन बाराको सिमरामा आएका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री पोखरेल गृहजिल्ला महोत्तरीको सुकुम्वासी समस्या सम्बन्धी कार्यक्रममा सहभागी हुन महोत्तरी पुगेको प्रेस संयोजक सुनिल खड्काले जानकारी दिए । कार्यक्रम सम्पन्न भएपछि मन्त्री अर्याल र पोखरेल दुवै जना बिहीबार नै काठमाडौं फर्किएका छन् ।

त्यस्तै उर्जा, सिँचाई तथा जलस्रोत मन्त्री बर्षमान पुन ‘अनन्त’ पनि प्रदेश २ को पर्सा, बारा, रौतहटको भ्रमणमा निस्किएका छन् । बिहीबार वीरगन्जको भिश्वा होटलमा नारायणी सिँचाई आयोजनाको समस्या र समाधान सम्बन्धि अन्तर्क्रियामा सहभागी भई शुक्रबार बिहानै बाराको दुधौरा खोला, जमुनिया सिँचाई आयोजना, अरुवा सिँचाई आयोजना, नारायणी नहर, बकैया बाँधको निरीक्षण, पचरौता शवस्टेसन, मौलापुर विद्युत प्रसारण शाखा कार्यालयको निरीक्षणपछि रौतहटको कटहरियामा बाँध र सिँचाईका विकासका लागि आयोजना गरिएको सभालाई सम्बोधन गरेका थिए ।

त्यसपछि माधव नारायण नगरपालिकाको मानपुर टोलको शवस्टेशन, बागमती बाँध निरीक्षण र चाँदी खोलाको तटबन्धको निरीक्षणपछि काठमाडौं फर्किएको स्वकीय सचिव सन्तोष पुनले जानकारी दिए ।

त्यस्तै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव पनि धनुषा पुगेका छन् । धनुषाधाम नगरपालिकाको धनुषाधाम उद्योग वाणिज्य संघको कार्यालयको उद्घाटन गर्न शुक्रबार मन्त्री यादव धनुषाको जनकपुर पुगेका हुन् । जनकपुरमा रहँदा मन्त्री यादवले धनुषामा निर्माण गरिने पोलिटेक्निक इन्स्टिच्युटका लागि जग्गा पनि हेर्ने कार्यक्रम रहेको छ ।

भारतीय समकक्षी धर्मेन्द्र प्रधान नेपाल भ्रमणमा आएको समयमा जनकपुरमा पोलिटेक्निक इस्टिच्युट खोल्नका लागि प्राविधिक सहयोग गर्ने दुईपक्षीय सम्झौता भएको थियो । सोही अनुसार जग्गा हेर्नका लागि प्राविधिक शिक्षा तथा व्यावसाय तालिम परिषद (सीटीईभीटी) का पदाधिकारी सहितको टोली लिएर जनकपुर गएको स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिए ।

उनले जनकपुर रहँदा आयल निगमको कार्यालयहरुमा पनि अनुगमन गर्ने कार्यक्रम रहेको स्वकीय सचिव विष्टले बताए । यसअघि जनकपुरमा भएको विवाह पञ्चमीमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई स्वागत गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारी जनकपुर आएर फर्किएका थिए ।

त्यस्तै भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुविर महासेठ पनि मङ्सिर १९ गते वीरगञ्ज आएका थिए । पर्सा र बाराको विभिन्न स्थानमा निर्माण हुन लागेको पुलको शिलान्यासका लागि पर्सा आएका थिए । उनले पर्सा र बाराको दुईवटा पुलको शिलान्यास गरेर फर्किए ।

सङ्घीय मन्त्रीहरु मधेस दोडाहामा रहँदा मधेसी जनतामा भने अब विकास हुनेमा आशावादी रहेका छन् । आपूmले भोट दिएर जिताई पठाएका जनप्रतिनिधिहरु घर आँगनमा फर्किएर नआए पनि सरकारको प्रतिनिधिहरु आउँदा मधेसमा विकास होला भन्ने अपेक्षा राखेका छन् ।