कर तिर्ने असार ७ को समयसीमा पनि अपर्याप्त छः गोपालमान श्रेष्ठ

gopal_man
लाेकपाटी न्यूज

काठमाडौं, २२ जेठः नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले कर तिर्ने असार ७ को समयसीमा समेत अपर्याप्त भएको बताएका छन्। सरकारले जेठ २५ गतेभित्र कर तिर्न भन्दै सूचना निकालेपछि चौतर्फी विरोध भएपछि असार ७ गतेसम्मको समय लम्ब्याएको छ।

जेठ २५ गतेभित्र कर चुक्ता गरिसक्नुपर्ने सरकारको निर्णयको विरोध भएपछि बुधबार सरकारले असार ७ गतेसम्मलाई समयसीमा लम्बाएको छ। तर, नेता श्रेष्ठले सरकारले तोकेको नयाँ समयसीमा पनि अपर्याप्त भएको बताएका छन्।

‘कोरना महामारीको त्रासमा सम्पूर्ण नागरिकहरु बन्दाबन्दीको अवस्थामा रहेको यस जटिल परिवेशमा सरकारले कर चुक्ताका लागि तोकेको समयसीमा र व्यापक विरोधपछिको थप दुई हप्ता समयावधि पनि अपर्याप्त छ,’ उनले भनेका छन्, ‘बन्दाबन्दीका कारण आम नागरिकहरु अत्यावश्यक सेवा सुविधा र दैनिक उपभोग्य बस्तुका लागि बजार जान सक्ने अवस्थासमेत नरहेको परिस्थितिमा सरकारले बाध्यकारी ढंगबाट कर चुक्ताका लागि गरेको ताकेता आफैमा गैरजिम्मेवार र दुःखद छ। सरकारले व्यवसायीहरुको माग अनुरुप उपयुक्त समयावधि दिन आवश्यक छ।’ उनले यस विषयमा कांग्रेसले सरकारको ध्यानाकर्षण समेत गरिसकेको बताएका छन्।