नेकपा बैठक : कस्तो बन्ला जिल्ला नेतृत्वको मापदण्ड ?

Nepal-Communist-Party
लाेकपाटी न्यूज

काठमाडौं, २९ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटिको बैठकको केही समयपछि पार्टी कार्यालय धुम्बाराहीमा बस्दैछ । तल्लो तहको एकताको मापदण्ड र सरकारको कामकारवाहीका विषयमा छलफल गर्न सत्तारुढ दल नेकपाको स्थायी कमिटि बैठक बोलाइएको हो ।

धुम्वाराहीस्थित पार्टी मूख्यालयमा दिउँसो १ बजेपछि बस्ने बैठकमा पार्टीको तल्लो तहका संगठनमा एकता र सरकारको कार्यप्रगतिका विषय उठाउने स्थायी समिति सदस्य अग्नी सापकोटाले जानकारी दिए । यस्तै एकता प्रक्रियाको विधि, प्रक्रिया र मापदण्ड तय गर्नुका साथै यसअघि सचिवालय बैठकले गरेका निर्णयहरु अनुमोदन गर्ने सापकोटाले बताए ।

तल्लो तहसम्म एकता प्रक्रिया नटुङ्गिदा संगठनको अवस्था दयनीय भएको र पार्टीका केही पनि गतिविधि हुन नसकेको दोस्रो तहका नेताहरुले गुनासो गर्दै आएका छन् । गत जेठ ३ गते तल्कालिन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएर नेकपा गठन भएपनि बल्ल प्रादेशिक समिति गठन भएका छन् ।

स्थायी समितिले एकता टुंगोमा पुर्याएपछि देशभर सभाहरु गर्ने नेकपाले यसअघि नै स्पष्ट पारिसकेको छ । प्रादेशिक समिति बनाउने निर्णय सचिवालयको प्रस्तावमा स्थायी समितिले गर्नुपर्नेमा सचिवालयबाटै निर्णय भएपछि आफूहरुको अधिकार खोसिएको भन्दै स्थायी समिति सदस्यले आपत्ति जनाएका छन् ।

राजनीतिक र सांगठनिक निर्णय स्थायी समितिबाट हुनपर्ने उनीहरुको माग छ । तल्लो तह, जनवर्गीय र भ्रातृ तथा शुभेच्छुक संस्थाको एकता नहुँदा पार्टी एकता भएको ७ महिना हुन लाग्दा समेत दुबै पार्टी तल्लो तहमा समानान्तर रुपमा चलिरहेका छन् ।