वैशाखबाट सिण्डिकेट पूर्णतः अन्त्य हुन्छ : मन्त्री महासेठ

Raghubir Mahaseth
लाेकपाटी न्यूज

काठमाडौं, १ पुस । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकार सबै मोर्चामा सफल भएको दाबी गरेका छन् । उनले भने, ‘हामी कुनैपनि मोर्चामा असफल भएका छैनौं । यो सरकार प्रत्येक मोर्चामा सफल भएको छ ।’

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै मन्त्री महासेठले सरकार गठन भएयता आवश्यक ऐन, कानुन, नियम र विधेयक बनाउन, र कर्मचारीको व्यवस्थापन गर्न दुई तिहाईभन्दा बढि समय खर्चिएको सुनाए । उनले भने, ‘यो सरकार गठन हुनुपुर्व मुलुक एकात्मक शासन व्यवस्थामा थियो । तर, हामी आएसँगै मुलुक संघीय शासन व्यवस्थामा प्रवेश गरेको हो । त्यसैले कानुन बनाउनमा हामीले बढी समय खर्चियौं ।’

उनले परराष्ट्र नीतिका सवालमा पनि वर्तमान सरकार सफल भएको दाबी गरे । ‘हामीले भारत र चीनसँगबाहेक संसारभरिका अन्य देशहरुसँग पनि सम्बन्ध सुधार गरेका छौं’ उनले थपे । पार्टीका बरिष्ठ नेताद्धय माधव कुमार नेपाल र झलनाथ खनालले सचेत गराउनका लागि र भविष्यमा दायाँ बायाँ नहोस् भनेर नै आफ्नो असन्तुष्टि पोखेको उनको स्पष्टोक्ति थियो ।

मन्त्री महासेठले भौतिक पूर्वाधार क्षेत्रमा पनि सरकारले धेरै फड्को मारेको दाबी गरे । उनले भने, ‘हामीले पूर्वाधार क्षेत्रको विकासमा पनि धेरै फड्का मारिसकेका छौं । तर, यो कुरा काठमाडौंमा बसेर हेर्न सकिँदैन । हामीले पूर्वाधार क्षेत्रमा हासिल गरेका फड्काहरु मिडियासामु ल्याउन सकेनौं । तर, यो क्षेत्रमा धेरै काम भइसकेका छन् । सडकहरु कालोपत्रे भएका छन् । दुई सयभन्दा बढी पुलहरु निर्माण गरेका छौं ।’

त्यस्तै नयाँ–नयाँ राजमार्ग निर्माणको कामहरु पनि थालनी गरिएको उनको जिकिर छ । उनले भने, ‘हामी आएपछि पूर्व–पश्चिम महेन्द्र राजमार्गलाई दुई लेनबाट स्तरोन्नति गर्दै चार लेन पुर्याउने निर्णय गर्यौं । र, अहिले दुई ठाउँबाट काम भइरहेको छ । बुटवलदेखि नारायणघाटसम्म काम भइरहेको छ । र, कमलादेखि कोशी व्यारेजसम्म अर्को महिनामा निर्माण फेज सुरु हुन्छ ।’

त्यस्तै, भुकम्पपछि बन्द भएको अरनिको राजमार्गपनि आगामी मे महिनाभित्रै सुचारु गर्ने उनले जनाए । उनले भने,‘रसुवागढीदेखि स्याफ्रुबेसी मैलुङ हुँदै टोखासम्मको सडकपनि हामी आगामी डेढ वर्षभित्रै सम्पन्न गर्न गैरहेका छौं ।’ चीनसँगको कनेक्टिभिटी पनि जोडिन गइरहेको उनले सुनाए । उनले भने, ‘बेनी–जोमसोम कोरला राष्ट्रिय गौरवको योजना छ, त्यो पनि हाम्रो करिब करिब ५५ प्रतिशत काम सम्पन्न भइसकेको छ । बढीमा दुई वर्षभित्र सम्पन्न गर्न गइरहेका छौं ।’

मदन भण्डारी राजमार्गको काम पनि युद्धस्तरमा भैरहेको उनले सुनाए । त्यस्तै मध्यपहाडी लोकमार्गको कामपनि ३५ प्रतिशत सम्पन्न भइसकेको मन्त्री महासेठले बताए । तराई–मधेशको लाईफ लाईनको रुपमा रहेको हुलाकी राजमार्ग पनि आगामी चुनावसम्म त्यही राजमार्ग हुँदै भोट हाल्न जाने अवस्था सिर्जना गराउने उनले स्पष्ट पारे ।

उनले आफूहरुले सिण्डिकेट तोडेको सुनाउँदै अझै पनि पूरानो कानूनका कारण बसहरु कम्पनीमा आउन नसकेको गुनासो पोखे । उनले भने, ‘अहिलेसम्म दश १२ हजार बसहरुमात्रै कम्पनीमा आएका छन् । लाखौं बसहरु आउन बाँकी छन् ।’ त्यस्तै उनले आफू नेतृत्वको मन्त्रालयले यातायात क्षेत्रलाई व्यवस्थित गर्नको लागि यातायात प्राधिकरण गठन गर्ने प्रक्रिया अगाडि बढाइसकेको पनि सुनाए ।

महासेठले भने, ‘यसको लागि हामीले समिति बनाइसकेका छौं । यो समितिले आउने साताभित्रै प्रतिवेदन दिन गैरहेको छ । अब नेपालको यातायातलाई प्राधिकरणले नै सञ्चालन गर्छ । सरकारले त नीति, नियम र नियमन मात्रै गर्छ । प्राधिकरण पब्लिक–प्राईभेट पार्टनरसिप मोडलमा चल्छ । आगामी बैशाख १ गतेदेखि नै प्राधिकरणकै मातहातमा बसहरु सञ्चालन हुन्छन् । यसको लागि हामीले प्रक्रिया अघि बढाईसकेका छौं । प्राधिकरण गठनसँगै हामीले ठूलो फड्को मार्छौं ।’