लमजुङ जिल्ला प्रशासन : गाउँ–गाउँमा घुम्ती शिविर

Jhanka Dhakal
लाेकपाटी न्यूज

काठमाडौं । लमजुङ जिल्लाको कर्णाली पनि भनिने पूर्वी भागमा अवस्थित दूधपोखरी गाउँपालिकाका बिचौर, दूधपोखरी, इलमपोखरी लगायतका क्षेत्रका बासिन्दाले सरकारी निकायबाट प्राप्त गर्नुपर्ने सेवा लिन धेरै कठिनाई हुदैं आइरहेको छ ।

ट्रयाकमात्र खुलेको अत्यन्त अप्ठ्यारो सडक, सवारी साधनको सहज पहुँच नभएको अवस्था र यदाकदा सवारीसाधन पाइहाले पनि लगभग एकतर्फी भाडा नै एक हजारभन्दा बढी रहेको अवस्था छ । जसका कारण सो क्षेत्रका बासिन्दा नभई नहुने नागरिकता राहदानी, उद्योग व्यवसाय दर्ता अनि अन्य सरकारी निकायबाट प्रदान गरिने सेवा लिनका लागि ऋण नै काढेर आउनुपर्ने अवस्था छ । हुन त त्यहाँ टाढा वा नजिक सरकारी निकाय छन् । तर, दुर्गमताका कारण कर्मचारीको रोजाई सो क्षेत्रमा नपर्दा सामान्य सेवाका लागि समेत जनसमुदायले कठिनाई भोग्नु परिरहेको छ ।

यसै कुरालाई मध्यनजर गरी लमजुङ प्रशासनले मंसिर ५ गतेको कार्यालय प्रमुखको बैठकबाट मंसिर २८ र २९ गते दूधपोखरी गाउँपालिकाको विचौर र गौंडामा घुम्ती शिविर गर्ने तय गर्यो । शिविरको व्यवस्थापन र जनसमुदायमा सोको बारेमा जानकारी दिन दूधपोखरी गाउँ कार्यपालिकालाई अनुरोध गर्यो भने जिल्लाका सम्बद्ध कार्यालय र निकायलाई पनि सोही अनुरुप तयारी गर्न निर्देशित गर्यो भने स्थानीय सञ्चार माध्याममार्फत् शिविर सम्बन्धी सूचना निरन्तर रुपमा प्रचार प्रसार गर्यो ।

आवश्यक तयारीपश्चात् जिल्ला सदरमुकामबाट मंसिर २७ गते टोली त्यसतर्फ प्रस्थान गर्यो । करिब ४५÷५० जनाको टोली करिब साढे छ घण्टाको लामो यात्रापश्चात् बिचौरमा पुग्यो । स्थानीय जनसमुदायको फूलमाला, मकै, भटमास र खट्टे अनि चिसो मौसममा तातो चियासहितको न्यानो स्वागतले टोलीलाई थकाई बिसिएर सेवा प्रदान गर्ने उर्जा मिल्यो ।

स्थानीय जनप्रतिनिधि र कर्मचारीहरुको अनौपचारिक स्वागतपश्चात् शिविर सञ्चालनको मोडालिटी सहितको तयारी बैठक सम्पन्न भयो । दूधपोखरी गाउँपालिका जनप्रतिनिधि, कर्मचारी, इलाका प्रहरी कार्यालय बिचौरका प्रहरी कर्मचारी र स्थानीय जनसमुदायको हप्तौदेखिको अहोरात्र खटाइका कारण ४५÷५० जनाको जम्बो टोलीका लागि खाने बस्ने व्यवस्थामा कुनै कमि थिएन ।

सेवाको व्यग्र प्रतिक्षामा रहेका स्थानीय जनसमुदाय बिहान ६।३० बजे नै सेवाका लागि लाइन लागिसकेका थिए । टोलीका कर्मचारीहरु पनि बिहानको खाजा नास्ता लिई ७ बजे नै सेवा प्रदान गर्नका लागि तयारी अवस्था थिए । सेवा लिनका लागि वर्षौंदेखि नागरिकता नपाएका महिला, दलित, अपाङ्गता भएका व्यक्ति, अशक्त सहितको भीड नै लागेको थियो ।

जति पछि उति नै सेवाग्राहीको चाप बढ्दै गइरहेको थियो । फाँट सम्हाल्ने कर्मचारीले खाना खाने समय समेत पाइरहेका थिएनन् । ती साथीहरुलाई खाने खाने पालो दिनका लागि प्रमूख जिल्ला अधिकारी झङ्क ढकालसहित सबै सुरक्षा निकायका प्रमुखहरुले नै फाँट सम्हाली कामलाई निरन्तरता दिइरहे । किनकि सोही दिन नै बिचौरको सेवा सकेर भोलिपल्ट गौडामा पुग्ने टोलीको कार्यतालिका थियो ।

जनताको उत्साहजनक सहभागिताले कर्मचारीहरुमा उर्जा थपेको थियो । खासगरी प्रतिलिपी नागरिकता समेत गाउँमै पाउँदा जनतामा थप उत्साह थपेको थियो । एउटा सामान्य दलित जनजाति सिफारिसका लागि समेत ठूलो खर्च गरी सदरमुकाम आउनुपर्ने अवस्थामा सो सिफारिस सोही स्थानमा पाउँदा स्थानीय युवाहरु खुशी देखिन्थे । साँझको ६ बजे बल्ल सेवाग्राहीको चाप घटेको थियो ।

jhanka dhakal 2

करिब ६.१५ बजे टोली बिचौरको शिविर सकेर गौंडाका लागि प्रस्थान गर्यो । दिनभरको थकान, अप्ठ्यारो र जोखिमयुक्त सडक पार गरी करिब साढे तीन घण्टाको यात्रापश्चात् टोली गौंडा आइपुग्यो । दूधपोखरी गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी र गौंडा प्रहरी चौकीका कर्मचारीहरुको व्यवस्थापनमा गौंडामा खाना बस्नको व्यवस्था भयो । २९ गते ८.०० बजेदेखि नै बिहानदेखि शिविर शुरु भई साँझ ५.०० बजेसम्म सेवा जारी रह्यो ।

घरदैलौमै सेवा पाउँदा जनतामा हर्षको सीमा नै थिएन । शिविर सम्पन्न गर्न अहोरात्र खटिएका दूधपोखरी गाउँपालिका वडा नं.–२ बिचौरका वडा अध्यक्ष गोविन्द दवाडीले आफ्नो अनुभव राखे । उनले भने, ‘बल्ल पो सरकारको अनुभूति भयो । जनताले यस प्रकारको सेवा बिरलै मात्र पाएका होलान् । जनताले यस प्रकार प्राप्त गरेको सेवाको जति प्रशंसा गरे पनि कमै हुन्छ ।’

घुम्ती शिविरमा जिल्ला प्रशासन कार्यालयबाट १७५ जनालाई नयाँ नागरिकता र ८९ जनालाई प्रतिलिपी नागरिकता गरि जम्मा २६४ वटा नागरिकता वितरण गरिएको छ भने ४७ वटा दलित र जनजाति सिफारिस गरिएको छ । १ जनाको व्यक्ति एउटै भएको सिफारिस गरिएको छ । यस क्रममा जिल्ला निर्वाचन कार्यालयबाट १८९ जनाको फोटोसहितको मतदाता नामावलीका लागि नाम दर्ता गरिएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालयबाट ११ वटा नयाँ मदिरा विक्री वितरण इजाजतपत्र जारी गरिएको छ भने २ जना सेवाग्राहीको पेनशनको हिसाब मिलान गरिएको छ ।

घरेलु तथा साना उद्योग विकास समितिबाट १९ वटा उद्योग र २१ वटा वाणिज्य दर्ता र १ जनाको वाणिज्य नवीकरण सेवा प्रदान गरिएको छ । स्वास्थ्य कार्यालयबाट जम्मा ३२९ जनालाई स्वास्थ्य सेवा प्रदान गरिएको छ । जसमा ४३ जना महिलाको पाठेघरको मुखको क्यान्सर स्क्रिनिङ सेवा सेमत रहेको छ । कृषि ज्ञान केन्द्रबाट ५३० सेट तरकारी बीउ वितरण (कांक्रो, मूला, धनिया रायो, सिमी) र परामर्श सेवा प्रदान गरिएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट ११६ घरधुरीका ८१६ पशुवस्तुलाई औषधी वितरण, २ वटा कुकुरलाई रेविज विरूद्वको भ्याक्सिन, १ वटा पशुको स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको छ ।

नेपाल टेलिकमबाट ११३ वटा प्रिपेड सिमकार्ड र ८ वटा पोष्टपेड सिमकार्ड वितरण गरिएको छ । लमजुङ उद्दोग वाणिज्य संघबाट २९ वटा पान नम्वर प्रदान गरिएको थियो । जिल्ला प्रशासन कार्यालय लमजुङबाट मंसिर २८ गते बिचौरमा एक दिनमै १७५ जनालाई नागरिकता वितरण गरिएको छ । यसरी लमजुङ जिल्ला प्रशासन कार्यालयको योजनामा जनताकै घरमा सेवा प्रवाह गरिएको हो ।