महासमिति बैठक : ‘गुट भत्काउँ, काङ्ग्रेस बन्छ’

Congress Meeting
लाेकपाटी न्यूज

काठमाडौँ, २ पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकमा सहभागी अधिकांश महासमिति सदस्यले सङगठन, पार्टीको वृहत्तर एकता र राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै नयाँ विधान बनाउन जोड दिएका छन् ।

सङगठन सुदृढ गर्ने गरी जनता र देशको हितलाई प्राथमिकतामा राखेर आर्थिक, सामाजिक, राजनीतिक प्रस्ताव समयानुकुल बनाउन पनि उनीहरुले सुझाव दिएका छन् । कार्यकर्ताको भावना अनुरुप गुट उपगुट अन्त गरी समग्र एकता कायम गर्नुपर्ने उनीहरुको जोड छ ।

काङ्ग्रेस भक्तपुरका सभापति दुर्लभ थापाले हिमाल–तराई, पहाड, मुुसलमान, महिला, आदिवासी जनजातिलगायत महासमिति सदस्यले मुलुकको हितलाई केन्द्रबिन्दुमा राखेर विधान बन्नुपर्ने माग राखेको जानकारी दिए । “सत्य, निष्ठा र इमान्दारिताको पक्षमा स्वाभिमानीपूर्वक उभिनसक्ने सवल र सक्षम नेपाली तयार हुने अनुकूलको नयाँ विधान र सङ्गठन संरचना बनाउँदै लानुपर्छ,” उनले भने ।

लामो समयदेखि हुन नसकेको काङ्ग्रेस महासमितिको बैठक मङ्सिर २८ गतेदेखि राजधानीमा जारी छ । बैठकमा महासमिति सदस्यले सङगठन, मुलुकको राजनीतिक अवस्था र बैठकमा राखिएका राजनीतिक, आर्थिकलगायतका प्रस्तावमा आ–आफनो धारणा राख्ने क्रम जारी छ । छलफलमा अधिकांश सदस्यले पार्टीको विधानमा एक व्यक्ति एक पद, समावेशीता, आर्थिक पारदर्शिता, क्षमता र नीतिलाई कार्यान्वयनमा लैजान जोड दिएको महासमिति सदस्य ईश्वरी ओझाले जानकारी दिए ।

मौजुदा विधानलाई विस्थापित गर्दै नयाँ विधानलाई वैज्ञानिक र समावेशी बनाउन जोड दिइएको बताइएको छ । सप्तरी–३ का डा. अनिलकुमार झाले पार्टीको राजनीतिक र सैद्धान्तिक आधार बलियो बनाउनुपर्नेमा जोड दिए । बैठकमा उपस्थित महासमिति सदस्यमा उत्साह त देखिन्छ, साथसाथै देश, जनता र पार्टीप्रतिको चिन्ता प्रकट भएको पाइन्छ । पार्टीलाई गुट–उपगुटबाट माथि उठाउनुपर्ने उनीहरुको सुझाव छ ।

बैठक पुस ३ गतेसम्म चल्नेछ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकमा यसअघिका २४० निर्वाचन क्षेत्रबाट निर्वाचित महासमिति सदस्य, पार्टीको केन्द्रीय समिति, भ्रातृ र शुभेच्छुक संस्था, विदेशस्थित जनसम्पर्क समितिका प्रतिनिधि, मनोनीत महासमिति सदस्य, निवर्तमान केन्द्रीय सदस्य तथा पर्यवेक्षक गरी झण्डै एक हजार ७०० प्रतिनिधि सहभागी छन् । रौतहट–४ बाट उपस्थित भएकी महासमिति सदस्य शुभद्रा गुप्ताले बिपी कोइरालाको आदर्श र सिद्धान्तलाई बिर्सेर पार्टीमा पैसावाला, ठेकेदार र पूँजीपति वर्गलाई पार्टीले स्थान दिएकोमा चिन्ता व्यक्त गरिन् ।

काभ्रे जिल्लाबाट प्रतिनिधित्व गरेका महासमिति सदस्य गणेश लामाले शीर्ष नेतृत्वले स–साना गुट–उपगुटलाई एकीकृत गरी भावनात्मक रुपमा एकपद एक व्यक्तिको अवधारणालाई अवलम्बन गर्दै पार्टीलाई एक ढिक्का बनाउनुपर्ने बताए । छलफलमा काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिको राजनीतिक प्रतिवेदन, सहमहामन्त्री डा. प्रकाशशरण महतको आर्थिक प्रतिवेदन, डा. शशाङ्क कोइरालाको साङ्गठनिक प्रतिवेदन र सीतादेवी यादवले पेश गरेको आर्थिक प्रतिवेदनमा छलफल जारी छ ।

“नीति राम्रो लेखिँदैमा पार्टीको शुद्धीकरण हुँदैन, पार्टी सुदृढीकरणका लागि राम्रो नीति कार्यान्वयन महत्वपूर्ण कुरा हो, कार्यकर्ताको भावना बुझेर शीर्ष नेतृत्वमा एकता हुनुपर्छ,” सुनसरी–६ का महासमिति सदस्य मोहमद नइमुद्धिन खाँले बताए ।Congress Meeting

सप्तरीबाट आएकी पवनी खङ्गले विभिन्न जातजाति भाषाभाषीलाई पार्टीको विधानमा उच्चस्थान दिनुपर्ने बताए । “संविधान संशोधन गरेर सबैको पहिचानको प्रतिनिधित्व गराउन पार्टी एक ढिक्का भई अघि बढ्नुपर्छ,” उनले भने । भक्तपुरका महासमिति सदस्य विष्णुराज कार्कीले शिक्षा र स्वास्थ्य राज्य नियन्त्रित गर्दै अन्य क्षेत्रलाई आर्थिक उदारीकरणमार्फत् आर्थिक समृद्धिका कार्यक्रम अगाडि बढाउने नीति ल्याउनुपर्ने बताए ।

सल्यान–१ का ध्रुवराज पुरीले विधान मुख्य समस्या नभई नेतृत्वको नियतमा कमजोरी भएकाले काङ्ग्रेसमा समस्या देखिएको बताए । उदयपुरका ६५ वर्षीय हरिबहादुर खड्काले पार्टीमा त्याग गर्ने कार्यकर्तालाई जवाफदेही र जिम्मेवारी बनाउँदै पार्टीलाई अगाडि बढाउनु आजको आवश्यकता भएको बताए ।

रोल्पा–१ का महासमिति सदस्य मनोजमणि आचार्यले राज्यको आफ्नो धर्म नभए पनि धार्मिक स्वतन्त्रताको पक्षमा पार्टी अडिग हुनुपर्ने बताए । “ जबर्जस्ती धर्म परिवर्तन गराउनु आपत्तिजनक हो,” उनले भने । महासमितिले एउटा महाधिवेशन समाप्त भई अर्को महाविधेशन प्रारम्भ नहुँदाको अवस्थामा केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यको निर्वाचनबाहेक महाधिवेशनको सबै कार्य गर्ने पार्टी विधानमा उल्लेख छ ।

त्यस्तै विधानको दफा २० मा महासमितिको साधारण बैठक प्रत्येक एक वर्षमा एकपटक हुने उल्लेख भए पनि वि.सं. २०७२ मा सम्पन्न पार्टीको १३औँ महाधिवेशनपछि हुन लागेको यो पहिलो महासमिति बैठक हो । विधानअनुसार महाधिवेशन हुने वर्षमा भने महासमितिको बैठक हँुदैन ।