महासमिति बैठकमा विधान मस्यौदा पेश गर्न माग

Congress Meeting
लाेकपाटी न्यूज

काठमाडौँ, पुस । नेपाली काङ्ग्रेसको जारी महासमिति बैठकका सहभागीहरुले पार्टीको विधान मस्यौदामा पदाधिकारीको विषयलाई लिएर विवादमा नअल्झिन नेतृत्वको ध्यानाकर्षण गराएका छन् ।

महासमिति बैठकको तेस्रो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको विवादले प्रतिवेदन पेश हुन सकेको छैन । महासमिति सदस्यहरुले प्रतिवेदनमा सहमति कायम गरी शिघ्र बैठकमा पेश हुनुपर्ने माग गरेका छन् । काङ्ग्रेस विधान मस्यौदामा पदाधिकारी सङ्ख्या र पदाधिकारीको चयन प्रक्रियाबारे बहस जारी छ ।

संस्थापन पक्ष पदाधिकारी सङ्ख्या बढाउन नहुने र बढाए पनि सबैको निर्वाचन गर्न नहुने पक्षमा छ । संस्थापन इतर पक्ष भने केन्द्रीय कार्यसमितिको सङ्ख्या बढाएसँगै पदाधिकारी सङ्ख्या पनि बढाउनुपर्ने र सबै पदाधिकारी निर्वाचित हुनुपर्ने अडानमा छ । विधान मस्यौदामा १४१ सदस्यीय केन्द्रीय समिति बनाउने लगभग सहमति भइसकेको छ ।

विधान मस्यौदा प्रतिवेदन पारित गर्न पार्टीको केन्द्रीय कार्यसमिति बैठक बस्ने भएपछि सोमबार महासमिति बैठक झण्डै तीन घण्टा स्थगन गरिएको थियो । तर, पार्टी शीर्ष नेतृत्वबीच उक्त विषयमा कुनै सहमति नभएपछि केन्द्रीय कार्यसमिति बैठक बस्न सकेन । यस अघि गत मङ्सिर १३ देखि २२ गतेसम्म पार्टी केन्द्रीय कार्यसमितिमा विधान मस्यौदाबारेमा छलफल भएको थियो ।

सोमबारको महासमिति बैठकपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने र विधान मस्यौदाको प्रतिवेदन पारित गरी मंगलबार पेश हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् । कैलालीका महासमिति सदस्य नारायणदत्त मिश्रले नेतृत्वलाई पदाधिकारी सङ्ख्या जति बनाए पनि पार्टीलाई एकढिक्का र बलियो बनाउन आग्रह गरे । महासमिति सदस्यलाई जिल्लामा काम गर्ने भूमिका दिनुपर्ने उनको तर्क थियो ।

चितवनका महासमिति सदस्य टेकप्रसाद गुरुङले सबै नेता वडास्तरबाटै निर्वाचित हुनुपर्ने व्यवस्था गर्नुपर्ने धारणा राख्दै नेतृत्वले सबै कार्यकर्तालाई समान रुपमा हेर्नुपर्ने बताए । सुनसरीका महासमिति सदस्य हाजी अब्दुल रहिमले तेस्रो दिनसम्म पनि विधान मस्यौदा प्रतिवेदन बैठकमा पेश नभएको गुनासो गर्दै पदाधिकारी सङ्ख्या जति राखेपनि चाँडो सहमति गर्न नेतृत्वलाई ध्यानाकर्षण गराए ।