प्रहरी र तस्करको झडपमा ४ घाइते

Nepal Police
लाेकपाटी न्यूज

पर्सा, ३ पुस । पर्सामा तस्कर र स्थानीयले प्रहरीलाई आक्रमण गरेका छन् ।

गएराति भएको आक्रमणमा दुई प्रहरी निरीक्षकसहित ४ प्रहरी घाइते भएका छन् । घाइते हुनेमा प्रहरी सहायक निरीक्षक विष्णु देव यादव, जयकिशन महताे, प्रहरी हवल्दार प्रेम राना र जवान अर्जुन चौधरी रहेका छन् । विशेष सुचनाका आधारमा पर्साको जगननाथपुर गाउँपालिकास्थित पाँडेपुरबाट भारततर्फ डिजेल तस्करी भइरहेको थाहा पाएपछि नियन्त्रण गर्ने क्रममा प्रहरीमाथि आक्रमण भएको हो ।

तस्करहरुलाई स्थानीयले समेत सहयोग गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । तस्कर र स्थानीयको समूहले प्रहरी चौकी घेराउ गरी आक्रमण गरेको बताइएको छ ।

घाइतेको वीरगञ्जको एसएल न्यूरो एण्ड जनरल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुईवटा मोटरसाइकलमा पेट्रोल र डिजेल लोड गरी भारततर्फ लैजान खोज्दा आक्रमण भएको हो ।