निर्माण सम्पन्न नहुँदै चिरियो कालोपत्रे

Pich
फाइल फोटो
लाेकपाटी न्यूज

महोत्तरी, ३ पुस । निर्माणकार्य सम्पन्न नहुँदै महोत्तरीको गौशाला सम्सी सडकखण्डको पिच (कालोपत्रे) सडक भागमा चिरा पर्न थालेको छ । गौशाला निगौल चोकभन्दा दक्षिणतर्फको विभिन्न स्थानमा कालोपत्रे निर्माणकार्य जारी रहँदै सडकको विभिन्न ठाउँमा चिरा पर्न थालेको हो ।

स्थानीयबासी सुरेन्द्रकुमार सिंहका अनुसार रातिको समयमा सडकको क्षमता भारभन्दा बढी तौलका टिपर निर्वाध गुडेपछि सडकमा चिरा पर्न थालेको हो । पछिल्लो समयमा स्थानीयबासीले प्रहरीको सहयोगमा सडक बिग्रन नदिनका लागि भारी क्षमताको सवारीसाधन चलाउनमा रोक लगाउँदै आएको सिंहले बताए ।

हुलाकी सडकको निर्माणका क्रममा सडक विभागले दिएको निर्देशन विपरीत सो सडकमा पछिल्लो समयमा ३० टन बराबरको तौलका १० चक्के सवारीसाधन चलेको गौशाला बडा नं– २ का वडा सदस्य कुमरकान्त झाले जानकारी दिए । सडकमा हाल दैनिक रुपमा ५९ वटा टिपर सञ्चालनमा रहेको झाले बताए ।

आफूले आइतबार यस सम्बन्धमा नगर कार्यपालिकाको बैठकमा प्रस्ताव राखे पनि सो उपर ठोस् निर्णय हुन नसकेको झाले बताए । इलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर आचार्यले सडकमा चल्ने सवारी साधनको भार क्षमताको निगरानी गर्ने कार्य प्रहरीको नभएको बताए । यसको निगरानी जिल्ला प्रशासन कार्यालय, हुलाकी सडक विभागको रहेको प्रहरी निरीक्षक आचार्यले बताए ।

सडक निर्माणको क्रममा गुणस्तरीय कार्य हुन नसक्दा सडक बिग्रन थालेको गौशाला नगरपालिकाका नगरप्रमुख शिवनाथ महतोले स्वीकारेका छन् । आइतबारको नगरकार्यपालिकाको बैठकमा समेत केही बेर यस विषयमा छलफल भएकोले आफूले यस सम्बन्धमा सम्बन्धित निकायलाई निगरानी गर्नका लागि अनुरोध गर्ने नगरप्रमुख महतोले बताए ।

स्थानीयबासीले सडक अवरुद्ध गरेर विकास निर्माणमा अवरोध नगरी सरोकारवाला निकायलाई समयमै सचेत गराएर समस्या समाधानको लागि पहल गर्न नगरप्रमुख महतोले सबैमा अनुरोध गरेका छन् ।