पर्वतका विष्णुको जीवन बचाइदिन परिवारको याचना

parbat patient
लाेकपाटी न्यूज

पर्वत । पर्वतको कुश्मा नगरपालिका १२ ठूलीपोखरीका विष्णु परियारका दुवै मृगौलाले काम नगरेपछि आफ्नो जीवन बचाई दिन सहयोगको लागि आग्रह गरेका छन् ।

दुवै मृगौलाले काम नगरेपछि मृगौला प्रत्यारोपण गर्न र डायलोसिस गर्नका लागि आवश्यक पर्ने रकम जुटाइदिन आग्रह समेत गरेका छन् । चरम आर्थिक अभावका कारण उपचार गर्न नसक्ने अवस्थामा रहेकाले उनले सहयोगको अपील गरेका हुन् ।

घरको आर्थिक अवस्था कमजोर भएका कारण उनी रोजगारीको शिलशिलामा दुई वर्ष अगाडी मलेसिया पुगेका थिए । मलेशियामै रहँदा दुवै मृगौलामा समस्या देखा परेपछि नेपाल फर्किएका हुन् । मृगौलाको समस्या देखिएपछि उपचारको क्रममा दुवै मृगौला फेर्नुपर्ने भएको डाक्टरहरुको भनाइपछि परिवार सहयोगको अपील गर्दै विभिन्न ठाउँमा पुगेका छन् ।

परियारका बाबु डिलबहादुर दमाई उपचारका लागि सहयोग गरिदिन आग्रह गर्दै विभिन्न ठाउँमा गए पनि ठूलो रकम जुटाउन समस्या भएकाले सञ्चार माध्यमको सहारा लिएका छन् । उनको उपचारका लागि पहिलो चरणमा ६ लाख रुपैंयाँ लाग्ने बताइएको छ। सो रकम जुटाउन विभिन्न संघसंस्था तथा व्यक्तिहरुसँग सहयोग मागेको भए पनि जुटाउन गाह्रो भएको छ ।

‘मिडियामा समाचार आए सबैको सहयोग पाउने थिएँ’ उनले भने । बाबु डिल बहादुरको मृगौला मिलेकाले उनले आफ्नो मृगौला दिएर बचाउने प्रयत्नमा छन् । तर, मृगौला दिएर पनि खर्च जुटाउन समस्या भएपछि दिनरात सहयोगदाताको खोजीमा भौँतारिँदै छन् ।

मृगौला दिएर पनि ६ लाख रुपीयाँ खर्च अस्पताललाई बुझाउन पर्छ साथै डायलोशिस, नियमित उपचार र औषधि गरि मासिक १ लाख बढि खर्च लाग्ने डाक्टरहरुले बताएका छन् ।

लामो समयदेखि बैदेशिक रोजगारीमा गएर जोडेको केही धन र जग्गा समेत उपचारमा सकाएका परियारको दैनिकी कपडा सिलाएर बित्ने गरेको छ । एक छोरा र एक छोरी समेत रहेका उनको परिवारमा श्रीमतिले कपडा सिलाएर छोराछोरीको पढाई खर्च चलाउँदै आएकी छिन् । कमाउने मान्छेनै रोगले थला परेर अस्पतालमा भर्ना परेपछि उनको परिवारमा ठूलो संकट परेको छ ।

परियारको उपचारका लागि सहयोग गर्न चाहाने महानुभावहरुले गण्डकी विकास बैंकको खाता नं. ००७०१७०००२९४२१०००००१ मा रकम जम्मा गरेर आर्थिक सहयोग गर्न सक्ने गरि खाता सञ्चालन समेत गरिएको छ । परियारको जीवन बचाउका लागि उक्त खातामार्फत् सहयोग गर्न सकिनेछ ।