भृकुटीमण्डपमा ‘सेमि–परमानेन्ट स्टल’ राख्छौं : मन्त्री थापा

thammaya thapa 4
लाेकपाटी न्यूज

काठमाडौं, पुस । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले मुलुकमा गणतन्त्र आए पनि अहिलेसम्म नेपाली जनताको सोच र संस्कारमा परिवर्तन नआएको गुनासो पोखेकी छिन् ।

उनले भनिन्, ‘अझैपनि हामीहरुसँग पितृसतात्मक सोच छ । महिलाहरुले अझै पनि आफ्नो हक र अधिकार प्राप्तिको लागि संघर्ष गरिरहनु परेको अवस्था छ । मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रात्मक अवस्थामा पुगिसक्दा पनि हामी नेपालीहरुको सोचमा व्यवस्थाअनुसार परिवर्तन आएको छैन ।’

काठमाडौं निम्न व्यापारी संघ भृकुटिमण्डप खुल्लाबजारको २६ औं स्थापना दिवसका अबसरमा सोमबार काठमाडौमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएकी हुन् ।

जनतासँग सरोकार राख्ने कानून निर्माणले तिव्रता पाउने उनको भनाइ छ । उनले जनतासँग सरोकार राख्ने केही कानुन निर्माण भइसकेको र अब बाँकी कानून निर्माणको कामले तिव्रता पाउने बताइन् ।

मन्त्री थापाले संघीय संरचनाको स्थापित भइसकेपछि मौलिक हकसँग सम्बन्धित काम बनाइसकेको बताइन् । उनले निर्वाचनका बेला जनतासँग गरेका प्रतिवद्धताहरु पनि सरकारले क्रमशः पूरा गर्दे लैजाने विश्वास दिलाइन् ।

संविधान र कानूनमा भएका विषयहरुलाई कार्यान्वयनका लागि नीति बनाएर अघि बढाउने क्रममा सरकार रहेको पनि उनले जनाइन् । मन्त्री थापाले जनताको हक र हितका लागि नै सरकार आफ्नो काममा केन्द्रित भएको जिकिर गरिन् ।

त्यस्तै मन्त्री थापाले भृकुटीमण्डप खुल्लाबजारमा त्रिपालको स्टल हटाएर यही वर्षभित्र ‘सेमि–परमानेन्ट स्टल’ राख्ने प्रतिबद्धता पनि व्यक्त गरिन् । स्थापना दिवसका अवसरमा संघले बृहत्त रक्तदान कार्यक्रमको समेत आयोजना गरेको संघका अध्यक्ष लक्ष्मीप्रसाद ओलीले जानकारी दिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्