कांग्रेसमा देउवाभन्दा कमल थापा शक्तिशाली, के भन्छन् १४ महासमिति सदस्य ?

deuwa and kamal thapa
लाेकपाटी न्यूज

काठमाडौं, पुस । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महासमिति बैठक चलिरहेको छ । महासमिति बैठकमा नेपाललाई हिन्दू राज्य बनाउनुपर्ने माग निकै चर्कोसँग उठेको छ । महासमिति सदस्यहरुले हिन्दू राज्यको पक्षमा हस्ताक्षर संकलनसमेत गरिरहेका छन् ।

१७०० केन्द्रीय सदस्यमध्ये हालसम्म ८९१ जनाले हिन्दू राज्यको पक्षमा हस्ताक्षर गरेको नेताहरुको दावी छ । संविधानमा नेपाल धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख छ । कांग्रेस सभापति सुशील कोइरालाको प्रधानमन्त्री कालमा बनेको संविधानमा कांग्रेसकै नेताहरुले आपत्ति जनाउनु संविधानको स्वामित्व लिन कांग्रेस चुकेको विश्लेषणसमेत गरिँदैछ ।

कांग्रेसका मुस्लिम, जनजाति, महिला, मधेशी लगायतका समुदायबाट प्रतिनिधित्व गर्ने महासमिति सदस्यहरु भने धर्मनिरपेक्षताको पक्षमा देखिएका छन् । उनले हिन्दू राज्यको मुद्दाले कांग्रेसको हालत राप्रपाको जस्तै हुने चेतावनी दिएका छन् । संविधानबाट पछि हटे कांग्रेसको भविष्य अन्धकार हुने उनीहरुको तर्क छ ।

कतिपय महासमिति सदस्यले कांग्रेसमा सभापति शेरबहादुर देउवाभन्दा राप्रपा अध्यक्ष कमल थापा बलियो भएको भन्दै व्यङ्ग गर्न थालेका छन् । अहिले आधिकारिक रुपमा हिन्दू राज्यको मुद्दा बोक्ने पार्टी थापाको राप्रपा मात्रै हो । कमल थापाले कांग्रेसको महासमिति बैठकमा खेल्न खोजेको उनीहरुको आरोप छ । महामन्त्री डा. शशांक कोइराला नै संविधानको विरोधमा उभिएपछि देउवालाई थप सकस परेको छ ।

बैठकमा महासमिति सदस्यहरुले आफ्नो धारणा सार्वजनिक गरिरहेका छन् । सोमबार रिपोर्टर्स क्लबमा १४ जना महासमिति सदस्यले आफ्नो धारणा राखेका छन् । यस्ता छन् उनीहरुका धारणा ।

कर्णबहादुर मल्ल : पार्टी नेताहरुले अब कार्यकर्ताहरुलाई अर्जुन बनाउनुपर्छ, आफू युधिष्ठिर बन्नुपर्छ । अब मुलुकमा समृद्धिको नेतृत्वपनि कांग्रेसले नै गर्ने उनको जिकिर छ । उनले भने, ‘अब मुलुकलाई कम्युनिष्टविहीन बनाउनुपर्छ । त्यसको लागि कांग्रेस एकतावद्ध भएर अघि बढ्नुपर्छ ।’

जगदिशनरसिंह केसी : संविधानमै मुलुक धर्मनिरपेक्ष भएकाले अहिले महासमिति सदस्यहरुले हिन्दूराष्ट्र बनाउनुपर्छ भनेर गरेको मागप्रति मेरो सम्मान छ । नेतृत्वका कारण अहिले पार्टी कमजोर भएको छ, यो सच्चिनुपर्छ ।

NC Mahasamiti Members

रामहरि खतिवडा : पार्टीभित्र अहिले नातावाद भन्दा पनि दातावाद हावी भयो । अहिले पनि कांग्रेसलाई पहिलो पार्टी बनाउन सकिन्छ । समग्र कार्यकर्ताहरुलाई हेरेर विधान बनाउनुपर्छ । पार्टी जनताको हितमा कसरी उतार्न सकिन्छ भनेर बहस गर्नुपर्छ । संविधानमै धर्मनिरपेक्षता लेखिएकाले कांग्रेस धार्मिक स्वतन्त्रताको पक्षमा छ । नेताहरुले हात मिलाउँदैमा पार्टी एक ढिक्का हुँदैन । यसका लागि कार्यकर्ताको मन जित्नुपर्छ ।

सीता सापकोटा : अहिले कम्युनिष्ट सरकारका कारण आम जनता निराश छन् । अब कांग्रेसले जनतालाई उत्साही बनाउनुपर्छ । त्यसका लागि हामीभित्रै आन्तरिक एकता हुनुपर्छ । यो महासमिति बैठकले हामीलाई त्यस दिशातर्फ अघि बढाउँछ । यो सरकार आएपछि मुलुकमा बलात्कार, हत्या, हिंसाका घट्ना बढेका छन् । भ्रष्टाचार मौलाएको छ । त्यसको बिकल्प कांग्रेसले दिनुपर्छ ।

विष्णु धिताल : कांग्रेसले अब धार्मिक स्वतन्त्रताको पक्षमा आफ्नो आवाज बुलन्द बनाउनुपर्छ, हिन्दूराष्ट्रको बारेमा जनमत संग्रह गर्नुपर्छ । जनमत संग्रहबाट आएको मतलाई हाम्रो पार्टीले सम्मान गर्नुपर्छ । सभापतिलाई काम गर्न नदिने गरी हात बाँध्न हुँदैन, छेक्नु हुँदैन् । तल्लो तहदेखि केन्द्रसम्म सभापतिलाई काम गर्ने अवसर दिनुपर्छ ।

मोहम्मद इशाद अन्सारी : मुलुकलाई अब धार्मिक स्वतन्त्रतामा लैजानुपर्छ । मधेशमा कांग्रेसले आफ्नो जनमत किन गुमायो भन्नेबारे पनि यो महासमिति बैठकमा गम्भिर छलफल हुनुपर्छ । मधेशको विकास र हितले मात्र कांग्रेसको भविष्य जोगिन्छ, नत्र भविष्य जोखिममा पर्छ ।

डा. रणबहादुर रावल : गाउँदेखि केन्द्र तहसम्म पार्टीभित्र एकता आवश्यक छ । देशमा कांग्रेसको विकल्प छैन । देशको विकास गर्ने नै कांग्रेसले मात्रै हो । महासमिति बैठकले नयाँ रणनीति तय गर्नुपर्ने हुन्छ पार्टीभित्र अब हिन्दूराष्ट्रको पक्षमा उभिनेबारे बहस सुरु भइसकेको छ ।

लोकेश ढकाल : कांग्रेसले अब आफूलाई वैचारिक रुमा करेक्शन गर्नुपर्छ । बहुमत महासमिति सदस्यहरु हिन्दूराष्ट्रको पक्षमा उभिइसकेकाले अब कांग्रेस यसबाट ब्याक हुन मिल्दैन । सरकार छ कि छैन भन्नेबारे जनतालाई कुनै अनुभुति छैन, देश अहिले दयनीय अवस्थामा छ ।

नगेन्द्र कुमाल : कांग्रेस लोकतन्त्रको हिमायती हो । कुनै धर्म विशेषलाई पक्ष बनाएर जानु हुँदैन । हिन्दूराष्ट्र बनाएर गए कमल थापाकोजस्तै हालत हुन्छ । यो सरकार सबै समुदायको विरोधी हो । आदिवासी जनजातीको पनि विरोधी हो । अभिभावकहरुको पनि विरोधी हो । अशक्त तथा बिरामीहरुको पनि विरोधी हो । यो सरकार महिलाहरुको पनि विराधी हो । सरकार संघीयता असफल बनाउनतिर उद्धत छ ।

रामकुमार चौधरी : केन्द्रिय कार्य समितिले महासमितिलाई बन्धक बनाउन खोजिएको छ । यो महासमितिको अपमान हो । जब–जब कांग्रेस कमजोर हुन्छ, तब–तब मुलुकको राष्ट्रिय एकता कमजोर हुन्छ । अहिले धर्मको नाममा युद्ध हुन लागेको छ । हाम्रो पार्टी नेतृत्व अनुशासनविहीन भएको छ । हात उठाएर मात्रै एकता हुँदैन । पार्टीलाई प्राइभेट कम्पनी बनाउनुु हुँदैन ।

नन्दमणि राई : पार्टीलाई एकताबद्ध बनाएर लैजानुको विकल्प छैन । हिन्दुराष्ट्र बनाउने कुरा बेमौसमको बाजाजस्तै भएको छ । म धार्मिक स्वतन्त्रताको पक्षमा छु । सरकार गैरजिम्मेवार बन्यो । वाहियात वाहियात काममा सरकारले आफूलाई संलग्न गराएको छ । सरकारले त बरु बोर्डर, १९५० को सन्धि, कालापानी र लिपुलेकको समस्या हल गर्नतिर समय दिनुपर्छ ।

सीता देवकोटा : पार्टीलाई विचारका आधारमा अघि बढाउनुपर्छ । अब व्यक्तिगत बहसलाई होइन, वैचारिक बहसलाई प्राथमिकताका साथ अघि बढाउनुपर्छ । संविधान जारी गर्दा नै हिन्दूराष्ट्र बनाउनुपर्नेमा पार्टी चुकेको छ । कांग्रेसको समाजवाद र कम्युनिष्टले भन्ने समाजवादमा फरक रहेकाले जनतामा यो भ्रम चिर्नुपर्छ ।

मोहम्मद सिद्दिकी : अब पार्टीभित्रै एक आपसमा लडेर बस्नु हुँदैन । कांग्रेस कमजोर छैन । हामी मिलेर गयौं भने कम्युनिष्टलाई धुल चटाइदिन्छौं । धर्मनिरपेक्षताको सम्मान गर्छौं । तर, यसको आडमा कसैले गलत उपयोग गरे सहेर बस्दैनौं । हामी फोरम लोकतान्त्रिकबाट कांग्रेसमा ताली बजाउनके लागि मात्रै आएका छैनौं । हामीलाई जिम्मेवारी दिनुपर्छ । भूमिका दिनुपर्छ । फुर्सद भयो भने एक आपसमा विवाद हुन्छ ।

सूर्यदेव दाश उराउ : केन्द्रीय सदस्य केन्द्रबाट मनोनित नगरी वडास्तरबाटै आउनुपर्छ । विधानमा उल्लेख भएको समावेशी–समानुपातिकको अहिले गलत उपयोग भइरहेको छ । आउँदा दिनहरुमा तराईका आदिवासी, दलितहरुलाई पनि यसमा समेट्नुपर्छ । एक व्यक्ति एक पद प्रणालीमा जानुपर्छ । मुलूकमा धार्मिक स्वतन्त्रता हुनुपर्छ ।