करोडौँ रकम छुट्याउँदा पनि टेलिफोन बिस्तार भएन

nepal-telecom
लाेकपाटी न्यूज

जुम्ला, ४ पुस । करोडौँ रकम छुट्याएको भएपनि जुम्लाको सिञ्जा क्षेत्रमा टेलिफोन सेवा पुग्न सकेको छैन । तीन गाउँपालिका रहेको सिञ्जा क्षेत्रका हिमा र कनकासुन्दरी गाउँपालिकामा अझै टेलिफोन सेवा विस्तारमा कुनै काम नहुँदा सिंजावासीलाई सास्ती भएको छ ।

सिञ्जा गाउँपालिकामा नेपाल टेलिकमको साझेदारीमा टेलिकमले ‘टु जी’ सेवा विस्तार गरेको हो । तर हिमा र कनकासुन्दरी गाउँपालिकाकामा भने टेलिफोन सेवा बिस्तार नहुँदा स्थानीय वासिन्दाले डाँडापाखा धाउनुपर्ने बाध्यता छ ।

अहिलेको समयमा सिंजाली पुरुष धन कमाउन भारततिर गएपछि आफन्तसँग नियमित कुराकानी समेत गर्न नपाएको कनका सुन्दरी गाउँपालिका–५ का लालकली बूढाले बताए ।

गत वर्षको स्थानीय तहको चुनावमा जनतामा गरेको बाचाअनुसार नै सिञ्जा गाउँपालिकामा टेलिफोन सेवा बिस्तार गरेको गाउँपालिकाका अध्यक्ष देवलसिंह रावलले बताए । निर्वाचनमा मत परिणामसमेत प्रहरीको सेटमार्फत सूचना लिनुपर्ने बाध्यता अब सिंजा गाउँपालिकाका लागि हटेको छ ।