सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा आगजनी

sudurpaschimanchal University
लाेकपाटी न्यूज

काठमाडौं, ४ पुस । कञ्चनपुरको महेन्द्रनगरमा केन्द्रीय कार्यालय रहेको सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा तोडफोड भएको छ । विश्वविद्यालयका प्राचार्य डा. भुपेन्द्र बिष्टले प्रक्रिया मिचेर आफूखुसी शिक्षक तथा कर्मचारी भर्ना गरेको भन्दै विद्यार्थी संघले विश्वविद्यालयमा तोडफोड गर्नुका साथै प्राध्यापक र कर्मचारीका कुर्सी जलाएका छन् ।

बुधबार चार विद्यार्थी संगठनहरु आन्दोलनमा उत्रिएका हुन् । विश्वविद्यालयका प्राचार्य विष्टले कुनै सुचना नै ननिकालेर आफूखुसी र राजनीतिक भागबन्डाका आधारमा आफ्ना नातेदारहरुलाई भर्ना गरेको विद्यार्थी संगठनहरुले आरोप लगाएका छन् ।

प्रक्रियानै पूरा नगरी भर्ना गरिएका शिक्षक र कर्मचारीहरुलाई खारेज गर्नुपर्ने माग विद्यार्थी संगठनहरुको रहेको छ । तत्काल आफ्नो माग पूरा नभए आफूहरु जस्तोसुकै कडा कदम चाल्न बाध्य हुने नेपाल विद्यार्थी संगठनका नेता किशोर जोशीले बताए ।

यद्यपी प्राचार्य विष्टले भने भागबण्डाका आधारमा नभई आवश्यकताका आधारमा शिक्षक नियुक्त गरेको दाबी गरेका छन् । अहिले विश्वविद्यालयमा राखिएका शिक्षकहरु पूर्णकालीन नभई ‘पार्ट टाईम’का लागि मात्रै राखिएकोले कुनै सूचना अर्थात् प्रावधानमा जानु नपर्ने विष्टले बताए ।