महानगरबासीको चाहनाअनुसार नै काम भइरहेको छ : रेनु दाहाल

Renu Dahal
लाेकपाटी न्यूज

चितवन, ४ पुस । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले आफूहरु महानगरबासीको चाहना बमोजिम नै अगाडि बढिरहेको दाबी गरेकी छन् ।

बुधबार भरतपुर-२० मा भएको आर्थिक वर्ष २०७५/०७६ को प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख दाहालले यस्तो दाबी गरेकी हुन् ।

प्रमुख दाहालले वडा र महानगरपालिकाले विनियोजन गरेको बजेटको कामको अनुगमन र खबरदारी नगरबासीले गर्नुपर्ने बताइन् । प्रमुख दाहालले जनप्रतिनिधि र कर्मचारीहरूबाट कुनै पनि प्रकारको अनियमितता, ढिलासुस्ती वा सेवा प्रवाहमा गुनासो भए सोझै आफूलाई जानकारी गराउन नगरबासीहरूलाई आग्रह गरिन् ।

दाहालले सहभागीहरूको जिज्ञासाको जवाफ दिँदै समग्र क्षेत्रको समुचित विकासले मात्र ‘सुखी नेपाली समृद्ध नेपाल’ भन्ने राष्ट्रिय नारा साकार पार्न सकिने बताइन् । उनले आफूहरु पनि त्यसै बमोजिम काममा लागिरहेको उल्लेख गरिन् । उनले विषयगत सरकारी कार्यलयका प्रमुखहरूलाई महानगरपालिकाभित्र सञ्चालनमा आएका कार्यक्रमहरू समयमै गुणस्तरीय रूपमा गुनासो नआउने गरी सम्पन्न गर्न निर्देशनसमेत दिइन् ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद सुवेदीले कार्यक्रमको औचित्य र यसले पार्ने प्रभावको बारेमा जानकारी दिँदै यस्ता कार्यक्रमहरूले महानगर र महानगरबासीलाई एक आपसमा जोड्ने बताए । उनले महानगरको सेवा प्रवाहको विषयमा उठेका जिज्ञासाहरूको जवाफ दिएका थिए ।

कार्यक्रममा विषयगत सरकारी कार्यालयहरूसँग सम्बन्धित जिज्ञासहरूको समाधान विषयगत कार्यालयका प्रमुखहरू तथा वडागत जिज्ञासहरूको समाधान वडा अध्यक्षहरूले गरेका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्