विरोधपछि हट्यो भन्सारको नियम

Bhansar
लाेकपाटी न्यूज

नीरज पिठाकोटे/वीरगन्ज, ४ पुस । वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी लगाएको नियम संघीय समाजवादी फोरमका कार्यकर्ताको विरोधपछि हटाएको छ ।

वीरगन्ज भन्सार कार्यालयले बुधबारदेखि लागू हुने गरी भन्सार गेटबाट आवतजावत गर्ने सवारी सधानहरुलाई रोकेर पैदल हिँड्नुपर्ने नियम लागू गरेको थियो । त्यसको केहीबेरमै संघीय समाजवादी फोरमको वीरगन्ज महानगर समितिको नेतृत्वमा गएको फोरमका कार्यकर्ताहरुले भन्सार गेटमा विरोध प्रदर्शन गर्दै नाराबाजी गरेपछि वीरगन्ज भन्सार कार्यालयले नियम फेरी हटाएको हो ।

एकीकृत भन्सार जाँच चौकी सञ्चालनमा आएपछि अधिकांश मालसामान आईसीपी हुँदै आउने र वीरगन्ज भन्सार कार्यालयको मूख्य गेटबाट आउने सवारी साधनहरुले सामान लुकाएर ल्याउने गरेपछि त्यसलाई निरुत्साहित बनाउन अन्त राष्ट्रिय भन्सार नियमअनुसार पैदल यात्रुको लागि पनि व्यवस्था गरेर सवारी साधन चेकजाँचको लागि बुधबारदेखि यात्रुलाई ओरालेर चेकजाँचको व्यवस्था गरेको थियो । तर, संघीय समाजवादी फोरम महानगर समितिले जनतालाई सास्ती दिने गरी बनाइएको नियमलाई खारेज गर्न माग गर्दै भन्सार गेट मै धर्ना दिएर विरोध प्रदर्शन गरी सडक अवरोध गरेका थिए ।

फोरममका कार्यकर्ताहरुले विरोध गरेर भन्सार गेट अवरोध गर्न थालेपछि प्रमुख भन्सार प्रशासक श्याम प्रसाद भण्डारीसँग भएको छलफलमा नियम लागू नगर्ने मौखिक सहमति भएको छ । भन्सार कार्यालयले बुधबारदेखि नै लागू हुने गरी सार्वजनिक सूचना टाँस गरेको केही घण्टामै त्यसको विरोध भएपछि नियम हटेको हो । फोरमका कार्यकर्ताहरुले भन्सार चोकजाँचको बहानामा यात्रुलाई ओरालेर पैदल हिँडाई चेकजाँच गर्नु तानाशाही प्रवृत्तिको संज्ञा दिएका छन् ।

उनीहरुले गणतन्त्र आईसकेपनि वीरगन्ज भन्सार कार्यालयले भने सर्वसाधारण यात्रुलाई दुःख दिने गरी लगाएको नियमले शाही शासनकालको झझल्को दिएको भन्दै विरोध गरेका हुन् । भन्सार प्रमुख भण्डारीले सर्वसाधारणलाई दु:ख दिने कुनै नियत नभएको र भन्सार नाकामा हुने चोरी, तस्करी तथा अवैध कारोबारलाई नियन्त्रण गर्नका लागि नियम लागू गरिएको बताए । उनले तस्करहरुको मनोबल बढ्ने गरी भएको विरोधले बाहिर सकारात्मक सन्देश नगएको बताए ।

संघीय समाजवादी फोरम नेपाल वीरगन्ज महानगरपालिकाका अध्यक्ष इश्वर यादवको नेतृत्वमा गएको टोलीमा पार्टीका नगर कोषाध्यक्ष सज्जन अग्रवाल, प्रकाश शर्मा, तवरेज अहमद, कुन्दन सिंह लगायतका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । त्यस्तै राजपा निकटको राष्ट्रिय विद्यार्थी संघले पनि भन्सार कार्यालय गरेको निर्णयको विरोध गर्दै त्यसलाई तत्काल खारेज गर्न पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत गृहमन्त्रालयलाई आग्रह गरेको छ । उनीहरुले बुधबार जिल्ला प्रशासन कार्यालय पर्सामा पुगेर प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्