कालीगण्डकी प्रसारण करिडोर निर्माणको म्याद ६ महिना थप

kaligandaki corridor project-1
लाेकपाटी न्यूज

पर्वत, ५ पुस । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको कालीगण्डकी प्रसारण करिडोर आयोजनाको ठेक्का सम्झौताको म्याद ६ महिना थप भएको छ । एशियाली विकास बैंकको सहयोगमा सन् २०१६ मा सो आयोजना निर्माण गर्ने ठेक्का सम्झौता टाटा प्रोजेक्टस र चिन्ट इलेक्ट्रिक जेभीले लिएको थियो ।

२०१८ को नोभेम्बरमा रू. २ अर्ब ९० करोडमा पर्वतकाे दानादेखि खुर्कोट जोड्ने प्रसारण लाइन र सबस्टेसन निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । तर, मन्त्रिपरिषद्को निर्णय कार्यान्वयन नहुँदा आयोजनाको काम निर्माणमा ढिलाई भएको हो ।

मन्त्रिपरिषद्ले रूख काट्न अनुमति दिने निर्णय कार्यान्वयन नहुँदा २२० केभिए क्षमताको दाना–खुर्कोट प्रसारण लाइनमा ३० वटा टावर निर्माण कार्य रोकिएको छ । २०७४ पुस १३ गतेको मन्त्रिपरिषद् बैठकले ३० वटा टावर निर्माण हुने वन क्षेत्रको २.५८ हेक्टर जग्गा भोगाधिकार र चार हजार २०८ वटा रूख काट्नका लागि अनुमति दिने निर्णय गरेको थियो ।

वन क्षेत्रमा ओगट्ने क्षेत्रफल बराबरको सट्टा जग्गा उपलब्ध गराउनुपर्ने वन विभागसँगको सम्झौता कार्यान्वयनमा नआउँदा बाध्य भएर कटान आदेश रोकिएको डिभिजन वन कार्यालय म्याग्दीले जनाएको छ । जग्गा उपलब्ध गराउन नसके बिरुवा रोप्न र हुर्काउने लागतसमेत हिसाब गरी सट्टा जग्गाको मूल्य उपलब्ध गराउन सकिने विकल्प छ । तर, वनलाई उपलब्ध गराउने उपयुक्त जग्गा खोजी गर्दा भेट्न नसकेका कारण जग्गाको मूल्य निर्धारण गरिदिए सो बापतको रकम उपलब्ध गराउन तयार रहेको आयोजना प्रमुख घोषले बताए ।

नेपाल विद्युत प्राधिकरणले म्याग्दीको उत्तरी क्षेत्र र मुस्ताङमा निर्माणाधीन जलविद्युत आयोजनाबाट उत्पादित विद्युत केन्द्रीय प्रशारणमा जोड्नका लागि दाना र खुर्कोटमा सबस्टेसन र ३९ किलोमिटर प्रसारण लाइन बनाइरहेको छ । आयोजनाबाट म्याग्दीको ११ वटा सामुदायिक वन क्षेत्र प्रभावित छन ।

म्याग्दीमा ४ सय ७७ ठूला रूख र ९ सय ८१ साना बिरुवा काट्नुपर्ने जनाइएको छ । १ सय १४ वटामध्ये हालसम्म ८१ वटा टावर निर्माण भएको छ । अन्नपूर्ण गाउँपालिका–३ दाना र पर्वतको कुश्मा नगरपालिका–१ खुर्कोटमा विद्युत सबस्टेसन पनि निर्माण भइरहेको छ । टावर निर्माण भएको ठाउँमा छ किलोमिटर तार तानिएको छ । हालसम्म ७० प्रतिशतभन्दा बढी काम भएको आयोजनाले जनाएको छ ।