राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय : मुख्यमन्त्री राई

Sherdhan Rai
लाेकपाटी न्यूज

विराटनगर, ५ पुस । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले मुलुकका राजनीतिक क्षेत्रमा असाधारण परिवर्तन आउनुमा सञ्चार क्षेत्रको भूमिका उल्लेखनीय रहेको बताएका छन् । नेपाल पत्रकार महासङ्घको राष्ट्रिय सम्मेलनको बिहीबार विराटनगरमा उद्घाटन गर्दै उनले राष्ट्र निर्माणमा सञ्चार क्षेत्रको भूमिकालाई अझ बढाउँदै लैजानुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री राईले समाजमा देखिएका नकारात्मक परिस्थितिलाई सकारात्मक बनाउन सञ्चार क्षेत्रले अझै आफ्नो कार्यलाई अग्रभागमा राख्नुपर्ने सुझाव दिँदै नेपालको संविधानको प्रस्तावनामा नै प्रेस स्वतन्त्रता उल्लेख भएकाले प्रेस स्वतन्त्रता कहिल्यै पनि कसैले हनन् गर्न सक्दैन भने ।

उनले आफू सञ्चारमन्त्री भएको समयमा राष्ट्रिय सञ्चार नीति तर्जुमा गराएको, पत्रकारहरुको न्यूनतम पारिश्रमिक प्रतिवेदन अघि बढाएको, पत्रकार दुर्घटना बीमा ल्याएका स्मरण गर्दै सञ्चारकर्मीका व्यावसायिक र क्षमता विकासमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।