ठेकेदार भागे पनि सरकारलाई घाटा हुँदैन : बिना मगर

Bina Magar
लाेकपाटी न्यूज

काठमाडौं, ५ पुस । खानेपानी मन्त्री बिना मगरले मेलम्ची खानेपानी आयोजनाका ठेकेदार कम्पनी सिएमसीले काम छोडेर भागे पनि सरकारलाई घाटा नहुने बताएकी छन् ।

बिहीबार बसेको अर्थ समितिको बैठकमा मन्त्री मगरले मेलम्ची खानेपानीको इटालियन ठेकेदार कम्पनी सिएमसीलाई काम गरेको रकम नै भुक्तानी गर्न बाँकी रहेको भन्दै उसले एकतर्फी ठेक्का तोड्दा सरकारलाई घाटा नलाग्ने बताएकी हुन् । नेपाल इन्भेस्टमेन्ट बैंक र स्टाण्डर्ड चार्टर्ड बैंकमा रहेको रु. २ अर्ब ५४ करोड रोक्का गरिसकेको उनले बताइन् । उनले भनिन्, ‘१५ करोडको बिल फछ्र्यौट बाँकी छ र ३५ करोड दिन बाँकी छ ।’

सिएमसी कम्पनीका प्रतिनिधिसँग वार्ता प्रक्रिया अघि बढिरहेको उनले जानकारी दिइन् । उनले पहिलो चरणको वार्ता सकिएको र दोस्रो चरणमा वार्ता भइरहेको उल्लेख गरिन् । सरकारले उनीहरुलाई नै निरन्तरता दिन पहल गरिरहेकोसमेत उनले बताइन् । सिएमसीले राखेका केही माग जायज भएकोले सम्बोधन गरिने र सरकारको नियमअनुसार सहमति गर्ने उनले जनाइन् ।

मेलम्चीको ९३ प्रतिशत काम भइसकेको र हालसम्म २६ अर्ब ३५ करोड खर्च भइसकेको उनको भनाइ छ ।