अब एसइई प्रदेशले नै सञ्चालन गर्ने

exam01
लाेकपाटी न्यूज

काठमाडौँ, ५ पुस । यस वर्षदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) कक्षा–१० को सञ्चालन प्रदेशमा नै हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा–१० का नियन्त्रक विष्णुप्रसाद अधिकारीले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा विकास निर्देशनालयले परीक्षा सञ्चालन गर्ने बताए ।

मुलुक सङ्घीय संरचनामा गइसकेपछि पहिलोपटक प्रदेश तहलाई एसइई परीक्षा सञ्चालनको जिम्मेवारी दिइएको अधिकारीले जानकारी दिए । उनले भने, ‘हामीले यहाँबाट प्रश्नपत्र मात्र पठाउँछौँ । उत्तरपुस्तिकाको छपाइदेखि परीक्षा केन्द्र तोक्ने, केन्द्राध्यक्ष तोक्नेजस्ता काम प्रदेश सरकारले गर्ने छ ।’ यसअघि नियन्त्रण कार्यालयले परीक्षा सञ्चालन गर्ने गर्दथ्यो ।

नियन्त्रण कार्यालयले गत वर्षको तोकिएको परीक्षा केन्द्र नबढाइ तोक्न निर्देशन दिइएको छ । प्रदेश सरकारले सञ्चालन गरेको उत्तरपुस्तिका भने नियन्त्रण कार्यालयमा आउने र समपरीक्षण तथा नतिजा प्रकाशन गर्ने छ ।

सरकारले यस वर्षदेखि एसइई प्रदेशस्तरमा नै गर्ने भने तापनि आवश्यक तयारी नपुगेकाले नियन्त्रण कार्यालयलाई जिम्मेवारी दिइएको हो ।  चैत १० गतेबाट हुने यस वर्षको एसइई परीक्षामा  करिब ४ लाख ८० हजार विद्यार्थी सहभागी हुने अधिकारीले जानकारी दिए । अहिले प्रश्नपत्रको काम भइरहेको उनले बताए ।

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्