काँग्रेस हिन्दु राष्ट्रको पक्षमा उभिन्छ : अध्यक्ष थापा

kamal thapa
लाेकपाटी न्यूज

कास्की, ६ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दु राष्ट्र निर्माणलाई प्रमुख मुद्दा बनाएर संघर्ष सुरु गर्ने बताएका छन् ।

शुक्रबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले आगामी फागुनबाट राप्रपा जनसंघर्षमा उत्रिने बताएका हुन् । राप्रपाको गण्डकी स्तरीय सम्मेलन तथा प्रशिक्षण कार्यक्रममा सहभागी हुन पोखरा आएका थापाले पोखरामा पूर्वराजा ज्ञानेन्द्र आउँदा देखिएको उपस्थितिले अझै पनि जनतामा राजसंस्थाप्रति आस्था र विश्वास बढेको उल्लेख गरे ।

उनले जन संघर्ष राजसंस्थाको पुर्नस्थापना, संघीयता खारेजी, भ्रष्टाचार नियन्त्रणका लागि हुने जानकारी दिए । उनले काँग्रेसले आफ्नो सिद्धान्त र विचार त्यागेकोमा आफूलाई आश्चर्य लागेको बताए । उनलेे भने, ‘तर, ढिलोचाँडो हिन्दु राष्ट्र र राजसंस्थासहितको लोकतन्त्रमा काँग्रेस आउँछ भन्ने मलाई विश्वास छ ।’

उनले काँग्रेसमा जोडदार रुपमा हिन्दु राष्ट्रको पक्षमा आवाज उठ्न थालेको बताए । उनले भने, ‘काँग्रेसमा जोडदार रुपमा हिन्दु राष्ट्रका पक्षमा आवाज उठ्न थालेको छ, हस्ताक्षर अभियान नै चल्न थालेको छ, अन्ततः काँग्रेस यसैको पक्षमा उभिन्छ ।’