आत्मालोचना नगर्ने कम्युनिस्ट हुन सक्दैनन् : नारायणकाजी श्रेष्ठ

Narayankaji shrestha
लाेकपाटी न्यूज

काठमाडौं, ६ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठकमा नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार चौतर्फी घेरामा परेका बेला सरकारको कमिकमजोरीबारे आत्माआलोचना गर्नुहुन्न भन्ने अभिव्यक्ति गलत भएको टिप्पणी गरे। स्थायी कमिटीको बैठकमा नेता श्रेष्ठले सरकारलाई सफल पार्ने भएमा आत्माआलोचित हुनुपर्ने बताए।

नेता श्रेष्ठले दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि केन्द्रित रहेर आफ्नो धारणा राखेका छन् । उनले मुख्य चार विषय, विधानको अन्यौलता र असमझदारी, हालसम्म प्रकाशित हुन नसकेको राजनीतिक प्रतिवेदन, मापदण्डको उल्लङ्घनका गुनासालाई तत्काल नेतृत्वले सम्बोधन गर्नुपर्ने बताएका छन्।

बैठकमा बोल्दै सरकारका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले दिएको टिप्पणी आएको भोलिपल्ट प्रवक्ता श्रेष्ठले सरकारलाई सफल पार्ने हो भने आत्माआलोचना गर्न जरुरी भएको बताए। श्रेष्ठले भने, ‘एकजना कमरेडले सरकारको कमजोरीबारे आत्माआलोचना अहिले गर्नु सान्दर्भिक छैन भन्नुभयो। यदि आत्माआलोचना नगर्ने हो भने सरकार सफल हुदैन, आत्माआलोचना नगर्नेहरु कम्युनिस्ट हुन सक्छन् ?’

नेता श्रेष्ठले पार्टीको वैचारिक तथा सैद्धान्तिक विषयसँगै भ्रष्टाचारलाई जोड्दै चिकित्सा शिक्षा क्षेत्रको गुणस्तरीयताको माग राख्दै अनशन सुरु गरेका डा. गोविन्द केसीको अभियानलाई गम्भीर रुपमा नलिएर २५ दिन पुराएर सरकारको गल्ती गरेको आरोप लगाएका छन्। उनले सरकार जिम्मेवार रुपमा प्रस्तुत हुनुपर्ने बताए ।

सांगठनिक एकिकरणको बाँकी प्रक्रिया, कार्यविभाजन यही बैठकबाटै टुंग्याउनुपर्ने श्रेष्ठले जोड दिए। उनले भने, ‘एकता र कार्यविभाजनमा यताउती गर्न मिल्दैन। नेतृत्व गम्भिर भएर टुंग्याउनुपर्छ।’ डा। गोविन्द केसीको अनशन लम्बाउनेदेखि लिएर दर्जनौ विषयमा सरकार चुकेको भन्दै सदस्यहरुले त्यसको कटु आलोचना गरेका छन्।

अध्यक्षद्वयको प्रतिवेदनमाथि हालसम्म ४१ सदस्यले आफ्नो असन्तुष्टी र सुझाव राखेका छन्। शुक्रबार नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, अमिक शेरचन, मणि थापा, गोकर्ण विष्ट, छविलाल विश्वकर्माले आफ्नो धारणा राखेका थिए।