बर्दियाको ठाकुरद्वारा बजारबारे संक्षिप्त जानकारी

thakurduwara pic
लाेकपाटी न्यूज

१) तत्कालिन राजा श्री ५ वीरेन्द्रको बर्दिया राष्ट्रिय निकुञ्जको सवारी भ्रमण शिविर बघौरामा सवारी हुँदा ठाकुरजी मन्दिरका लागि ४ बिगाहा जग्गा माग गरी बिन्ती पत्र पेश भएको।

२) सो बिन्न्तीपत्रमा त्यहाँ थारु जातिको पूजारी, थारु जातिकै गैवार आदि राख्न मन्दिर बाहेक अस्थायी अरु संरचना पक्की नबनाउने समेत ब्यहोरा उल्लेख थियो।

३) बिन्ती पत्रमा औचित्य हेरी उचित राय जाहेर गर्न तोकादेश भएको र पछि वन सुदृढिकरण उच्चस्तरीय आयोगले स्थलगत निरिक्षण गरि चासो पनि देखाएको हो तर खासै कसैले वास्ता नगरेकोले त्यतिकै रहन गयो।

४) त्यो मन्दिर भएको ठाउँमा पुग्न पैदल हिडेर जान पनि मुस्किल थियो। जताततै नाला थिए। नालामा भाटा राखेर तर्ने गरिन्थ्यो ।

५) तेतिबेला ठाकुरद्वारामा बढघरको एउटा पसल मात्र थियो।

६) मन्दिर भएको ठाउँलाई कुटी भनिन्थ्यो। कुटीमा अस्थायी बजार राख्ने भनि गाउँपञ्चायतले निवेदन माग ग¥यो।

७) केही मानिसले निवेदन दिएर जोरासिंह खड्का,टीकाराम उपाध्याय,लाल बहादुर खत्री, दिप बहादुर खड्का, राम प्रसाद उपाध्याय लगायत २१ जनाले छाप्रो बनाएर पसल सुरु गरेका हुन्। मलाइ लाग्छ अहिले ४० सालका पसले मध्ये राम प्रसाद उपाध्याय र लाल बहादुर खत्री अहिले पनि पसल गरेरै बसेका छन्। कतिपयले त्यो पबित्र ठाकुरजीको पूण्यभूमि पैसा खाएर बिक्री पनि गरेका छन्।

८) निकुञ्ज भित्रबाट पूर्वपश्चिम राजमार्ग बन्ने भएपछि राजमार्गकोबाट ठाकुरद्वारा हेड्क्वार्टर जोड्ने ग्राभेल सडक बनाइदिनु पर्ने शर्त राखियो।

९) वार्डेनहरु कृष्णमान श्रेष्ठ लालमाटीबाट जोड्ने भन्ने र रवि बहादुर विष्ट भुरिगाउ वा आम्बासाबाट जोड्ने भन्ने पक्षमा हुनुहुन्थ्यो। बिचमा रवि बहादुर विष्टले जंगलै जंगल बाटो बनाए जनताले प्रयोग गर्न पाउदैनन्। यदि जनताले जग्गा दिन्छन भने आम्बासाबाटै ल्याउने निर्णय गर्नुभयो।

१०) तत्कालिन ठाकुरद्वारा गाउँ पञ्चायतका उपप्रधानपञ्च काशिराम पोख्रेलले मोतिपुर,बकुवा,मोहनपुर,मढेला र चिट्कैयाका जनताले आफ्नो जग्गा उपलब्ध गराउन मञ्जुर भएपछि हालको बाटो बनाउने निर्णय भयो।

११)सडक बनाउदा चिडकैया गाउँको पुछारबाट बेतेनी हुँदै निकुञ्जमा जोड्ने भन्ने सुरुको योजना उपप्रधानपञ्च काशीराम पोख्रेलले कुटी भएर लैजानु पर्ने भन्ने रायका आधारमा मन्दिर हुँदै निकुञ्जसम्म बनाइएको हो।

१२) मन्दिर क्षेत्रको वन ठाकुरद्वारा मध्यवर्ती सामुदायिक वनको एउटा ब्लक थियो। पछि धार्मिक वनको रुपमा छुट्याइयो।

१४) त्यहाँको वस्ती व्यवस्थापन गर्न विगतमा पनि धेरै छलफल र निर्णय भएका छन्। सोही छलफलका आधारमा म विभागमा कार्यरत रहेका बखत जिल्ला स्तरीय वन समन्वय समितिले ठाकुरजी मन्दिर क्षेत्र र गोलास्थित खोल्टिबजार्को बस्ती हटाउने निर्णय गरी निकुञ्जबाट सूचना समेत जारी भएको थियो।

१५) सो निर्णयविरुद्ध खोल्टीबजार अदालतमा गएकोले हाल मुद्धा चलिरहेको छ। ठाकुरजी मन्दिरबासी अदालत गएनन्।

१६) ठाकुरबाबा नगरपालिकामा थारु साँस्कृतिक डबलिको योजना परेपछि मन्दिर परिसरमा बनाउने निर्णय भएको थियो ।

१७) सो डबलीका सम्बन्धमा प्रदेश नंम्बर ५ वन मन्त्रालयमा मेयर घन नारायण श्रेष्ठ गायत माननीय कुल प्रसाद पोख्रेल,हिमाल, राजेशसँगै म पनि थिएं। त्यति बेला प्रदेश वन सचिवले पहिला जग्गा प्राप्त गर्नुहोस् भन्ने राय दिएका थिए।

१८) हामी सबैजना ठाकुरद्वारा आएर बैठक पनि गरियो। जिल्ला वन कार्यालयबाट डबलीको डिजाइन स्टिमेट तयार गरी भवन निर्माणका लागि टेन्डरको प्रकृया अगाडि बढाउने र जग्गा प्राप्तिको प्रकृया पनि अगाडि बढाउने कुरा भयो।

१९)त्यसपछी फेरि मेयर साहबको उपस्थितिमा बैठक बसी बस्ती हटाउने, डबली निर्माणको प्रकृया अगाडि बढाउने निर्णय भयो।

२०) डबलीको डिजाइन स्टिमेट त भयो भएन थाहा भएन तर भवन निर्माणको ठेक्काको सूचना निक्लेको थाहा भएन। जग्गा प्राप्त गर्ने फाइल प्रदेशबाट सिंहदरवारतिर पुगेको थियो । त्यसपछि कता हरायो थाहा छैन।

२१) मन्दिर क्षेत्रमा पसल राखेका केही मानिसको पश्चिम तर्फ मुल सडकमा पक्की घर पनि छन्। उता घर भाडामा लगाएर यता वनक्षेत्रमा पसल राख्ने पनि छन्। कतिपय आफ्नो पक्की घर हुँदाहुँदै लाजघिन पचाएर यता ओगटेर बसेका पनि छन्।

२२) केही परिवार वास्तविक भूमिहिन पनि छन्। जो त्यहाँबाट उठाइएपछि अन्यत्र ओत लाग्ने जमिन छैन।

२४) अहिलेकेही सटर बनाएर व्यापारीलाई दिने भन्ने तर्क पनि आएको छ। तर सटरको भाडा तिरेर व्यापार गर्नेले कुलो भन्दा पश्चिमको बजारमा सटर भाडामा लिएर व्यापार गरे भैहाल्यो नि त्यहाँ वनभित्रै किन भन्ने प्रश्न उब्जिएको छ।

२५) जग्गाको स्वामित्व नभएका कारण डबली बन्न नसकेको ज्वलन्त उदाहरण हुँदाहुँदै फेरि स्वामित्वनै नभएको अवस्थामा मन्दिरले सटर बनाउन सक्दैन।

तसर्थ, मन्दिर बजारको समस्या समाधान गर्न नेपाल सरकारबाट जग्गाको स्वामित्व प्राप्त नगरी केही हुनेवाला छैन। यथास्तितिमा यसो गर्छु र उसो गर्छु यसो गर्नु पर्दछ र उसो गर्नु पर्दछ भनेर जनतालाइ जोकर बनाउने र झन अन्धकारमा धकेल्ने काम बाहेक केही होइन।

(लेखक : रमेश थापा बर्दिया राष्ट्रिय निकुञ्जका पूर्वप्रमूख संरक्षण अधिकृत हुन्)

 

प्रतिक्रिया दिनको लागि यहाँ क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्