मेलम्चीबाट भाग्ने ठेकेदारको पक्षमा उच्च अदालतको अन्तरिम आदेश

Melamchi
लाेकपाटी न्यूज

काठमाडौँ, ७ पुस । उच्च अदालत पाटनले मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्ने इटालियन ठेकेदार कम्पनी सिएमसी भाग्न खोजेको उल्लेख गर्दै धरौटीको रकम जफत गर्ने सरकारको निर्णय रोक लगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

सिएमसीका तर्फबाट दायर भएको रिट निवेदनमा शुक्रबार सुनुवाई गर्दै आइतबारसम्म धरौटी जफत गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न उच्च अदालत पाटनका मुख्य न्यायाधीश प्रकाशकुमार गुरुङको इजलासले आदेश जारी गरेको हो ।

उच्च अदालतका रजिष्ट्रार बाबुराम दाहालका अनुसार आइतबार दुवै पक्षलाई छलफलका लागि बोलाइएको र धरौटी जफत गर्ने निर्णय आइतबारसम्म कार्यान्वयन गर्न रोक लगाइएको छ ।

सिएमसीले मेलम्ची खानेपानी आयोजनालाई करीब दुई हप्ताअघि नै सम्झौता रद्द गर्ने सूचना दिएको थियो । गत आइतबार कम्पनीका कर्मचारीले भाग्ने तयारी गरेपछि सरकारले उनीहरुलाई निगरानीमा राखेको थियो ।

सिएमसी कम्पनि आर्थिक रुपमा विश्वभरि टाट पल्टिएपछि नेपालबाट भाग्न खोजेको थियो । ठेकेदार कम्पनिले मेलम्चीका कामदार, सामान खरिद गर्ने कम्पनि लगायतका ठाउँमा तिर्नुपर्ने भुक्तानी नदिई भाग्न खोजेको थियो ।