राति हिंडे हिरासतको बास

Areest
लाेकपाटी न्यूज

बाँके, ७ पुस । कोहलपुरमा चोरीका घटना बढ्न थालेपछि प्रहरीले राति हिँड्नेलाई थुन्ने अभियान शुरु गरेको छ । राति १० बजेपछि अत्यावश्यक कामबाहेक त्यसै हिँड्नेलाई रातभरि थुन्ने अभियान शुरु गरिएको कोहलपुर प्रहरीले जनाएको छ ।

लागुपदार्थ प्रयोगकर्ता, लामो कपाल पालेका व्यक्ति राति भेटिए थुन्ने गरेका कोहलपुर इलाका प्रहरी कार्यालयका प्रवक्ता मानबहादुर विसीले बताए । रातभर थुनिएका व्यक्तिलाई भोलिपल्ट फोटो खिचेर आफन्तको जिम्मा लगाउने गरेको उनले बताए ।

प्रहरीले राति पक्राउ परेकालाई बिहान परिवारका सदस्य बोलाएर लामो कपाल काट्न लगाउने, फोटो खिचेर पठाउने गरेकामा फेरि त्यही मान्छे राति कुनै काम बिना हिँडेको फेला परे कारवाही गरिने भएको छ ।

प्रहरीले चोरी नियन्त्रण र बिना काम राति हिँड्नेलाई नियन्त्रण गर्न तीन टोली परिचालन गरेको छ । जस्मा दुई ‘क्यूआरटी’ र एउटा नियमित गस्ती टोली छ । कोहलपुरमा लागुपदार्थ प्रयोगकर्ताको सङ्ख्या बढ्दै गएको र अधिकांश चोरीमा लागुऔषध प्रयोगकर्ता नै संलग्न हुने गरेको प्रहरीले जनाएको छ ।

प्रहरी कार्यालयकै आसपासमा चोरी हुन थालेपछि प्रहरीले यस्तो अभियान चलाएको उनले बताए । राति हिँड्नेलाई थुन्ने अभियान थालिएपछि कतिपय व्यक्ति ताला खोल्न प्रयोग गर्ने ‘सब्बल’सहित पक्राउ पर्न थालेको प्रहरीले जनाएको छ । चोरीका घटना बढ्दै गएकाले स्थानीयवासीले प्रहरीप्रति आक्रोश पोख्दै आएका थिए ।

पुराना चोरीको अभियोग लागेका व्यक्ति पनि खोजी गरिरहेको प्रवक्ता विसीले जानकारी दिए । यो अभियान चलाउँदा दैनिक ५/६ जना नियन्त्रणमा परिरहेको उनले बताए ।