नरेश दाइको चश्मा (कथा)

glasses naresh
हो विदेशी धारामा बहकाउने र दृष्टिकोणमा दख्खल दिनेलाई नरेश दाइको आँखा र चश्मा देखाउन हुन्न–एक स्थानीय दलको नेताले फ्याट्टै भन्यो । नरेश दाइ आफ्नो आँखा र चश्माको विशारद छलफलमा हक्क न बक्क देखिन्थे । बोल्नेहरुको कमी थिएन । कसैले फेरी तुरुन्तै भन्यो –विपि आँखा अस्पताल महाराजगंजमा एकदमै सटिक परीक्षण हुन्छ । त्यहाँ मैले चिनेका डाक्टरहरु पनि छन् । दाइलाई लिएर मै जान्छु । सस्तोमा सस्तो राम्रोमा राम्रो परीक्षण हुन्छ । हुन्न दाइ ?
लाेकपाटी न्यूज

देविका तिमिल्सिना

नरेश दाइ अर्थात प्रख्यात अर्थशाश्त्री । टोल छिमेकका ठूला वुद्धिजीवी । देशको अर्थ शाश्त्रका ज्ञाता । राष्ट्रका गहना । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार । राष्ट्र बैंकका मुख्य अधिकृत । नेपाली अर्थशाश्त्रका विश्लेषक र राष्ट्र विकाशका होनहार जानिफकार । उनको दृष्टिकोण राष्ट्रको दृष्टिकोण । उनको हेराइ राष्ट्रको हेराइ । त्यो हेराइको माध्यम वा दृष्टिकोण उनको चश्मा ।

उनको चश्माको विशेषता प्लस माइनस एउटै ग्लासमा । प्लस चाहिए आपैंm प्लस हुने माइनस चाहिए आपैंm माइनस हुने नयाँ नामको अद्भूत जिनिस । उनले काठमाडौंका प्रख्यात चश्म निर्माता रत्नमान बज्राचार्य कहाँ किनेका हुन् । उनले साथी भाइको संगममा भने–मलाई रत्नमानले सोह्र हजार लियो यो चश्माको । चश्मा बढा गुणग्राही हो । अहिले खोइ के के भयो चश्माको पावर तल माथि भए जस्तो छ । राम्रो दृष्टि दिइरहेको छैन । अब यसलाई फेर्नु पर्ने हुन सक्छ । आँखा विशेषज्ञ र चश्मा विशेषज्ञ कहाँ जानु प-यो । कहाँ कसलाई देखाउने होला ?

मित्र मिलनमा जम्मा भएका अनेक विशेषताका पात्रहरु चिया गफमा गफी रहँदा एउटा विषयको प्रक्षेपण भयो नरेश दाइबाट । सवै विषय विज्ञ बनेर अभिब्यक्त हुन थाले एकएक गरेर । नरेश दाइलाई आजकल पैसा बढी भएको छ । जहाँ पनि बढी खर्च गर्न तम्सनु हुन्छ–एक अगुवा मित्र कुरो काट्छन् ।

जहाँ पायो त्यहीं, जस्तो पायो त्यस्तोलाई दाइको जस्तो चश्मा र आँखा देखाउन हुन्न । दृष्टि भ्रमको खतरा बढ्छ –एक पूर्व सहसचिव मित्र सल्लाह दिन्छन् । आँखा त्यसै सम्वेदनशील हो, त्यहाँ माथि त्यस्तो नामको चश्मा । जुन विशिष्ट गुणयुक्त दामी छ । यसमा धेरै सोच विचार गरेर मात्र कहाँ कसलाई देखाउने निर्णय लिनु पर्दछ –एक समाजशाश्त्रीले गम्भिर भएर भने ।

नरेश दाइ बोल्न खोज्दा खोज्दै एक राजनीति कर्मीले उछिनेर भन्यो –जहाँ पायो त्यहीं नरेश दाइको आँखा जचायो भने दृष्टि भ्रम हुने मात्र होइन, उहाँको दृष्टिकोण नै बद्लिन सक्छ । नरेश दाइको दृष्टिकोण बदलिनु भनेको नेपाली अर्थतन्त्रमा पहिरो जानु सरह हो । यसले आर्थिक चिन्तनमा गम्भिर असर पार्न सक्छ । एक गाउँ एक सहकारी एक घर एक रोजगारको अभियान विफल हुने खतरा हुन्छ । त्यसैले नरेश दाइको आँखा र चश्माको बारेमा सोचेर मात्र निर्णय गरौं ।

मेरो चश्माको पावर परिवर्तनले चिन्तनमा एकाएक परिवर्तन ल्याउँदैन । मेरो अर्थशाश्त्रको स्कूलिङमा बिगार पर्दैन । म समाजवादी अर्थतन्त्रको दीक्षित हुँ । मैले बाँसबारी छाला जुत्ता कारखाना, हेटौंडा कपडा उद्योग, भृकुटी कागज कारखाना, जनकपुर चुरोट कारखाना, हेटौंडा सिमेन्ट उद्योग आदि राष्ट्रिय उद्योगको पक्षमा पहिले पनि बोलेको थिएँ अहिले पनि बोल्छु । चश्मा फेरिंदैमा विचार फेरिन्न–नरेश दाइले जमेर तर्क गरे ।

हाम्रा पूर्वअर्थमन्त्री जर्मनमा अन्तर्राष्ट्रिय समाजवादी सम्मेलनमा भाग लिएर प्रजातान्त्रिक समाजवादको पक्षमा वकालत गरी त्यतैबाट अमेरिका प्रस्थान गरे । अमेरिका पुगेका उनीले नेपाली चश्माको पावर कम भयो भनेर वाशिङ्गटनमा चश्मा फेरेका थिए । नेपाल फर्केपछि चलिरहेका उद्योगहरुको बिचल्ली पारेका थिए । समाजवादको कुरा गर्नेले नै तपाईंले भनेका उद्योगहरु पूँजीवादी अर्थतन्त्र मौलाउने नाउँमा नीजी क्षेत्रलाई बेचेका हुन्न नि ! नरेश दाइलाई राम्रो याद हुनु पर्दछ । त्यसैले तपाईको चश्मा र दृष्टिकोणको परिवर्तन हुन सक्ने सम्भावित जोखिमको विश्लेषण गरेर मात्र आँखा र चश्मा कसलाई देखाउने निर्णय गरौं–एक समाजशाश्त्रीले आप्mनो मत जाहेर गरे ।

हो विदेशी धारामा बहकाउने र दृष्टिकोणमा दख्खल दिनेलाई नरेश दाइको आँखा र चश्मा देखाउन हुन्न–एक स्थानीय दलको नेताले फ्याट्टै भन्यो । नरेश दाइ आफ्नो आँखा र चश्माको विशारद छलफलमा हक्क न बक्क देखिन्थे । बोल्नेहरुको कमी थिएन । कसैले फेरी तुरुन्तै भन्यो –विपि आँखा अस्पताल महाराजगंजमा एकदमै सटिक परीक्षण हुन्छ । त्यहाँ मैले चिनेका डाक्टरहरु पनि छन् । दाइलाई लिएर मै जान्छु । सस्तोमा सस्तो राम्रोमा राम्रो परीक्षण हुन्छ । हुन्न दाइ ?

नरेश दाइ पनि बोल्न खोज्दै थिए, विपि अस्पतालको कुरा भुईंमा झर्न नपाउँदै एकाएक दुई तीनजना एकैचोटी ठूलोठूलो स्वरमा बोल्न थाले –हुन्न हुँदै हुन्न, यो सरासर षडयन्त्र हुनेछ । यदि त्यहाँ जचाउनु भयो भने उहाँले पनि हलो जोती रहेको किसानको फोटो कार्य कक्षमा झुण्ड्याएर फोर्ड फाउण्डेशनको ग्लोबलाइजेशनको नीति कार्यान्वयन गर्नु हुनेछ । त्यसैले उहाँलाई गलत ठाउँमा जाने सल्लाह नदिऊँ जसले दृष्टि भ्रम गराई दृष्टिकोणमा नै असर गरोस् ।

कसैले सुझायो – त्यसो भए मैत्री अस्पतालमा नरेश दाइको आँखाको जाँच हुनु पर्दछ । जसले भ्रातृत्वको दृष्टि गोचर गराउने छ । हुँदा खाने र हुनेखानेको वीचको खाडल साम्य पार्ने योजना बनाउने दृष्टिकोणको आर्थिक प्रणालीको बहाली गर्न सघाउने छ र समाजवाद उन्मुख नेपाल राष्ट्रका जनताको जीवनस्तर उकास्ने नीति फलिभूत भई साँच्चिकै नयाँ नेपालको निर्माणमा सहयोग पुग्नेछ ।

यी सवै कुरा सुनेर आप्mनो सटिक कुरा राख्न खोजिरहेका नरेश दाइ बोल्न नभ्याएर अक्क न बक्क भएर सुनिरहेका थिए । कुनै पूर्व उपसचिव र सहसचिव त्यहीं आइपुगे । उनीहरुले एकै स्वरमा अभिवादन गर्दै भने – नरेश दाइ, नमस्कार !

चर्को बहसको बीचमा आइपुगेका उनीहरुले कुरोको चूरो बुझेपछि अक्मकाएको स्वरमा भने –मैत्रीमा त झन् हुन्न !

– किन ? कसैले प्रश्न ग-यो ।

दुइटैले एकैचोटि थपे – त्यहाँ त कानको औषधी गर्न जाँदा सुल्टो उल्टो दुवै एकैचोटि सुनिने । गलाको औषधी गर्न जाँदा एउटै बोली बेलाबेलामा फेरिएर आवाज आउने अनि आँखाको औषधी गर्न जाँदा एउटा आँखाले मोटो देखिएको मान्छे अर्को आँखाले दुब्लो देखिने भयो रे ।

सुन्ने जति सवै गलल्ल हाँसे । त्यसो भए के गर्ने त ? धेरै मुखबाट एकैचोटी सामुहिक प्रश्न आयो ।

त्यसपछि चिया गफका पारखीहरुले नरेश दाइको चस्मा नाम चलेको कुनै अस्पतालमा जचाएर लगाउनुको साटो चावहिलको मुख्य चोक नजिकका भद्र दृष्टि विशेषज्ञ निरोधलाई अनुरोध गरेमा, उनले नरेश दाइको दृष्टिमा पहिले देखि नै कस जस्तै लागेर बसेका कचेडाहरुलाई फाली कञ्चन निरापद चस्मा बनाई दिनेछन्, जस्को दृष्टि गोचरमा कुनैपनि खाले विकार, विकृति, विसंगति र अपवादहरुले नरेश दाइलाई वशीभूत पार्न सक्ने छैनन् ।

यस कुरालाई उपस्थित सवैले हो मा हो थपे । एकैछिनमा निरोधलाई अँगालोमा कसेर कसैले त्यहीं जमघटमा ल्यायो । निरोधले सवैको कुरा र नरेश दाइको समस्या सुनेपछि भन्यो । चस्मा बनाउने कि दृष्टिकोण ? कोही बोलेन ।