प्राकृतिक भौतिकवाद आदिम युगको दार्शनिक प्रणाली हो : गोपीरमण उपाध्याय (अन्तर्वार्ता)

Old man human
आदिम युगका मानिसहरुमा आफू बाँचेको यस पृथ्वीको विस्तार कहाँसम्म होला ? यसको केन्द्र भाग कहाँ होला ? घरमा पालेको घोडा किन घरिघरि उत्तेजित हुन्छ ? हामीले बोलेको आवाज कहाँसम्म पुग्छ होला ? यसका साथै मानिसको जीवन पोषणका लागि निरन्तर प्रयोग हुने गरेको दूधका विषयमा पनि अत्यन्त जटिल खालको प्रश्न गरियो, जस्तो कि कालो गाईले हरियो घाँस खाएर सेतो दूध कसरी दिन्छ ? एउटा अन्नको दाना भूइँमा छरियो, कालान्तरमा त्यसले अनेकौ अन्नका दानाहरु कसरी प्रदान गर्दछ ? यसको साथै दिन र रात के कारणले हुन्छ आदि आदि।
लाेकपाटी न्यूज

काठमाडाैं। जति बेलादेखि समाजमा वर्गको उदय भयो, राज्यसत्ताको उदय भयो, मानिसको चिन्तन प्रणाली पनि वर्गीय उत्पादन पद्धतिअनुसार विभाजित हुन पुग्यो। यसले मानवीय चिन्तनका क्षेत्रमा नयाँ–नयाँ क्षेत्र बिस्तार हुँदै आए। तर, आदिम कालमा कुनै वर्ग थिएन र त्यो बेला एउटै दार्शनिक प्रणाली थियो। प्राकृतिक भौतिकवाद वर्गीय समाजको उदयपूर्वको दार्शनिक प्रणाली हो।

तर, यसबारे हामीकहाँ पर्याप्त मात्रामा बहस भएको देखिँदैन। यद्यपि, इतिहासविद र मार्क्सवादी चिन्तकहरुले यसबारेमा आफ्नो ठाउँबाट अध्ययन र अनुसन्धानको प्रक्रियालाई अगाडि बढाएका छन्। प्रस्तुत छ, प्राकृतिक भौतिकवादी दार्शनिक प्रणालीमा केन्द्रित रहेर दर्शन र इतिहासका ज्ञाता, मार्क्सवादी लेखक एवं चिन्तक गोपीरमण उपाध्यायसँग गरिएको कुराकानी।

१. प्राकृतिक भौतिकवाद कस्तो खालको दार्शनिक प्रणाली हो ?

उत्तर :– मानव जातिले परापूर्व कालदेखि नै आफ्नाे वरिपरिको परिवेशदेखि लिएर स्वयं आफ्नो अस्तित्वका विषयमा खोजीनीति गर्दै आयो। यसै क्रममा अनेकौं ज्ञान र विज्ञानका शाखाहरुको विस्तार हुँदै आयो। त्यसमध्येको एउटा महत्वपूर्ण ज्ञान शाखाका रुपमा दार्शनिक प्रणालीको विकास भएको हो र ती शाखाहरुमध्ये प्राकृतिक भौतिकवाद पनि एउटा महत्वपूर्ण दार्शनिक ज्ञानको प्रणाली हो।

२. यस प्रकारको दार्शनिक प्रणालीको आरम्भ र विकास कहिलेदेखि र कहाँबाट शुरु भयो ?

उत्तर :– संसारका जुनसुकै भू-क्षेत्रहरुमा निवास गर्ने मानव जातिको आम प्रवृत्ति एउटै हुन्छ। त्यो भनेको आफ्नो अस्तित्व रक्षाका लागि गरिने संघर्ष। यो संघर्ष सुरुमा प्रकृति र मानवका बीचमा रहेको हुन्थ्यो, पछि भएर प्रकृतिका साथसाथै मानव जातिमा उत्पन्न भएको वर्ग विषमताबाट जन्मियो, त्यसै कारण मानव चिन्तन प्रणालीका तीन वटा अवस्थाहरु हुन पुगे। पहिलो वर्ग पूर्व समाजको चिन्तन प्रणाली, दोस्रो वर्गयुक्त समाजको चिन्तन प्रणाली र तेस्रो वर्गविहीन अवस्थाको चिन्तन प्रणाली। प्राकृतिक भौतिकवाद यही वर्गपूर्व समाजको चिन्तन प्रणाली हो। यो संसारको जुनसुकै भू-क्षेत्रमा बसोबास गर्ने मानव जातिको आदिम चिन्तन प्रणाली हो। यसैलाई प्राकृतिक भौतिकवाद पनि भनिन्छ।

३. प्राकृतिक भौतिकवादको नाम कसरी रहन गयो ?

उत्तर :– प्राकृतिक भौतिकवादको शाब्दिक अर्थ भनेको प्रकृतिमा आधारित वस्तुगत विचार प्रणाली भन्ने हुन्छ। मुख्य रुपमा प्रकृतिलाई प्रधान मानेर विमर्श गरिने चिन्तन प्रणाली नै प्राकृतिक भौतिकवाद भनिन्छ। यसका अन्य नामहरु पनि छन्। जस्तोः आद्य भौतिकवाद, प्राचीन भौतिकवाद, आदिमकालीन चिन्तन प्रणाली आदि आदि। यस प्रकारको चिन्तन प्रणालीको नाम एङ्गेल्सका दार्शनिक रचनाहरुमा पाउन सकिन्छ। त्यसपछि भारतका दार्शनिक के दामोदरण र नेपालमा पनि विष्णु प्रभात, वेदुराम भुसालहरुले पनि आफ्ना प्रकृतिहरुमा प्राकृतिक भौतिक भनेका छन् र मेरो त प्राकृतिक भौतिकवाद भन्ने मुख्य कृति नै छ।

४. प्राकृतिक भौतिकवादको अध्ययन पद्धति कस्तो हुन्छ ?

उत्तर :– अन्य दार्शनिक पद्धतिहरुको जस्तै प्रकृतिको पनि अध्ययन पद्धति हुन्छ। यसअन्तर्गत पहिलो प्राकृतिक भौतिकवाद हो। दोस्रो कुन समय र कुन ठाउँमा उत्पत्ति भयो ? तेस्रो यस प्रकारको चिन्तन प्रणाली आधार के हो अर्थात् कुन कुन प्रकारको सामाजिक राजनीतिक स्थितिहरुमा यस प्रकारको चिन्तन प्रणालीको जन्म भयो ? चौंथोमा यस प्रकारको चिन्तन प्रणालीका सर्जकहरु को–को हुन् ? पाँचौंमा यस प्रकारको चिन्तन प्रणालीका आधिकारिक ग्रन्थहरु कुन कुन हुन् ? छैटौंमा यस प्रकारको दार्शनिक प्रणालीको मुख्य संरचना कस्तोसँग समानता र असमानता सापेक्षहरुको विवेचनाहरु अध्ययनको आवश्यकता छ।

५. प्राकृतिक भौतिकवादको संरचना कस्तो हुन्छ ?

उत्तर :– दर्शनका अन्य शाखाहरुको जस्तै प्राकृतिक भौतिकवादको संरचना पनि तीन वटा तत्वहरुका आधारमा प्रस्तुत गर्नुपर्दछ। पहिलो तत्व विवेचनाको पक्ष, दोस्रो ज्ञान तथा प्रमाण विवेचनाको पक्ष, तेस्रो आचार विवेचनाको पक्ष। यसमा तीन वटा अलग अलग प्रकृतिका मानिसहरुको सामूहिक चेतनाका कुराहरु छन्। वैदिक साहित्यमा १. मन्त्र द्रष्टा २. मन्त्र स्रष्टा ३. मन्त्र श्रोता, यिनीहरुले नै प्राकृतिक भौतिकवादको विकास र बिस्तार गरेका हुन्। यिनै तीन प्रकृतिका सर्जकहरुले सिङ्गो वैदिक वाङ्मयको रचना र विस्तार गरेका हुन् र त्यसैमा प्राकृतिक भौतिकवादका पनि तीन वटै पक्षका कुराहरु समावेश रहेका छन्।

६. प्राकृतिक भौतिकवादको संरचनाका विषयमा अलि बिस्तार गरिदिनु हुन्छ कि ?

उत्तर :– प्राकृतिक भौतिकवाद मुख्यतः समाजमा वर्ग विभाजन हुनुभन्दा पहिलेको दार्शनिक पद्धति हो। यसमा सोही काल अवधिमा विश्वको संरचना कसरी भयो ? मानव जीवनको सार्थकता केमा आधारित छ ? जस्ता प्रश्नहरुको उत्तर दिने क्रममा सिर्जना भएका तर्क प्रणाली, मानव जिज्ञासा र त्यसको समाधानमा प्रस्तुत गरिएका सामूहिक विचार प्रणालीहरुलाई नै प्राकृतिक भौतिकवादको तत्व मीमांसाको पक्ष भनेर मान्न सकिन्छ। सर्वप्रथम आदिम युगका मानिसहरुमा आफू बाँचेको यस पृथ्वीको विस्तार कहाँसम्म होला ? यसको केन्द्र भाग कहाँ होला ? घरमा पालेको घोडा किन घरिघरि उत्तेजित हुन्छ ? हामीले बोलेको आवाज कहाँसम्म पुग्छ होला ? यसका साथै मानिसको जीवन पोषणका लागि निरन्तर प्रयोग हुने गरेको दूधका विषयमा पनि अत्यन्त जटिल खालको प्रश्न गरियो, जस्तो कि कालो गाईले हरियो घाँस खाएर सेतो दूध कसरी दिन्छ ? एउटा अन्नको दाना भूइँमा छरियो, कालान्तरमा त्यसले अनेकौ अन्नका दानाहरु कसरी प्रदान गर्दछ ? यसको साथै दिन र रात के कारणले हुन्छ आदि आदि।

Gopiraman Upadhyay

मानवको जीवन र त्यसको परिवेशी स्थितिका बारेमा उठेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिने प्रसङ्गमा वाङ्मयमा प्रस्तुत भएका कुराहरु छन्। यसमा दर्शनको विकासक्रममा अध्ययन गर्ने प्रसङ्गमा उपलब्ध भएका तथा फरक विषयवस्तुहरु छन्, जुन ऋग्वेदका विभिन्न मण्डलहरुमा छरिएका सूक्तहरुको तार्किक संगतिपूर्ण किसिमले समाज विकासकोे अध्ययन गर्दा प्राप्त भएका कुरा हुन्।

विश्वको संरचना कसरी भयो ? त्यसमा मानव जीवनको अस्तित्व कसरी छ भन्ने विषयमा प्रश्नकर्ताहरुले गरेको प्रश्नको चित्तबुझ्दो जवाफ दिने प्रसङ्गमा उठेका कुराहरु नै प्राकृतिक भौतिकवादको तत्व विवेचनाको पक्ष भन्न सकिन्छ। यी कुराहरुलाई ऋग्वेदको प्रथम मण्डलको १६४ सूक्तको ३४ र ३५ औँ पद्य त्यस्तै गरी १०, १९०, १–३ ऋग्वेदकै दशौं मण्डलको ९० औं सूक्तको १, २, ३, ४, ५, ६, ७, ८, ९, १० र नासादीय सूक्तहरुको समेतको यसको समाज विज्ञानसँग कस्तो सम्बन्ध रहेको छ भन्ने कुराका आधारमा अध्ययन गर्दा प्रष्ट हुन्छ। यसैलाई प्राकृतिक भौतिकवादको तत्व विवेचनाको पक्षमा बुझ्न सकिन्छ। यस्तै गरी प्राकृतिक भौतिकवादको दोस्रो तत्व ज्ञान र प्रमाणका विषयमा पनि यही किसिमले अध्ययन गर्न सकिन्छ भने यसको आचार विवेचनाको पक्ष पनि त्यति नै महत्वपूर्ण एवं उल्लेखनीय रहेका छन्।

७. प्राकृतिक भौतिकवादको दोस्रो पक्ष ज्ञान तथा प्रमाणका विषयमा पनि अलि प्रष्ट पारी दिनुहोस् न ?

उत्तर :– ठीक प्रश्न गर्नुभयो। मानव जातिलाई एकाएक सबै प्रकारका ज्ञान र विज्ञानका कुराहरु प्राप्त भएका होइनन्। त्यसमा त आफ्नो जीवन पोषणका क्रममा मानव जातिले गरेका संघर्षका अनुभवहरुको संगालोका रुपमा नै दार्शनिक चिन्तन लिएर समस्त ज्ञान विज्ञानको सिर्जना भएको हो। मानव जातिले गरेको यो सिर्जना अहिले पनि त्यत्तिकै मात्रामा जारी नै छ। प्रकृतिको अध्ययन गर्ने प्रसङ्गमा कैयौं कुराहरु पत्ता लाग्दै गएका छन् र अझै कति हो कति विषयवस्तुहरु उद्घाटित हुन बाँकी नै छन्। यसरी अत्यन्त व्यापक दृष्टिकोण राखेर दार्शनिक चिन्तनहरु र ज्ञान र विज्ञानको विकासक्रमलाई बुझ्नु आवश्यक छ। दार्शनिक ज्ञानको उत्पत्तिमा पनि यो नियम लागू हुन्छ। यसको मुख्यतः ५ वटा चरणहरु छन्।

पहिलो चरण चिन्तनविहीन अवस्थाबाट चिन्तन गर्नसक्ने अवस्था। दोस्रो चरण भनेको प्राकृतिक विषयवस्तुहरु सूर्य, चन्द्रमा, पृथ्वी, वर्षा, वादल, आगो, पानी जस्ता प्राकृतिक वस्तुहरुलाई सर्वोपरि मान्ने चरण, जस्तो गणनायकहरु इन्द्र, प्रजापति, वरुण, वष्टा, गणपति आदिलाई, देवत्व आरोपित गर्ने चरण। चौंथो चरण भनेको समाज अलि विकसित हँुदै गएपछि मानिसले उत्पादनका लागि प्रयोग गर्ने औजारहरु, जस्तै भूमिपूजनदेखि लिएर हलो कुटो कोदालो गोरु, हतियारहरुमा तरबार, चक्कु, छुरी आदि उत्पादनका साधनहरुलाई देवता मानेर पूजा गर्ने प्रणाली रह्यो भने पाँचौ चरण मानिसले सबै कुरालाई रहस्यका रुपमा मान्ने प्रणालीको विकास भयो। त्यसपछि अनेकौं विषयवस्तुलाई विम्बका रुपमा प्रस्तुत गर्ने दार्शनिक र साहित्यिक विकास भएको हो।

८. अब यही प्राकृतिक भौतिकवादको आचार मीमांसाका पक्षमा पनि केही कुरा प्रकाश पारी दिनुहुन्छ कि ?

उत्तर :– यो कुरा नबताएका खण्डमा त मैले भनेका कुराहरु अधुरा नै हुन्छन् नि, जुन महत्वका साथ दर्शनको पहिलो पक्ष तत्व विवेचना, दोस्रो पक्ष ज्ञानको विवेचना भएझैं तेस्रो पक्ष आचार विवेचनाको पक्ष हुन्छ। यी तीन वटा पक्षहरुको अभावमा कुनै पनि दर्शन वा दार्शनिक प्रणालीको विवेचना गर्नुभन्दा यिनै तीन वटा पक्षहरुमा ध्यान दिनु आवश्यक हुन्छ। भर्खरै मैले तपाईलाई प्राकृतिक भौतिकवादको तत्व विवेचना र ज्ञान एवं प्रमाण विवेचनाको पक्षका बारेमा बताएँ।

त्यस्तै गरी यसको आचार विवेचनाका पक्षमा भन्नुपर्दा यसका पनि मुख्यतः ५ वटा पक्षहरु छन्। पहिलो आदिमगण समुदायको ऐक्यवद्वता र निजी परिवार स्थापनाको विरोध तेस्रो ”ऋत” नै सर्वोपरि विषय हो र यसलाई सबैले उच्च सतर्कताका साथ पालना गर्नुपर्छ भन्ने विचार चौंथो गणसंघको विघटन भयो भने सम्पूर्ण मानव जातिको अवस्था कस्तो होला ? भन्ने विषयको चिन्ता र पाँचौंमा विदथको परिपालना।

यिनै पाँच वटा विषयहरुलाई आधार बनाएर आदिम साम्यवादी युग, जसलाई हामीले वैदिक साम्यवाद पनि भन्न सक्छौं, त्यसको आचारण विधि सुनिश्चित गरिएको छ। जब ‘‘यज्ञानि” सामूहिक जीवन पद्धति छिन्नभिन्न भएर ‘‘गृहयाग्नि”मा अर्थात् व्यक्तिगत सम्पत्तिको जन्म भयो। त्यसपछि समाजमा वर्गको उत्पत्ति भयो, त्यसपछि मात्र वर्गसंघर्षको पनि जन्म भयो।

९. देवी भागवतहरु जस्ता पौराणिक साहित्यहरुलाई कसरी बुझ्ने ?

उत्तर :– ठीक प्रश्न गर्नुभयो। चाहे वैदिक साहित्य होस्, चाहे पौराणिक साहित्य होस्, ती सबैलाई एकमुष्ठ रुपमा भन्नुपर्दा ‘‘प्राच्यविद्या विज्ञान” भनिन्छ। कुनै पनि साहित्य, दर्शन या वाङ्मय नै भनौं, ती सबै कुराहरुलाई समाजसँग निरपेक्ष बनाएर बुझ्न वा हेर्न सकिँदैन। ती सबै कुनै न कुनै समाजसँग आवद्ध रहेका हुन्छन्। त्यसैकारण हामी मार्क्सवादीहरुले ती सबैलाई समाज विकासका क्रम या समाज विज्ञानसँग गाँसेर हेर्नु र बुझ्नुपर्ने हुन्छ। समाज विकास क्रमअनुसार आदिम साम्यवादी युग, दास युग, सामन्तवादी युग, पूँजीवादी युग र साम्यवादी युगहरु भएजस्तै वैदिक एवं पौराणिक साहित्यहरुलाई पनि यी नै युगअनुसार विभाजन गर्न सकिन्छ।

वैदिक वाङ्मयका पनि दुईवटा अवस्था छन्। एउटा अवस्था भनेको समाजमा वर्ग विभाजन सक्दाको वैदिक साहित्य र अर्को समाजमा वर्ग विभाजन भइसकेको अवस्था हो वैदिक साहित्य। यसरी आदिम साम्यवादी युगको साहित्य भनेर वैदिक साहित्यलाई बुझ्न सकिन्छ। त्यसैगरी आदिम साम्यवादी युगपछि दास युग आउँछ। त्यसको सम्पूर्ण साहित्य भनेको पौराणिक साहित्य हो। यसमा सबै पुराणहरु रामायण र महाभारत जस्ता सबै पौराणिक वाङ्मयहरु पर्दछन्। यी सबै दास युगको आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिकदेखि लिएर सम्पूर्ण सामाजिक क्रियाकलापहरु, उत्पादन पद्धति राज्यव्यवस्था संघर्षहरुको गाथाकथाहरु नै हुन्।

कतिपय पुराणहरु एउटा पुराणले मानिसकेको कुरा अर्को पुराणले पनि त्यही नै दोहोर्‍याएको हुन्छ। यसरी समाज विकासका हिसाबले पौराणिक वाङ्मयलाई हेर्ने हो भने यो सबैले दास युग र केही मात्रामा प्रारम्भिक रुपमा सामन्तवादी युगको प्रतिनिधित्व गर्दछ। यस्तै गरी सामन्तवादी युगको साहित्य भनेको काव्य ग्रन्थहरु सूक्त साहित्यहरु, अलि परिष्कृत रुपमा लेखिएका साहित्यिक र दार्शनिक सिद्धान्तहरु पर्दछन्। पूँजीवादी र समाजवादी साहित्यिक कुराहरुका विषयमा त अहिले हामीले जे–जे ब्यहोरिरहेका छौं। यसरी हामीसँग कुन साहित्यलाई समाज विकासको कुन चरणसँग बुझ्ने भन्ने कुराले नै सबै कुरा निर्धारित गर्दछ।

१०. जाँदाजाँदै अन्त्यमा अरु केही पनि भन्नु छ कि ?

उत्तर :– सर्वप्रथम त तपाईहरुले यो अनलाइन मार्क्सवादी कक्षा सञ्चालन गर्नुुभएकोमा तपाईहरुलाई धन्यवाद दिन चाहन्छु। अत्यन्त महत्वका साथ प्राकृतिक भौतिकवादका विषयमा मलाई जुन बोल्ने अवसर दिनुभयो, त्यसका लागि धन्यवाद। पहिलो कुरा त दर्शनको कक्ष सञ्चालन गरिरहँदा प्राकृतिक भौतिकवाद भन्ने विषय निर्धारित गरेर आयोजना गरेको कुरा पनि पहिलो नै हो कि ? जस्तो लागेको छ। यसभन्दा पहिले मार्क्सवादी दर्शनका क्लासहरुमा यस विषयको चर्चा भएको मलाई त्यस्तो कुनै अनुभव छैन। जसरी समाजको विकास क्रम हुन्छ, सोही अनुसार दर्शन र दार्शनिक चिन्तनको पनि विकासक्रम त अवश्य पनि हुन्छ। यसै कुरालाई आधार मान्ने हो भने प्राकृतिक भौतिकवाद भनेको आदिम साम्यवादी युगको दर्शन हो।

संसारका विभिन्न क्षत्रहरु मानव जातिले आदिमकालीन समाज बेहोर्दै अगाडि बढेको हो। सोहीअनुसार उसले आफ्नो परिवेशी विश्वको पनि व्याख्या गर्दै आयो। त्यसैमा प्राकृतिक भौतिकवादका सबै पक्षहरु समाहित रहेका छन्। यो कुरा पूर्वीय दर्शनमा पनि छ, पश्चिमेली दर्शनमा पनि छ। कतिपय जनजातिका प्राचीन चिन्तनहरुमा पनि प्राकृतिक भौतिकवादका कुराहरु पाइन्छन्। तिनीहरु लिखित नभए पनि श्रुतिहरु र किंवदन्तिहरुमा अहिले पनि पाइन्छन्। त्यसै कारण प्राकृतिक भौतिकवाद भनेको दर्शनको आदिम चिन्तन प्रणाली रहेछ भनेर बुझिदिनु पर्छ। हवस्, त तपाईहरु सबैलाई धन्यवाद।

(२०७७ श्रावण ४, काठमाडौं।)