ब्याजदर घटाउने निर्णयको चेम्वरद्वारा स्वागत

Nepal rastra bank
लाेकपाटी न्यूज

काठमाडौं । नेपाल राष्ट्र बैंकको पहलमा बैंकर्स संघको बैठकबाट साधारण बचतमा बढीमा ६.५० प्रतिशत, व्यक्तिगत निक्षेपमा बढीमा ९.७५ प्रतिशत र संस्थागत निक्षेपमा ९.५० प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमतिको नेपाल चेम्वर अफ कमर्सले स्वागत गरेको छ ।

चेम्वरले शुक्रबार एक विज्ञप्ति जारी गर्दै ब्याजदर घटाउने सरकारी निर्णयको स्वागत गरेको हो । विज्ञप्तिमा यसअघि बैंकहरुले अनियन्त्रित एवं एकतर्फी तवरबाट उद्योगी तथा व्यवसायीहरुले लिएको कर्जामा लगाएको उच्च ब्याजदर अविलम्व घटाउन बैंकहरुलाई निर्देशनका लागि नेपाल राष्ट्र बैकसँग अनुरोध गरिएको छ ।

अहिले तोकिएको ब्याजदरले आर्थिक गतिबिधिलाई बढी क्रियाशील बनाई लगानी प्रवद्र्धनमा सकात्मक असर पार्ने चेम्वरको विश्वास रहेको छ । यसपटकको समझदारी कार्यान्वयनका लागि ठोस पहल हुनुपर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

एकल अंकको ब्याजदरले लगानी योग्य पूँजी माग बढ्ने भएकाले यसलाई पनि सम्वोधन गर्न नेपाल राष्ट्र बैंकले विशेष पहल गर्नुपर्ने बताउँदै चेम्वरले पूँजीगत खर्च बनाउने कार्ययोजना ल्याउन सरकारसँग आग्रह गरेको छ ।