बजेट खत्तम आउँदा सरकार आलोचित भयो : हृदेश त्रिपाठी

Hridesh Tripathi-1
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुष । स्वतन्त्र राजनीतिक समूहका नेता एवं सांसद हृदेश त्रिपाठीले अर्थमन्त्री डा. युवराज खतिवडाले बजेट प्रस्तुत गरेसँगै सरकारप्रति नकारात्मकता बढ्न थालेको टिप्पणी गरेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै सांसद त्रिपाठीले अर्थमन्त्रीको गतिविधिले गर्दा वर्तमान सरकारले सोचेअनुरुप काम गर्न नसकेको टिप्पणी गरेका हुन् । उनले भने, ‘यो सरकारलाई बढि प्रभावित चाहीँ बजेट प्रस्तुतिले पनि गरेको हो । र, अर्थमन्त्रीको गतिविधिले पनि सरकारलाई प्रभावित गरेको छ ।’

अधिकांश सरकारको सफलता र विफलता ५० प्रतिशतभन्दा बढि त अर्थ मन्त्रालयको गतिविधिमा निर्भर गर्ने उनको भनाइ छ । उनले थपे, ‘बजेट जुन दिन प्रस्तुत हुन्छ, त्यही बेलादेखि चर्चा सुरु हुन्छ । तर, ठाउँमा पुग्न चार–पाँच महिना लाग्छ ।’

नेपालको अर्थतन्त्रको सबैभन्दा कुरुप कुरा नै विकास खर्च पूरा गर्न नसक्नु रहेको उनको भनाइ छ । त्रिपाठीले थपे, ‘२०३४ सालदेखि अहिलेसम्म हामीले विकास खर्च कहिल्यै पनि पूरा गर्न सकेनौं । जबसम्म विकास खर्च पूरा हुँदैन, तबसम्म आर्थिक रुपमा बजारलाई चलायमान र जनतालाई पनि विकासप्रति आकर्षित गर्ने काम गर्न सक्दैन ।’

संसदमा वर्तमान सरकारको संख्यात्मक उपस्थिति बलियो हुँदाहुँदै पनि विकास खर्च गर्न नसकेको उनले आरोप लगाए । उनले भने, ‘सरकारले बरु विकास खर्च गर्न किन सकिएन भनेर समीक्षा गर्नुपर्ने हो, कानूनमा त्रुटि छ भने कानून संशोधन गर्नुपर्यो । यदि संरचनाको अभाव छ भने पनि संरचना निर्माण गर्नुपर्यो । तर, सरकार त्यतातर्फ गएको देखिँदैन । अहिलेसम्म विकास खर्च ५/६ प्रतिशतमै अलमलिएर बसेको छ। यदि यही प्रक्रिया कायम रह्यो भने सर्वाधिक कम विकास खर्च हुने आर्थिक वर्ष यही वर्ष सावित हुनेछ।’

नेता त्रिपाठीले सरकारको गतिविधिबारे स्वयं सत्तारुढ दल नेकपाका नेताहरु पनि सन्तुष्ट नरहेको स्थायी समितिको बैठकबाट प्रष्ट भइसकेको बताए । सरकारसँग समय र संख्याको अनुकूलता रहेकाले आगामी दिनमा यसले आफ्नो प्रस्तुतिलाई सच्याएर सही दिशामा अघि बढ्नेमा आफू विश्वस्त रहेको उनले जनाए ।