नेकपासँग एकता गर्छौं : हृदयेश त्रिपाठी

Hridesh Tripathi-1
लाेकपाटी न्यूज

काठमाडौं, ७ पुस । पूर्वमन्त्री एवं स्वतन्त्र राजनीतिक समूहका नेता हृदयेश त्रिपाठीले आफू नेकपासँग एकताको प्रक्रियामा रहेको बताए । नेकपासँगको वार्ता पनि सकारात्मक रहेकाले यसलाई तार्किक निष्कर्षमा पुर्याउनेतर्फ आफूहरु गम्भिर रहेको उनले स्पष्ट पारे ।

त्रिपाठीले भने, ‘हामीले यो समूहलाई कसरी अघि बढाउने भन्नेबारे छलफल गर्यौं, एउटा त हामीबीच यही समूहलाई नै विस्तार गरौं, अघि बढाउने र सक्रिय बनाउनेबारे पनि छलफल भयो । अर्को, नेकपासँगको एकता वार्तालाई सार्थकता दिनेबारे पनि छलफल गर्यौं । र, तेस्रो यही समूहलाई पार्टीको रुपमा अघि बढाउनेबारे पनि कुरा भएको थियो ।’ त्रिपाठीले अहिले पार्टी गठनको खाँचो नै नरहेको जिकिर गरे ।

संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालसँग तराई/मधेशका जनता निराश भएको पनि उनले टिप्पणी गरे । उनले भने, ‘फोरम अहिले सरकारमा छ । तर, उसको प्रस्तुतिले गर्दा जनता निराश छन् । उता, राजपा पनि आन्तरिक विवादमा फसेको छ । दुवै पार्टीले मधेशका जनतालाई निराशा बनाए ।’

सांसद त्रिपाठीले किसानले उत्पादन गरेका कृषिउपजको मुल्य निर्धारण गर्नको लागि तत्काल आयोग गठन गर्नुपर्ने माग गरे । उनले भने, ‘किसानले आफ्ना उत्पादनको मुल्य निर्धारण गर्न पाउँदैनन् । यसले गर्दा अहिले किसानको दुरावस्था छ । अब तत्काल मूल्य निर्धारणबारे विज्ञ सम्मिलित आयोग गठन गर्नुपर्छ ।’

उनले विगत २०३४ सालदेखि यताको तथ्याङ्क हेर्दा कृषि मन्त्रालयको कुल बजेटको १८ प्रतिशत मात्रै किसानका लागि खर्च हुने गरेको र बाँकी ८२ प्रतिशत बजेट किसानको नाममा तामझाममा सिध्याउने गरेको आरोप लगाए । सरकार र कुनै पनि दलहरुको प्राथमिकतामा किसान वर्ग पर्न नसकेको उनले गुनासो पोखे । उनले भने, ‘सरकारले कृषिमा जोड गरेको छ । तर, किसानको हितको लागि होइन । यो त नाराका लागि गरेकोजस्तो मात्रै भयो ।’

किसान असंगठित भएकाले दलहरुले प्राथमिकता नदिएको उनको टिप्पणी छ । उनले भने, ‘सबैभन्दा ठूलो संख्यामा रहेको किसान वर्ग, जो ६४ प्रतिशत छन्, कांग्रेस र नेकपा दुवैको प्राथमिकतामा किसान परेनन् । यो दुःखदायी कुरा हो।’ कृषिमा विचौलियाका कारण किसान र उपभोक्ता दुवै वर्ग मारमा परेको पनि उनले बताए । किसानहरुले आफ्नो उत्पादनको मूल्य तोक्न पाउनुपर्ने गरी आफूले संसदमा संकल्प प्रस्तावसमेत दर्ता गराइसकेको उनले जानकारी दिए ।

नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन सकिने उनको दाबी छ । उनले भने, ‘चिनी, दुध, चियापत्ति, दाल, चामल, तोरीको तेल, फलफलु, अदुवालगायत अन्य कृषिउपजमा नेपाललाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ गत वर्ष नेपालमा ९४ करोडको ‘टम्याटो–सस’ आयात गरिएको तथ्यांक पेश गर्दै त्रिपाठीले नेपालमा भने किसानले टमाटरको उचित मूल्य नपाएर सडकमै फाल्नु परेको दुरावास्था सुनाए ।

किसानको अवस्थामा सुधार नआएसम्म मुलुकको समृद्धि हुनै नसक्ने उनको ठोकुवा छ । उनले भने, ‘नेपाललाई समृद्ध बनाउनका लागि पनि किसानको अवस्थामा सुधार ल्याउनुपर्छ । यसको लागि सरकारले अब ठोस कदम चाल्नुपर्छ ।’