सीमावर्ती महेशपुरमा अनुगमन

anugaman
  • 120
    Shares
लाेकपाटी न्यूज

रमेश भुसाल/नवलपरासी । संयुक्त बजार अनुगमन समिति पश्चिम नवलपरासीले भारत सीमावर्ती महेशपुर बजार क्षेत्रमा अनुगमन गरेको छ । महेशपुर क्षेत्रमा खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री बितरण नगर्न निर्देशन पनि दिएको छ ।

समितिले महेशपुर बजारमा बजार अनुगमन गर्ने क्रममा अधिकांश पसलहरुले बोत्तलमा राखेर खुल्ला रुपमा पेट्रोलियम पदार्थ बिक्री वितरण गरिरहेको पाइएपछि त्यस्ता पदार्थको बिक्री बितरण तत्काल रोक्न लगाएको हो ।anugaman-1

दर्ता विना बोत्तलमा खुल्ला रुपमा पेट्रोल बिक्री बितरण गर्नु अवैधानिक हो भने त्यसरी बिक्री गरिने पेट्रोलियम पदार्थ तौलमा कमी हुने तथा सवारी साधन पनि बिग्रिने भएकाले बिक्री बितरणमा रोक लगाएको समितिले जनाएको छ ।

यसैगरी महेशपुर बजारमा दर्ता विना सञ्चालन गरिएका पसलहरुलाई एक हप्ताभित्र दर्ता गर्न पनि निर्देशन गरिएको छ । एक हप्ताभित्र दर्ता नगरे पसल बन्द गराइने अनुगमन समितिले जनाएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख नन्दलाल पौडेलको नेतृत्वमा गएको अनुगमन समितिले महेशपुर बजारका १७ वटा पसलहरुमा अनुगमन गरेको थियो । सो क्रममा अधिकांश पसलहरुमा मूल्यसूचि थिएन भने म्याद गुज्रेका तथा लेभल नै नभएका खुल्ला मसला खुलेआम बिक्री बितरण गरिएको पाइएको छ ।

यसैगरि साइन बोर्डमा मोबाइल पसल भनेर किराना तथा पेय पदार्थ बिक्री बितरण गर्दै आएको पनि भेटिएको छ । अनुगमन समितिले म्याद गुज्रेका ३४ लिटर पेय पदार्थ र २८ प्याकेट बदाम बरामद गरी नष्ट गरेको छ । अनुगमन समितिले मोबाइल पसल एक, मदिरा तथा कोल्ड ड्रिङक्स सातवटा, किराना ४, फर्निचर एक, होटल तथा रेष्टुरेण्ट एक वटा तथा विना दर्ता सञ्चालित ३ वटा पसलमा अनुगमन गरेको थियो ।

घरेलु कार्यालयका प्रमुख पौडेलको नेतृत्वमा रहेको अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत महेश सुवेदी, उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष रामजी ज्ञवाली, पाल्हीनन्दन गाउँपालिकाका प्रेम भण्डारी, प्रहरी, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।